इन्स्योरेन्सको २ महिनाको व्यवसायभन्दा बाढीले २ दिनमा पुर्‍याएको क्षतिको दाबी धेरै, वासलात के होला?

सुनिल कुँवर
२०८१ कात्तिक १ गते १७:१७ | Oct 17, 2024
इन्स्योरेन्सको २ महिनाको व्यवसायभन्दा बाढीले २ दिनमा पुर्‍याएको क्षतिको दाबी धेरै, वासलात के होला?

काठमाडौं। असोज दोस्रो साता अविरल वर्षासँगै आएको बाढीपहिरोको क्षतिबाट इन्स्योरेन्स कम्पनीमा ९ अर्ब रुपैयाँको दाबी परेको छ।

Tata
GBIME

नेपाल बीमा प्राधिकरणका अनुसार असोज २९ गतेसम्म बीमितले निर्जीवन बीमा कम्पनीहरुमा ८ अर्ब ९८ करोड ३० लाख २६ हजार रुपैयाँ दाबी भुक्तानी माग गरेका छन्।

१८ वटा इन्स्योरेन्स कम्पनीमा ३ हजार २४४ वटा दाबी परेको छ। बीमितले गरेको दाबीमा इन्स्योरेन्सले १७ करोड २८ लाख २८ हजार रुपैयाँ भुक्तानी गरिसकेका छन्।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा सर्वाधिक १ अर्ब ९५ करोड २९ लाख रुपैयाँको दाबी परेको छ। यस्तै दि ओरियण्टल इन्स्योरेन्समा १ अर्ब ४५ करोड ६८ लाख रुपैयाँको दाबी आएको छ।

सम्पत्ति बीमामा सबैभन्दा धेरै ६ अर्ब ६८ करोड ६७ लाख रुपैयाँको दाबी परेको छ। बाढीपहिरोका कारण जलविद्युत् आयोजना, निजी आवास लगायत संरचनामा क्षति पुगेको थियो।

इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमातर्फ १ अर्ब ८४ करोड रुपैयाँ दाबी परेको छ। निर्माणाधीन जलविद्युत् आयोजनाको इन्स्योरेन्स इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमाअन्तर्गत र निर्माण सम्पन्न भएका आयोजनाको इन्स्योरेन्स सम्पत्ति बीमा लेखअन्तर्गत हुन्छ।

बाढीपहिरोका कारण दुई दर्जनभन्दा बढी जलविद्युत् आयोजनामा क्षति पुगेको थियो। क्षति पुगेका अधिकांश आयोजना निर्माणाधीन हुन्। निर्माण सम्पन्न भइसकेर संचालनमा रहेका आयोजनाको विद्युत् उत्पादन प्राकृतिक विपत्तिले पुर्‍याएको क्षतिका कारण अहिले बन्द छ।

प्राधिकरणका अनुसार निजी मोटर बीमाबापत २३ करोड ७२ लाख रुपैयाँ दाबी परेको छ। यस्तै सार्वजनिक सवारीमा पुगेको क्षतिबापत १६ करोड ९४ लाख रुपैयाँको दाबी परेको छ।

सामुद्रिक बीमाअन्तर्गत २ करोड २० लाख, कृषि बीमाबापत १ करोड ११ लाख, पशुपन्छी बीमाबापत १ करोड र अन्य ५४ लाख ८५ हजार रुपैयाँ दाबी परेको प्राधिकरणले जनाएको छ।

बीमकले इन्स्योरेन्स कम्पनीमा गरेको यो रकम अग्रिम दाबी हो। इन्स्योरेन्स सर्भेयरले क्षति अध्ययन गरेर प्रतिवेदन पेस गरेपछि बीमितले प्राप्त गर्ने दाबी रकम यकिन हुन्छ।

सर्भे प्रतिवेदनकै आधारमा कम्पनीहरुले दाबी भुक्तानी गर्छन्। प्रभु इन्स्योरेन्सका सीइओ सञ्चित बज्राचार्य इन्स्योरेन्सको दाबी भुक्तानी सर्भेपछि मात्रै यकिन हुने बताउँछन्।

‘अहिले नै क्षतिको भुक्तानी कति गर्नुपर्छ भन्ने यकिन हुँदैन। सर्भे भएपछि कम्पनीलाई पर्ने दायित्व र त्यसले अरु वित्तीय अवस्थामा पार्ने असर थाहा हुन्छ,’ उनले भने।

बाढीपहिरोका कारण घर तथा सम्पत्तिमा पुगेको क्षतिको दाबी अझै आइरहेको बीमकहरु बताउँछन्। बाढीपहिरोका कारण सार्वजनिक र निजी गरी कति सम्पत्तिमा क्षति पुग्यो भन्ने विवरण सरकारले अझै संकलन गरिसकेको छैन।

बीमा गराएकाहरुले मात्रै सम्पत्ति, कृषि तथा पशुपन्छी, सामुद्रिक बीमाको दाबी भुक्तानी पाउँछन्। मोटर र इन्जिनियरिङ इन्स्योरेन्स अनिवार्य भएकाले क्षति बेहोरेका सबैले दाबी पाउँछन्।

दुई दिनको बाढीपहिरोले पुर्‍याएको क्षतिपछि इन्स्योरेन्स कम्पनीमा परेको दाबी रकम उनीहरुको दुई महिनाको व्यवसायभन्दा धेरै हो। चालु आर्थिक वर्ष भदौसम्म निर्जीवन बीमा कम्पनीले ७ अर्ब ८५ करोड रुपैयाँ बराबरको व्यवसाय गरेका छन्।

कम्पनीको दुई महिनाको प्रिमियमभन्दा धेरै दाबीको दायित्व आएपछि वित्तीय विवरणमा नै असर पर्ने देखिएको छ। यस वर्षको पहिलो त्रैमासको वित्तीय विवरण भने आउन बाँकी छ।

आइजीआई प्रुडेन्सियलका सीइओ योगेशभक्त वादे श्रेष्ठ ठूलो दाबी पर्ने कम्पनीको वित्तीय विवरणमा असर पर्ने बताउँछन्।

‘सधै ठूलो दाबी आउँदैन। कहिलेकाहीं आउने भएकाले इन्स्योरेन्सले कभर गर्न सक्छन्। तर, धेरै दाबी भुक्तानी गर्नुपर्ने कम्पनीको वित्तीय विवरणमा भने असर पर्ने देखिन्छ,’ उनले भने, ‘अहिलेकै दाबीमा पनि अन्डर स्टिमेट हुन सक्छ वा यो भन्दा बढी पनि पर्न सक्छ। त्यसैले वासलातमा कस्तो प्रभाव पर्छ भन्नका लागि सर्भे कुर्नुपर्ने हुन्छ।’