
काठमाडौं । काभ्रेको बनेपाबाट प्रहरीले अवैध रुपमा ल्याएको सुनसहित दुई जनालाई पक्राउ गरेको छ।
बनेपा नगरपालिका-१३ साँगा चोकबाट करिब ५५८ ग्राम सुनसहित दुई जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा रोशी गाउँपालिका-९ बस्ने ३८ वर्षीय वसन्त लामा र रामेछाप मन्थली नगरपालिका-१ बस्ने २९ वर्षीय अमृत श्रेष्ठ रहेका छन्। गाडी भने वसन्त लामाले चलाएका थिए।
जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको बीएबी ८६०८ नम्बरको कारलाई खोजतलास गरेका थिए। त्यसक्रममा कारको सिट मुनि प्लाष्टिकको झोलामा राखेको अवस्थामा सुन बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।