रवि पक्राउको ६०औं दिनमा प्रहरीले तयार पार्‍यो अनुसन्धान प्रतिवेदन, तीनवटा कसुरमा मुद्दा चलाउन सिफारिस

सविन ढकाल
२०८१ पुष १ गते १३:३९ | Dec 16, 2024
रवि पक्राउको ६०औं दिनमा प्रहरीले तयार पार्‍यो अनुसन्धान प्रतिवेदन, तीनवटा कसुरमा मुद्दा चलाउन सिफारिस


काठमाडौं। पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध प्रहरीले विभिन्न तीनवटा कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ।

Tata
GBIME
NLIC

जिल्ला प्रहरी कार्यालय कास्कीले रवि पक्राउ परेको ६०औं दिनमा अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा सोमबार बुझाएको हो। प्रतिवेदनमा रविविरुद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा मुद्दा चलाउन सिफारिस गरेको छ। कारागारमा रहेका, पक्राउ परेका र फरार गरेर ६५ जना प्रतिवादी बनाएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्त शर्माले बताए।

रवि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए। उनलाई त्यसै दिन राति पोखरा लगिएको थियो।

पूर्वडीआइजी जोशी असोज ६ गते नयाँ बानेश्वरबाट पक्राउ परेका थिए।

प्रहरीले सम्पत्ति शुद्धीकरणमा रवि, गोर्खा मिडियाका अध्यक्ष जीबी राई, गोर्खा मिडियाका सञ्चालक पूर्वडीआइजी छविलाल जोशी, सहकारीका कोषाध्यक्ष कुमार रम्तेल, रामबहादुर खनाल र लिला पछाईंमाथि मुद्दा चलाउन सिफारिस गरेको छ। जीबी राई फरार छन्।

बाँकी फरार प्रतिवादीबारे पक्राउ परेपछि थप अनुसन्धान गर्न राय दिइएको छ।

राईलाई पक्राउ गर्न रेड नोटिस जारी गरिए पनि प्रहरीले उनलाई नियन्त्रणमा लिन सकेको छैन। उनको राहदानी सरकारले रद्द गरिसकेको छ।

रवि र पूर्वडीआइजी जोशीले इन्कारी बयान दिएका छन्। रविले गोर्खा मिडियामा आएको रकमबारे आफूलाई जानकारी नभएको र जीबी राईले कहाँबाट ल्याए भन्नेबारे थाहा नभएको बताएका छन्।

तर, प्रहरीले रविले सहकारीमा तिर्नका लागि काटेको चेक, उनको खातामा देखिएको रकम र त्यसको स्रोतलाई केलाएर प्रतिवेदन बुझाएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)का डीएसपीको टोली पोखरा पुगेर अनुसन्धान गरेको थियो। डीएसपीको टोली काठमाडौं फर्किसकेको छ।

रवि र छविमाथि रुपन्देहीको सुप्रिम सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा सहकारी र वीरगंजको सानो पाइला सहकारीको रकम गोर्खा मिडियामा लगेर खर्च गरेको विषयमा पनि अनुसन्धान गरिएको छ। उनीहरुलाई बयानका लागि पोखराबाट बुटवल, काठमाडौं, चितवन र वीरगंज लगिएको थियो।

एमाले सांसद सूर्य थापाको संयोजकत्वमा गठित सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले रविमाथि अनुसन्धान गर्न सिफारिस गरेको थियो।

रवि प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा पाँच सहकारीबाट ६५ करोड रुपैयाँ गएको देखाएको थियो। त्यसैको आधारमा प्रहरीले पुरक अनुसन्धान गरेर मुद्दा चलाउन सिफारिस गरेको हो।

प्रहरीको अनुसन्धान प्रतिवेदन अध्ययनपछि सरकारी वकिल कार्यालयले कुन-कुन कसुरमा मुद्दा चलाउने भन्ने निर्णय गर्नेछ।

सूर्यदर्शन सहकारीको रकम ठगीमा यसअघि जीबी राईसहित १९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो।