आर्थिक अवनतिमा भन्सारलाई मात्र दोष, सुधारको प्रयास कहाँबाट थाल्ने?

रामप्रसाद रेग्मी
२०८१ माघ १३ गते ०६:१८ | Jan 26, 2025
आर्थिक अवनतिमा भन्सारलाई मात्र दोष, सुधारको प्रयास कहाँबाट थाल्ने?


मुलुकको समग्र अर्थतन्त्र र आर्थिक सम्पन्नता मापन गर्दा उद्योग व्यापारको अवस्थासँगै भन्सार प्रशासनको दक्षता गणनामा पर्छ। साथमा हेर्न छुटाइँदैन भन्सार कर्मचारीहरुको व्यवहार। भन्सारले गर्ने राजस्व संकलनको अंकमा मुलुकको आर्थिक जगतको ध्यान हुन्छ।

Tata
GBIME
NLIC

नेपालको सन्दर्भमा सामाजिक सञ्जालबाट मात्र होइन हाम्रो समाजमा रहेका र देखिने हरेक गलत कार्य,  विकृतिका विषयमा कुरा गर्दा ‘भन्सार जस्तो’ भनेर समग्र भन्सार प्रशासन तथा भन्सार कर्मचारीलाई खराब वा नकारात्मक रुपमा मात्र चित्रण गर्ने गरिन्छ। यसबाट हाम्रो अर्थतन्त्रको आकलन र भन्सार प्रशासनको बारेमा रहेको समाजको धारणा स्वतः प्रष्ट हुन्छ। तर, यसरी चित्रण गरिएजस्तै राज्यका सबै निकायहरुभन्दा खराब र समाजका सबै विकृतिको जड, खराब प्रवृत्तिको द्योतक भन्सार प्रशासन र कर्मचारी मात्र हुन्? अरु सबै निकाय आफ्नो जिम्मेवारी निर्वाह गर्न सक्षम योग्य र पारदर्शी छन् त?

आज २६ जनवरी अर्थात विश्व भन्सार दिवस। यस दिवसका सन्दर्भमा आउनुस् हामी भन्सार विवेचना गरौं।

मुलुकको प्रवेशविन्दु

भन्सार भनेको कुनै पनि मुलुकको सिमानामा रहने पहिलो सरकारी निकायसँगै प्रवेश विन्दु हो। अन्तर्राष्ट्रिय विमानस्थल र मुलुकका प्रवेशविन्दुमा यसले विदेशीलाई कुनै पनि राज्यको पहिलो प्रशासनका रूपमा भेट्छ। उनीहरुलाई पार्ने प्रभावका कारण नै भन्सार प्रशासनलाई सिमानामा देखिने राष्ट्रको अनुहारसमेत भनिन्छ। कामका हिसाबले मुख्य दायित्व हो सीमा व्यवस्थापन, वैध व्यापार सहजीकरण र अवैध व्यापार नियन्त्रण।

गुणस्तरहीन, अखाद्य तथा सार्वजनिक सुरक्षा र राष्ट्रिय हितमा प्रतिकूल प्रभाव पार्ने तथा रोगव्याधि वा महामारी फैलाउने मालवस्तुहरुको आयात हुन नदिएर, नियन्त्रण गरेर सार्वजनिक हितको संरक्षण वा रक्षा गर्ने कार्य पनि भन्सार प्रशासनले नै गर्दै आएको छ।

भन्सार प्रशासनले गर्नैपर्ने यस्ता कामका लागि पनि समग्र नागरिक समाज र अन्य सरकारी निकायहरुको समेत सहयोग अपरिहार्य छ। अझ नेपालमा त सीमा व्यवस्थापन सम्बन्धि कार्य सुरक्षा निकायहरुबाट मात्र हुने हुँदा त्यस्ता निकायहरुको सहयोगविना भन्सार र भन्सार प्रशासनले मात्र अपेक्षित कार्य गर्न सम्भव छँदैछैन।

भन्सारको योगदान

हाम्रो मुलुकमा भन्सारको योगदान बारेमा कुरा गर्दा समग्र राजस्वको करिब ४८ प्रतिशत राजस्व प्रत्यक्षरूपमा भन्सारविन्दुबाटै संकलन भइरहेको स्पष्ट छ। नेपाल-भारत बीच १ हजार ७ सय ७० किलोमिटरको खुला सिमाना छ। ठाउँ-ठाउँमा भन्सार प्रशासन खुम्चिएर बसेको छ। अनि जुनसुकै ठाउँबाट मालसामानसहित आवतजावत गर्न सक्ने हाम्रो परम्परा, अझ घरायसी प्रयोजनका मालसामानका नाममा चोरी तस्करीले पाएको प्रोत्साहनका कारण भन्सारबाट आयात भएकै मालवस्तुहरुको मात्र आन्तरिक करयोग्य कारोबार देखिने हुँदा अधिकांश आयकर र मूल्य अभिवृद्धि करको आधार पनि भन्सारविन्दु नै हो भन्दा फरक नपर्ला।

भन्सारबाटै आयातित कच्चा पदार्थको खपतको आधारमा मात्र प्राय उद्योगहरुले समेत आफ्नो उत्पादन देखाउने तथा नयाँ उद्योग खोल्न र सञ्चालन गर्न आवश्यक मेसिन औजार पनि भन्सारबाटै आयात गर्नुपर्ने कुरा सबैलाई थाहा छ। यसर्थ देशलाई आवश्यक राजस्व संकलन गर्न, औद्योगीकीकरण गर्न, उद्योग व्यापारको बढोत्तरीबाट रोजगारी सृजना गरि समग्र राज्यको आर्थिक अवस्थालाई चलायमान बनाउन वा अर्थतन्त्र सुदृढ बनाउने कार्यमा भन्सार कार्यालयहरु र भन्सार प्रशासनको विकल्प छैन।

नेपाली भन्सार प्रशासनको अवस्था

राज्यले तोकेको नाकामा बसेर वैध व्यापारलाई सहजीकरण र चोरी तस्करी नियन्त्रण गरेर अवैध व्यापार नियन्त्रण भन्सार प्रशासनले गर्छ। यो कार्य सम्पादनका लागि भन्सारलाई सीमा क्षेत्रमा खटिने राज्यका अन्य निकाय र स्थानीय समाजबाट सधैं सहयोग चाहिन्छ।

तर, विभिन्न घटनाक्रमले देखाउँछन् सहयोग गर्नुपर्ने निकायहरुबाट नै भन्सार प्रशासन प्रताडित छ। निहित स्वार्थका लागि तस्करीलाई प्रोत्साहन गर्ने र त्यसलाई रोक्ने काम भन्सार कर्मचारीको मात्र जिम्मेवारी जस्तोगरि प्रचार गर्ने चलन हट्न सकेको छैन। काम गर्न नसकेको भनेर अनावश्यक लान्छना लगाउँदै अन्य खुला सिमानामा केन्द्रित गर्नुपर्ने ध्यानसमेत भन्सारविन्दु भएर आएका मालवस्तुहरुमा मात्र निगरानी बढाएर विभिन्न अडचन र हडलहरु सृजना गरी खुला सिमानामा समकक्षी छाया भन्सारहरु चलाउने प्रवृत्तिहरु यस क्षेत्रका जानकारहरु सामु स्पष्ट छ।

अवान्छित गतिविधिहरुबाट वैध व्यापारमा विचलन आएका छन्। अनौपचारिक बाटोमा अवैध भन्सारहरु संचालन भएकाले नै त्यस्ता संयन्त्र र समाजबाट भएका गतिविधिबाट भन्सार कार्यालय र कार्यरत कर्मचारीहरुको बदनामी भएको देखिन्छ।

गैरकानुनी कार्य, अवान्छित गतिविधिहरु निरुत्साहित गर्दै व्यापार सहजीकरणमा तादाम्यता मिलाउने कार्य भन्सार प्रशासनले गर्दै आएको छ। नियमित कार्यसम्पादनको सन्दर्भमा कहिलेकाही भएका सामान्य गल्तीलाई समेत ‘तिलको पहाड’ बनाएर भन्सार कर्मचारीको हुर्मत लिने र भन्सार प्रशासनलाई खुइल्याएर स्वार्थसिद्धिमा लागिपरेकाहरुको परवाह नगरी निरन्तर दायित्व पुरा गर्न र तोकिएको लक्ष्य बमोजिम राजस्व असुली तथा अपेक्षा अनुसारका कार्य सम्पादनमा भन्सार प्रशासन लागिपरेको छ।

बढ्दो कारोबार र खुम्चँदो संरचना

विगतको तुलनामा व्यापार र अन्तर्राष्ट्रिय कारोबार दिनदिनै बढ्दै छ। भन्सारको पनि पूर्वाधार विकास भइरहेको छ। कर्मचारीवृत्तमा प्रविधिमा दक्ष जनशक्तिको खाँचो अझ बढेको छ। तर, भन्सारको संगठन संरचना र संयन्त्र भने वर्षैपिच्छे खुम्चँदै गएको छ। २० वर्षअघि भन्सार कर्मचारीको संख्या करिब १७ सयभन्दा बढी थियो। अहिले दसौं कार्यालय थपिँदा र राजस्वमा दसौं गुना बढोत्तरी हुँदा झन कर्मचारी संख्या घटाउदै करिब एक हजारको आसपासमा आइपुगेको तथ्यांक छ।

भन्सारमा आवश्यक दक्ष र दैनिक मालवस्तुको जाँचपासजस्ता ‘कोर’ कार्यसँग आवश्यक कर्मचारीभन्दा ‘ननकोर’ कर्मचारीको संख्या बढेको देखिन्छ। पूर्वाधार विकासका योजना अघि बढ्दा नयाँ बाटो खुलेका छन्, भारतसँगका पुराना नाकामा आवागमनको चाप बढेको छ, नयाँ नाका प्रयोगमा आएका छन्। कतिपय ठाउँमा सीमावर्ती भारतीय बजारसँग पहुँच सहज बनाउन मुलुकको सुरक्षा र आर्थिक संवेदनशीलताको बेवास्ता गर्दै आउजाउ खुलाइएका छन्। तर, आवश्यकताका अनुपातमा भन्सारको जनशक्ति थपिएको छैन। दिन प्रतिदिन कार्यालय हाताबाहिर जान नसक्नेगरि भन्सार प्रशासनको संरचना खुम्चिँदै गएको देखिन्छ।

सीमावर्ती क्षेत्रमा वारिपारि पहुँच सहज बनाइनुले सर्वसाधारणको आवागमन सजिलो पारे पनि तस्करी, चोरीपैठारी बढाएको छ। यस्तो अवस्थामा भन्सार प्रशासनले आफ्नो खुम्चिँदो संरचनाबाट काम गर्न निकै चुनौती छन्।

नफेरिएको मानसिकता

छिमेकी मुलुक भारतसँगको खुला सिमाना र रोटीबेटीको सम्बन्धका कारण जुनसुकै ठाउँबाट मालवस्तु लिएर वारिपारि आउजाउ गर्न पाउनुपर्ने हाम्रो समाजको मानसिकता छ। अझ सस्तो छ भनेर नेपाली बजारहरु सुकाएर पारिका बजारमा घरायसी सामानका नाममा मालवस्तुहरुको खरिद गर्न जाने हाम्रो प्रवृत्ति पुरानै हो।

घरायसी प्रयोजनका सामानका नाममा नै गरिब र निम्न वर्गको शोषण तथा दुरुपयोग गरि पोका बोकाइ तस्करी गराएर रातारात करोडपति बन्न चाहनेहरुको मानसिकता र यस्ता प्रवृत्तिको प्रतिरक्षा गर्ने हाम्रो समाज भन्सार प्रशासनका लागि ठूलो चुनौती छ।

सीमावर्ती क्षेत्रका बासिन्दाको दुरुपयोग गरेर तस्करीको संरक्षण गर्ने जमात कहिल्यै घटेनन्। आफ्ना नातागोता र आफन्तका नाममा भारतीय नम्बरका सवारीसाधन खरिद गरेर पर्यटन प्रवर्धनका लागि राज्यले दिएको सुविधा पासको दुरुपयोग गर्दै बाह्रै महिना नेपालमा राखेर प्रयोग गर्ने हाम्रो प्रवृत्तिले चोरीपैठारीलाई प्रोत्साहन मिलेको छ। त्यसले नेपालमा सवारीसाधनको व्यापारलाई क्रमशः धरासायी बनाएको देखिन्छ।

आफ्नो स्वार्थ पुरा गर्न वा आर्थिक प्रलोभनमा परेर हाम्रा आफनै देशमा उत्पादन भएका मालवस्तुहरुलाई समेत पारी जान नदिइ रोक्ने तर पारीबाट नेपालतर्फ आउदा रोक्नुपर्ने विषादीयुक्त कृषिउपज तथा मालवस्तुहरुलाई चाहिँ गैरभन्सार प्रकियाबाट वा अवैध भन्सार कार्यालयहरु नै खडा गरेर स्वागत गर्ने हाम्रो समाज र सरकारी संरचनामा सुधारको खाँचो टड्कारो छ।

सीमावर्ती क्षेत्रका विकृति निर्मुल नगरी भन्सारलाई मात्रै एकोहोरो गाली गरेर अवस्थामा सुधार आउदैन। आफनो दायित्व र जिम्मेवारी पुरा गर्नुको बदला भन्सार प्रशासनलाई नै पन्छाएर आफनो स्वार्थसिद्द गर्न लागिपर्ने समाज, अन्य संरचना र संस्कारमा समयसापेक्ष परिवर्तन जरुरी छ। अर्काको दोषमात्रै देखाउने संस्कार फेरिएन भने भन्सार एक्लैले कसरी सुदृढ र सक्षम भएर काम गर्न सक्छ?  

हाम्रा कुनै पनि निकायहरु एक्लै सक्षम छैनन् र हुँदैनन्। अझ भन्सार प्रशासन मात्र त्यसको विकल्प हुन्छ भन्नु सरासर गल्ती हुन्छ। संघीय राजधानी काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सारमै मात्र देखिने र नदेखिनेगरि २४ वटाभन्दा बढी सरकारी संयन्त्र छन्।

विदेशबाट ल्याएका ५० ग्रामका सुनका गहना र परिवारका सदस्यका लागि ल्याइदिएको एक सेट मोबाइलफोन समेत यात्रु गेटबाट बाहिर निस्कन नपाउँदै नियन्त्रणमा लिन सक्ने सक्षम हाम्रा सरकारी संरचनाहरु सबै सक्रिय नै देखिन्छन्। के तस्करी नियन्त्रण भएको छ भनेर ढुक्क हुने अवस्था छ? छैन। चोरीपैठारी, निकासी र तस्करी जस्ता गलत प्रवृत्तिका लागि उकास्ने, सघाउने र त्यसलाई संरक्षण गर्ने तथा त्यस्ता काम गर्न लगाउने र प्रोत्साहन गर्ने हाम्रै समाज र यहीका संयन्त्रहरु होइनन र?

अर्कै सामानभित्र लुकाएर वर्षौदेखि ल्याएको सुन निकाल्ने कारखाना नै संचालन गरेर कारोबार गर्दा पनि थाहा नपाउने वा त्यसलाई संरक्षण गर्ने हाम्रो समाज र हाम्रा अरु संयन्त्र सबैलाई चोखो बनाएर त्यस्ता गलत कार्यको दोष मात्र लगाएर लान्छित गर्नेजस्ता कार्यहरुबाटै भन्सार प्रशासनको बढी बदनामी र मानमर्दन भएको देखिन्छ।

राज्य र समाजलाई असर गर्ने विषयमा सबै निकायले आफ्नो कर्तव्य इमानदारीपूर्वक पुरा गर्नुपर्छ। त्यो नगरी अर्कालाइ दोष लगाएर बस्ने र आफूमात्र चोखो बन्ने प्रवृत्तिमा सुधार नल्याएसम्म समाजका अन्य निकायहरु जस्तै भन्सार प्रशासनलाई मात्र कदापि प्रभावकारी र सक्षम बनाउन सकिदैन।

भन्सार प्रशासन पनि समाजकै उपज

हाम्रो भन्सार प्रशासन र भन्सारविन्दुमा कार्यरत कर्मचारी कतै बाहिरबाट ल्याइएका होइनन्। उनीहरु पनि हाम्रै समाजका हुन्। समाज, सामाजिक संयन्त्र र कर्मचारीतन्त्र एकअर्काका पूरक हुन् भन्दा फरक नपर्ला। राम्रा नराम्रा दुवै प्रवृत्ति जहाँ पनि हुन्छन्। अनुशासनविहीन समाज र त्यसको उपज वा संस्कार रहुन्जेल त्यसबाटै चलेको भन्सार प्रशासन मात्र अनुशासित हुनुपर्छ भन्नु कल्पना सिवाय अरु हुनै सक्दैन।

समाजका हरेक क्षेत्रमा कुनै न कुनै रुपमा समाजकै प्रतिविम्ब देखिने हुँदा भन्सार प्रशासनबाट पनि यदाकदा गल्ती कमजोरी हुन सक्छन्। त्यस्ता गल्ती कमजोरीमा दण्डित गर्दै राम्रो काम गर्नेलाई पुरस्कृत गरेर निरन्तर सुधारको गुन्जायस जहिले र जहाँ पनि रहन्छ। राम्रालाई प्रोत्साहन गर्दै गलत प्रवृत्तिलाई निरुत्साहित गरेर अगाडि बढन सके मात्र समग्र समाज सुधार हुँदै जान्छ। राज्यका कर्मचारीतन्त्र र अन्य संयन्त्रहरु एउटै समाजका उपज भएकाले कुनै एउटालाई मात्र दोष दिएर अर्को चोखिन खोज्ने प्रवृत्तिले सुधार सम्भव हुँदैन। समग्र समाज, संस्कार र कर्मचारीतन्त्र सुधार नभइ भन्सार र त्यहाँ काम गर्ने कर्मचारीबाट मात्र सुधार र उत्तम काम हुने अपेक्षा गर्नु सरासर गलत हुन्छ।

भन्सार प्रशासनको सफलता र सक्षमता मुलुकको आर्थिक उन्नति, प्रगति र सफलताको सूचक पनि हो। यसमा राज्यका सबै निकायबीच सहकार्य जरुरी हुन्छ।

कमजोर भन्सार प्रशासनबाट मुलुक आर्थिकरूपमा सम्पन्न हुने कल्पनै गर्न सकिदैन। तसर्थ सुधारका प्रयासमा हातेमालो गरिनुपर्छ। एउटाले अर्कोलाई गाली गरेर आफूमात्र चोखो देखिएर आर्थिक रुपमा मुलुक समृद्ध हुन सक्दैन।

नागरिक समाज, प्रशासन तथा राजनीतिलगायत राज्यको समग्र सुधारका लागि भन्सार र भन्सार प्रशासन मात्र होइन, समग्र समाजकै सुधार जरुरी छ। समाजसँगै राज्यका संयन्त्रहरुमा सुधार भएमा भन्सार प्रशासन पनि स्वतः सुधार हुँदै जानेछ। अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा सक्षम भन्सार प्रशासनको विकासमा लागौं, भन्सार दिवसको अवसरमा सरोकारवाला सबैमा यही शुभकामना।

लेखक अर्थ मन्त्रालयमा उपसचिव हुन्।