
काठमाडौं। साना तथा मझौला कम्पनीको सेयर कारोबार (एसएमई प्लेटफर्म) सञ्चालनको बाटो खुलेको छ।
एसएमई प्लेटफर्म सञ्चालनका लागि सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई नियमावली बनाउन स्वीकृति दिएको छ।
मन्त्रिपरिषद्को पुस ५ गते बसेको बैठकले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली बनाउन सेबोनलाई स्वीकृति दिएको हो।
सेबोनले नियमावलीको मस्यौदा स्वीकृतिका लागि डेढ वर्षअघि नै अर्थ मन्त्रालयमा पेस गरेको थियो। मन्त्रिपरिषद्बाट अधिकार पाएपछि सेबोनले अब यसअघिकै मस्यौदालाई नियमावलीको रुपमा कार्यान्वयनमा ल्याउनेछ।
सेबोनले साना तथा मझौला कम्पनीको सेयर कारोबार छुट्टै गराउन एसएमई प्लेटफर्मको अवधारणा ल्याएको हो।
नियमावलीको मस्यौदामा सूचीकृत धितोपत्रको कारोबार सञ्चालन अहिलेको मुख्य प्रणाली (मेन प्लाटफर्म) मातहत वा छुट्टै साना तथा मझौला संगठित संस्थाको कारोबार प्रणाली (एसएमई प्लेर्टफर्म) मा गर्न सकिने उल्लेख छ।
अहिले सबै कम्पनीको सेयर कारोबार नेपाल स्टक एक्सचेन्जको एकै इन्डेक्सबाट हुने गरेको छ। सेबोनले कानूनी आधार बनाएर साना तथा मझौला कम्पनीलाई नेप्सेको इन्डेक्सबाट अलग गर्न खोजेको थियो। तर, मन्त्रालयबाट मस्यौदा अघि नबढ्दा कार्यान्वयनको बाटो खुलेको थिएन।
एसएमई प्लेटफर्म सञ्चालनले साना तथा मझौला उद्योगलाई सेयर बजारबाट पुँजी संकलन गर्ने बाटो खुल्नेछ। प्लेटफर्म सञ्चालनमा ल्याउँदा थोरै पुँजी भएका कम्पनीहरुलाई व्यवसाय बढाउन प्रोत्साहन पुग्ने सेबोनको भनाइ छ।
एसएमई प्लेटफर्ममा अधिकतम २५ करोड रुपैयाँ चुक्ता पुँजी भएका कम्पनी दर्ता हुन सक्ने र ती कम्पनीले जारी पुँजीको न्यूनतम ३० देखि अधिकतम ४९ प्रतिशतसम्म आइपीओ निष्कासन गर्न सक्ने मस्यौदामा उल्लेख छ।
अहिले न्यूनतम १० र अधिकतम ३९ प्रतिशतसम्म आइपीओ जारी गर्न सक्ने व्यवस्था धितोपत्र दर्ता तथा निष्कासन नियमावलीमा छ।
एसएमई प्लेटफर्ममा दर्ता हुने कम्पनीले प्रिमियम मूल्यमा समेत आइपीओ निष्कासन गर्न सक्नेछन्। ती कम्पनीका संस्थापकहरुका लागि लकइन अवधि ५ वर्ष प्रस्ताव गरिएको छ।
तर, प्राइभेट इक्विटी, भेन्चर क्यापिटल, हेज फण्ड वा यस्तै प्रकारको कोषको रुपमा सेबोन वा विदेशमा दर्ता भएका कम्पनीका संस्थापकले आइपीओ निष्कासन गरेको एक वर्षपछि सेयर बिक्री गर्न सक्ने प्रस्ताव छ।
एसएमई प्लेटफर्म सञ्चालनमा आएपछि साना कम्पनीको सेयर मूल्यमा हुने अस्वाभाविक उतारचढावले समग्र बजारको अवस्था नै फेरिने स्थिति रोकिने सेबोनको दाबी छ। नेप्सेमा अहिलेसम्म २६८ कम्पनी सूचीकृत छन्।