
काठमाडौं। सहिद दिवसको बिदाका दिनमा सत्तारुढ नेपाली कांग्रेसको मुख्यालयमा बिहानैदेखि नेता कार्यकर्ता उपस्थित भए। पार्टीका अक्सर बैठक बुढानीलकण्ठस्थित निवासमा राख्दै आएका सभापति शेरबहादुर देउवा १० नबज्दै सानेपा पुगे।
उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत नेता त्यसअघि नै हाजिर भइसकेका थिए।
कांग्रेस कार्यालयमा नेता कार्यकर्ता मात्र थिएनन्। सानादेखि ठूला उद्योगी व्यवसायी पनि उतिकै थिए। यो जमघटको मुख्य कारण हो, कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले राखेको स्टार्टअप तथा एसएमई सम्मेलन।

दुई दिने सम्मेलनमा कांग्रेसले कार्यालय परिसरमा स्वदेशमा उत्पादित वस्तुका ८० वटा स्टल राख्नुका साथै उद्यमशीलता विकासलाई लिएर विभिन्न सत्रमा छलफल चलायो।

ती छलफलमा कर्पोरेटदेखि साना तथा मझौला उद्यमी र बैंकरसम्म सहभागी भए। उद्यमी, व्यवसायी, बैंकर लगायतलाई प्यानलमा राखेर कांग्रेसका नेताहरुले उनीहरुका कुरा सुने।
अध्यादेशले उत्साही
सबैजसो उद्यमी व्यवसायीले अध्यादेशमार्फत कानुनमा गरिएको सुधारको उच्च प्रशंसा गरे। उनीहरुले अध्यादेशमार्फत कानुनमा गरिएको सुधारलाई क्रान्तिकारी परिवर्तन भन्दै यसले व्यावसायिक जगतमा आशाको ठूलो संचार गराएको सुनाए।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले लगानीका लागि नेपालमा जति सम्भावना कुनैपनि मुलुकमा नरहेको भन्दै अध्यादेशमा गरिएको सुधारले व्यावसायिक जगतको मनोबल बढेको बताए।
‘अध्यादेशमार्फत कानुनमा गरिएको सुधारका लागि सरकारको जति प्रशंसा गरे पनि अपुग हुन्छ। हामीले सोचेको भन्दै पनि क्रान्तिकारी परिवर्तन भएको छ,’ ढकालले भने, ‘अब जतिसक्दो चाँडो नियमावली र कार्यविधि संशोधन गरेर कार्यान्वयन गरियोस्। त्यसले व्यावसायिक वातावरण सुधार हुनेछ।’

सरकारले पुस २९ गते ४ वटा र माघ २ गते एउटा अध्यादेशमार्फत २९ वटा कानुन संशोधन गरेको थियो। निजी क्षेत्रले वर्षौदेखि माग गर्दै आएका विषय संशोधनमा समेटिएका छन्। सरकारी संयन्त्रले फाइल अड्काइदिएर हैरान पार्ने समस्या समाधानका लागि सात दिनभित्र सदर गरिसक्नुपर्ने व्यवस्था गरिएको छ।
महासंघका अध्यक्ष ढकालले उद्यम व्यवसाय गर्न चाहनेलाई अहिले पुँजीको अभाव नहुने भन्दै जुनसुकै क्षेत्रमा पनि सम्भावना रहेको बताए।
‘मैले व्यवसाय सुरु गर्दा धेरै चुनौती थियो। बैंक तथा वित्तीय संस्था धेरै थिएनन्। पुँजी जुटाउन धेरै धौधौको अवस्था थियो। अहिले धेरै सहज छ। बैंक तथा वित्तीय संस्थाबाट सहजरुपमा ऋण लिन सकिन्छ। बिजनेसको आइडिया भयो भने लगानी गर्ने जति पनि पाइन्छन्,’ उनले भने, ‘विकसित देशहरु विकासको माथिल्लो अवस्थामा पुगेकाले त्यहाँ अब सम्भावना छैन। तर हामीकहाँ जुनसुकै क्षेत्रमा सम्भावना नै सम्भावना छ। अझ सरकारले व्यवसायीको पक्षमा क्रान्तिकारी परिवर्तन गरिदिएको छ।’
बजारमा माग बढाउन युवालाई रोकौं
ढकालअघि ‘नवप्रवर्तन र उद्यमशीलताद्वारा आर्थिक रुपान्तरण’ शीर्षकको सत्रमा महासंघकै वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले बोले। अध्यादेशमार्फत गरिएको कानुनी सुधारप्रति सरकारलाई धन्यवाद दिंदै अब युवाहरुलाई देशमा रोक्ने नीति ल्याउन कांग्रेस नेतृत्वको ध्यानाकर्षण गराए।

‘अध्यादेशमार्फत व्यावसायिक वातावरण बनाउन खोजेकाले नयाँ ऊर्जा पलाएको छ। अब युवालाई देशभित्र रोक्नुपर्ने चुनौती छ। युवा पलायनले उपभोग एकदम घट्यो। बजारमा माग नरहेकाले उद्योग व्यवसाय ३०/४० प्रतिशतमा मात्र चलिरहेका छन्,’ उनले भने।
उनले व्यवसाय फस्टाउनका लागि नीतिगत स्थिरता चाहिने कुरा राजनीतिक नेतृत्वले बुझ्नुपर्ने पनि बताए। ‘नीतिगत स्थिरता चाहिन्छ। नीति प्रक्षेपणयुक्त हुनुपर्छ। कम्तिमा ५ वर्षका लागि परिवर्तन हुनु भएन। त्यसो भए व्यवसायीले ढुक्क भएर लगानी गर्छ,’ उनले भने, ‘उद्यमशीलता विकासका लागि पाठ्यक्रममा नै सुधार गर्नुपर्छ। उपार्जनका कुरा विद्यालयदेखि नै सिकाउनुपर्यो।’
श्रेष्ठको कुरामा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जिवी नेपाल र बैंकर मनोज ज्ञवालीले सही थपे। उनले उद्यमशीलता विकासका लागि विद्यालयको पाठ्यक्रममा नै सुधारको आवश्यकता औंल्याए।
‘हामीकहाँ अहिले पनि उद्यमशीलता विकास गर्ने भन्दा रोजगारीलाई महत्व दिइन्छ। यसमा सामाजिक सांस्कृतिक पक्षसँगै शिक्षाको पनि कमजोरी छ। त्यसैले पाठ्यक्रममा सुधार गर्न ढिला भइसकेको छ,’ उनले भने, ‘उद्यमशीलता विकास गर्न सरकारले सहुलियत कर्जा पनि बढाउनुपर्छ।’
नबिल बैंकका वरिष्ठ डेपुटी सीइओ ज्ञवालीले युवाहरुमा निराशा रहेकाले राजनीतिक नेतृत्वले आशा जगाउनुपर्नेमा जोड दिए। ‘समस्या ब्याजदरको होइन। डिमान्ड घटेको छ। आज स्थिति ठिक छैन। भोलिप्रति विश्वास छैन। त्यसैले विश्वास जगाउन आवश्यक छ। राजनीतिले आशा जगाउनुपर्यो,’ ज्ञवालीले भने, ‘आशा जगाएर युवालाई देशमै रोक्न सके बजारमा माग बढ्छ।’
चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले पनि व्यवसाय गर्न युवाहरुलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए। ‘युवालाई प्रोत्साहित गर्न सके आर्थिक परिवर्तन सम्भव छ। लगानीको समस्या छैन। बैंक तथा वित्तीय संस्थाले पैसा दिन्छन्,’ उनले भने।
सूचना प्रविधिबाट वार्षिक ८ खर्ब भित्र्याउन सकिन्छ
नास आइटीका उपाध्यक्ष गौरव पाण्डे सबैभन्दा उत्साही देखिए।
‘अध्यादेशका लागि धेरै धेरै धन्यवाद। हाम्रो सेक्टरका लागि यो ठूलो उपलब्धि हो। हामीले १०० भन्दा बढीपटक गरेको बैठकमा उठाएका कुरा अहिले अध्यादेशमा आएको छ,’ उनले भने।
नेपालको सूचना प्रविधि क्षेत्रमा अहिले हाल एक लाख हाराहारी युवा आवद्ध छन्। यो क्षेत्रले गत वर्ष ८० अर्ब रुपैयाँ हाराहारी विदेशी मुद्रा कमाएको थियो। अब सूचना प्रविधि क्षेत्रमा रोजगारी बढ्ने र त्यसको लाभ देशले पाउने पाण्डेले बताए।
‘अहिले करिब एक लाहा हाराहारीले रोजगारी पाइरहेको सूचना प्रविधि क्षेत्रमा अबको १० वर्षमा ४ लाख रोजगारी सिर्जना गर्न सकिन्छ। वार्षिक ८ खर्ब रुपैयाँसम्म कमाउन सकिन्छ भन्ने हाम्रो विश्वास छ,’ उनले भने, ‘हाम्रो जनशक्तिलाई प्रतिस्पर्धी बनाउन पनि आवश्यक छ। यसका लागि करिकुलम रिभाइज्ड गर्न ढिला नगरौं। हामी पनि सहयोग गर्छौं।’
विदुषीको दुखेसो
गोल्डस्टार जुत्ता उत्पादन गर्ने किरण सुजकी संचालक विदुषी राणाले उत्पादनमूलक क्षेत्रले सहुलियत पाउन नसकेको दुखेसो सुनाइन्।

‘बैंकको ब्याजदर ट्रेडिङलाईभन्दा म्यानुफ्याक्चरिङ क्षेत्रलाई फरक हुनुपर्यो। किनभने जुत्ताकै कुरा गर्ने हो भने बनाउन तीन महिना लाग्छ। र, बजारमा बेचेर बैंकलाई ब्याज तिर्न थप तीन महिना लाग्छ,’ राणाले भनिन्, ‘जग्गा धेरै महँगो भयो। कारखाना खोल्न सक्ने अवस्था छैन। सरकारको प्रोत्साहन छैन। सबैभन्दा ठूलो कुरा प्रोटेक्सन छैन। हामी ट्याक्स तिर्छौं। रोजगारी दिन्छौं। तर चोरी पैठारी भएका जुत्ताको बजार छ। त्यसैले सरकारले चोरी पैठारी रोकेर उद्योगलाई प्रोटेक्सन गर्नुपर्यो। म्यानुफ्याक्चरिङ भनेको देश विकासको मेरुदण्ड हो।’
राणाको किरण सुज जुत्ता उत्पादन गर्ने नेपालको सबैभन्दा ठूलो उद्योग हो। यसले स्वदेशी बजार मात्र नभएर विदेशमा पनि व्यापार गर्दै आएको छ। नेपालबाट निर्यात हुने जुत्ताको ९५ प्रतिशत हिस्सा आफ्नो भएको राणाको दाबी छ।