काठमाडौं । बोनस सेयर अपेक्षाभन्दा कम दिएपछि आइतवार नेपाल स्टकमा एभरेष्ट बैंकका सेयरधनीवीच हल्लिखल्ली भयो, धेरै लगानीकर्ताहरुले मौद्रिक नीतीको व्यवस्था भन्दै एभरेष्टको प्रस्तावित लाभांस केन्द्रिय बैंकबाट स्वीकृत हुन नसक्ने तर्क समेत पेश गरे । तर बिजमाण्डूले नयाँ दिल्लीमा भएको बोर्ड बैठकमा प्रस्तावित एभरेष्टको लाभांस केन्द्रिय बैंकबाट कसरी स्वीकृत हुन्छ त्यसको विवरण प्राप्त गरेको छ ।
एभरेष्ट बैंकको चुक्ता पुँजी अहिले एक अर्ब ६० करोड रुपैयाँ छ, बैंकले जारी गरेको कन्भर्टिवल प्रिफरेन्स सेयर १६ करोड रुपैयाँ गरी पुँजी एक अर्ब ७६ करोड रुपैयाँ छ । बैंकले एक अर्ब ६० करोड रुपैयाँको दश प्रतिशत बोनस सेयर दिएपछि पुँजी १६ करोड रुपैयाँ बढ्छ ।
बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी एक अर्ब ७६ करोड रुपैयाँ पुग्नेछ । १६ करोडको प्रिफरेन्स सेयरमध्ये हरेक तीन वर्षमा २५ प्रतिशतका दरले चुक्ता पुँजीमा परिवर्तन हुन्छ, यो वर्ष चार करोड रुपैयाँको प्रिफरेन्स सेयर चुक्ता पुँजीमा परिवर्तन भएपछि बैंकको चुक्ता पुँजी एक अर्ब ८० करोड रुपैयाँ हुनेछ ।
बैंकसँग परिवर्तन हुन बाँकी रहने १२ करोड रुपैयाँ कन्भर्टिवल प्रिफरेन्स सेयर समेत जोड्दा पुँजी एक अर्ब ९२ करोड रुपैयाँ पुग्छ । केन्द्रिय बैंकले हालै सर्कुलर मार्फत आर्थिक वर्ष २०७०/७१ को मुनाफाबाट बोनस सेयर बाँडेर चुक्ता पुँजी दुई अर्ब रुपैयाँ पुर्याउने विश्वस्त क्यापिटल प्लान पेश गर्न सक्ने व्यवस्था गरेको छ ।
एभरेष्ट बैंकले पनि चालु आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर जारी गरेपछि चुक्ता पुँजी दुई अर्ब रुपैयाँ पुग्ने क्यापिटल प्लान केन्द्रिय बैंकमा प्रस्ताव गर्ने बैंकको विश्वस्त स्रोतले जानकारी दियो । हामीले लगानीकर्तालाई निरन्तर स्थिर वृद्धिसहितको प्रतिफल दिनका लागि यो निर्णय गरेका हौं, बैंक स्रोतले जानकारी दियो ।
चालु आर्थिक वर्षमा हुने मुनाफाबाट आगामी आर्थिक वर्षमा १२÷१४ प्रतिशत लाभांस दिएपछि केन्द्रिय बैंकले खोजेको न्युनत्तम चुक्ता पुँजीको शर्त पूरा हुनेछ । यसले बैंकको वृद्धि, लगानीकर्तालाई वृद्धिसहितको प्रतिफल दिन सकिन्छ । बैंकको पुँजी आधार ठूला नबनाएपछि अर्को वर्ष पनि प्रतिसेयर आम्दानी बढ्ने पक्का छ, अहिलेको पुँजीमा औषत मुनाफा बढेमा बैंकका सेयरधनीलाई अर्को वर्ष राम्रो प्रतिफल पनि प्राप्त हुनेछ । एभरेष्टले गतवर्ष सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर दिएको थियो, यो वर्ष सेयरधनीलाई ५० प्रतिशत नगद लाभांस पनि दिने घोषणा गरेको छ ।
बैंकका अध्यक्ष बिके श्रेष्ठको स्वस्थ्यसम्वन्धि समस्याका कारण एभरेष्टको बोर्ड बैठक नयाँदिल्लीमा गरिएको हो । बैंकको केही महत्वपूर्ण निर्णयमध्ये यो निर्णय पनि एउटा हुन्छ, त्यसमा बैंक अध्यक्षलाई सामेल नगराई निर्णय गर्न पनि भएन्, यही कारण बैंकको बोर्ड बैठक नयाँदिल्लीमा गरिएको हो, बैंक स्रोतले भन्यो ।











