
काठमाडौं । बर्खा मौसमका कारण बन्द गरिएको हट एयर बेलुनको उडान सेवा पुनः संचालनमा आएको छ।
पोखरा स्थित बेलुन नेपालले संचालन गर्दै आएको यो साहासिक खेलको संचालन विदेशी क्याप्टेनले गर्नेछन्। स्पेनका क्लेटो र बेलायतका हार्भे एलेक्जेन्डरले गर्ने उडान गर्ने जनाइएको छ।
हाल दुईवटा बेलुनमार्फत सेवा दिँदै आएको कम्पनीले करिब ९ हजार फिट माथिको उडान गराउँदै आएको छ। हट एयर बेलुनबाट पर्यटकले माछापुच्छ्रे, अन्नपूर्ण लगायत हिमाल,फेवाताल, पुम्दिकोट महादेव, सराङकोट मान्द्रेढुंगाबाट उड्ने प्याराग्लाइडिङ तथा पोखरा उपत्यका आसपासको सुन्दर दृश्यावलोकन गर्न सकिने सञ्चालक विक्रम बाडेले बताए।
‘पछिल्लो समय साहसिक पर्यटनका पारखीहरूको रोजाइमा यो खेल पर्दै आएको छ,’ अध्यक्ष बाडेले भने,’अहिले हामीले पोखराको पामेबाट उडान हुँदै आएको हट एयर बेलुन बिहान र बेलुका गरि दुई सिफ्टमा संचालन ल्याइरहेका छौं।’
उनका अनुसार बिहान ५ बजेदेखि ९ बजेसम्म र दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म यो सेवा संचालनमा छ।
कम्पनीले ९एन-एएमडब्लु कलसाइनको बेलुनमा पाइलट बाहेक ८ जना र ९ एनभी कलसाइनको बेलुनमा पाइलट बाहेक एकपटकमा १२ जना यात्रुलाई उडान गर्दै आएको उनले बताए।
कम्पनीले आउँदो क्रिसमस र अंग्रेजी नयाँ वर्ष सन् २०२५ लाई लक्षित गर्दै डिसेम्बर २४ देखि जनवरी १ सम्म पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव पनि आयोजना गर्दैछ।
हट एअर बलुनमा उड्नका लागि नेपाली पर्यटकलाई ११ हजार रुपैयाँ शुल्क लाग्नेछ। यस्तै, सार्क मुलुकका पर्यटकका लागि १२० डलर र अन्य मुलुककालाई १५० डलर शुल्क कायम गरिएको छ ।