नबिल एसएसईले व्यवसाय विस्तारमा सहयोग, ४५ उद्यममा १२ सयजनाले पाए रोजगारी

बिजमाण्डू
२०८१ माघ २५ गते १९:४९ | Feb 7, 2025
नबिल एसएसईले व्यवसाय विस्तारमा सहयोग, ४५ उद्यममा १२ सयजनाले पाए रोजगारी


काठमाडौं। नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप अन्तर्गत सञ्चालित फेलोसिप कार्यक्रमका दोस्रो र तेस्रो ब्याचका सहभागीलाई प्रमाणपत्रसहित बिदाइ गरेको छ।

Tata
GBIME
NLIC

बैंकले त्रिभुवन विश्वविद्यालयमा एक कार्यक्रम गरी दुई ब्याचका सहभागीको बिदाइ गरेको हो। फेलोसिप कार्यक्रमका सहभागीले नवीन उद्यममार्फत प्राप्त गरेको उपलब्धिबारे चर्चा गरे।

नबिल एसएसईले उद्यमशीलता विकास गर्न आवश्यक व्यावहारिक तालिम, मार्गदर्शन, सञ्जाल विस्तार र वित्तीय पहुँच स्थापनामा ठूलो सहयोग गरेको अनुभव उनीहरुले सुनाए। उनीहरुले कार्यक्रममा सहभागिताले व्यवसाय बिस्तारमा सहयोग पुगेको बताए। 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत त्रिविको व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा तीन वर्षदेखि नबिल एसएसई कार्यक्रम सञ्चालन गर्दै आएको छ। कार्यक्रम अन्तर्गत फेलोसिप र सर्टिफिकेट कोर्स सञ्चालनमा छन्।

बैंकले चौंथो ब्याचका सहभागीलाई स्वागत गरेको छ।

त्रिविका उपकुलपति प्रा डा केशरजंग बरालले उद्यमी र शैक्षिक संस्थाबीचको सहकार्य सामाजिक उद्यमशीलता प्रवर्धनका लागि महत्वपूर्ण भएको बताए। ‘यो कार्यक्रमले युवाहरुमा जागिर खाने होइन, जागिर दिने मानसिकता विकास गर्ने मेरो विश्वास छ,’ उनले भने।

व्यवस्थापन संकायका डिन प्रा डा महानन्द चालिसेले नबिल एसएसई कार्यक्रम समाजमा परिवर्तन ल्याउन महत्वपूर्ण पहल भएकाले यसलाई विस्तार गर्नुपर्ने बताए। नबिल एसएसईजस्ता कार्यक्रमले नवउद्यमीलाई व्यावसायिक विकासका लागि मार्गदर्शन गर्ने उनको भनाइ छ।

बैंकका निर्देशक निर्वाण चौधरीले फेलोसिप कार्यक्रमले युवाहरुलाई रोजगारदाताका रूपमा अघि बढ्न प्रेरित गरेको उल्लेख गरे।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले फेलोसिप कार्यक्रमअन्तर्गत यसअघि तीन समूहका सहभागीले ४५ वटा उद्यम स्थापना गरी हालसम्म एक हजार २०० जनालाई रोजगारी उपलब्ध गराइरहेको जानकारी दिए।

बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले भारतको अनुसरण गरेर सुरु गरिएको कार्यक्रमले सफलता प्राप्त गरेको बताए । 

कार्यक्रममा फेलोहरुले आफूले उत्पादन गरेका विभिन्न सामानहरुको प्रदर्शनी तथा बिक्रीका लागि २० भन्दा बढी स्टल राखेका थिए।