चितवन प्रहरीले भन्यो- सुरक्षामा प्रतिकूल असर पर्ने देखिएकाले राति नै रविलाई पोखरा लगिएको हो

बिजमाण्डू
२०८१ मंसिर २३ गते १७:०८ | Dec 8, 2024
चितवन प्रहरीले भन्यो- सुरक्षामा प्रतिकूल असर पर्ने देखिएकाले राति नै रविलाई पोखरा लगिएको हो


काठमाडौं। जिल्ला प्रहरी कार्यालय चितवनले पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई राताराता पोखरा लग्नुको कारण सुरक्षा भएको दाबी गरेको छ।

Tata
GBIME
NLIC

आइतबार विज्ञप्ति जारी गर्दै राति सुतेको बेलामा हिरासत कक्षबाट उठाएको, दुर्व्यवहार गरेको, अस्वस्थताका बावजुद लगिएको, प्रहरीका कर्मचारीले मादक पदार्थ सेवन गरेको भन्ने दाबी भ्रामक र झुट्ठा भएको प्रहरीले जनाएको छ।

सरकारी वकिल कार्यालयमा बयान भइरहेको अवस्थामा अनुसन्धान कार्य बिथोल्ने मनसायबाट भिडले प्रहरीमाथि ढुंगामुढा प्रहार गर्ने, प्रहरी कार्यालय तथा सरकारी वकिल कार्यालयमा भिड प्रवेश गर्न खोज्ने लगायतका कार्य समेत भएको, मौसम प्रतिकूल रहेकाले हवाई उडानबाट लैजान सक्ने अवस्था नरहेकाले राति नै लगिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

सरकारी वकिल कार्यालय, चितवनमा बयान कार्य सकिएपछि जिल्ला प्रहरी कार्यालय, चितवनको हिरासत कक्षमा पनि नलगी आफन्त भेटघाट कक्षमा लामिछानेले आफन्त तथा शुभचिन्तकहरुसँग भेटघाट गरेको र भेटघाट कक्षबाट नै सुरक्षा सतर्कता अपनाई प्रहरी नायव उपरीक्षकको कमाण्डमा चितवनबाट पोखरा लगिएको प्रहरीको दाबी छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले भने रवि लामिछानेलाई अमानवीय तरिकाले चितवनबाट पोखरा लगिएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएको छ।