१७ अर्ब अनुदानमा भारतले पेट्रोलियम पाइपलाइन बनाइदिने, दुई देशबीच सम्झौता

शुक्र गिरी
२०८१ असोज १७ गते १३:०७ | Oct 3, 2024
१७ अर्ब अनुदानमा भारतले पेट्रोलियम पाइपलाइन बनाइदिने, दुई देशबीच सम्झौता

काठमाडौं। नेपालमा १७ अर्ब रुपैयाँ अनुदानमा भारतले पेट्रोलियम पाइपलाइन बनाइदिने भएको छ। भारतले सिलिगुडीदेखि झापाको चारआली र अमलेखगञ्जदेखि लोथरसम्म पेट्रोलियम पाइपलाइन बनाइदिने भएको हो।

GBIME
Tata

यस सम्बन्धमा बिहीबार नेपाल आयल निगम (एनओसी) र इन्डियन आयल कर्पोरेसन (आईओसी)बीच सम्झौता भएको छ। एनओसीका तर्फबाट प्रबन्ध निर्देशक चण्डिका भट्ट र आईओसीका तर्फबाट पाइपलाइन आयोजनाका निर्देशक सेन्थल केआर एनले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसहितको टोलीले केही समय अगाडि आईओसीका अध्यक्षलाई भेटेर सम्झौताको विषय टुंगो लगाएको थियो। दुई देशको जोइन्ट वर्किङ ग्रुप (जेडब्लुजी)को नयाँ दिल्लीमा बिहीबार भएको बैठकमा सम्झौता भएको हो।

पाइपलाइन परियोजना अगाडि बढाउन ‘बिजनेस टु बिजनेस’ पत्रमा हस्ताक्षर गरिएको स्रोतले जनाएको छ। सम्झौताका क्रममा भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयका सचिव पंकज जेन र आईओसीका अध्यक्ष भी सतिश कुमार पनि उपस्थित थिए।

सिलिगुडीदेखि झापाको चारआलीसम्मको पाइपलाइन ५० किलोमिटर लामो हुनेछ। भारततर्फ ३५ र नेपालतर्फ १५ किलोमिटर हुने एनओसीका अधिकारीहरुले बताएका छन्। यस्तै अमलेखगञ्जदेखि लोथरसम्म ६२ किलोमिटर पाइपलाइन बनाइने भएको हो। अब सम्झौता अनुसार पाइपलाइन निर्माण प्रक्रिया अगाडि बढ्ने छ।

सम्झौताअनुसार भारतले चारआलीमा स्मार्ट ग्रिनफिल्ड टर्मिनल पनि बनाइदिने छ। स्मार्ट ग्रिनफिल्ड टर्मिनल १८ हजार ९०० किलोलिटर क्षमताको हुनेछ। स्रोतका अनुसार लोथरमा आईओसीले निर्माण गरिदिने स्मार्ट ग्रिनफिल्ड टर्मिनलको खर्च भने एनओसीले बेहोर्नुपर्नेछ। यो टर्मिनल ९१ हजार ९०० किलोलिटर क्षमताको हुनेछ।

एक वर्षअघि नै भएको थियो जीटुजी सम्झौता

२०८० जेठ १८ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो चरणको पाइपलाइन विस्तार गर्ने गरी सहमतिपत्रमा हस्ताक्षर गरेका थिए। त्यतिखेर नै दुईवटा पेट्रोलियम पाइपलाइन र एउटा टर्मिनल बनाउने सम्झौता भएको थियो। त्यतिखेर भारतले अनुदानमा बनाउने/नबनाउने टुंगो लागेको थिएन।

सन् २०२० मा आईओसी र एनओसीले संयुक्तरूपमा गरेको अध्ययनअनुसार अमलेखगन्ज-लोथर पेट्रोलियम पाइपलाइनको निर्माण लागत करिब ४ अर्ब ३८ करोड रूपैयाँ छ।

यस्तै, सिलिगुडी-चारआली पेट्रोलियम पाइपलाइन निर्माणको लागत ४ अर्ब ६० करोड रूपैयाँ र चारआलीमा ग्रिनफिल्ड टर्मिनल निर्माण गर्न करिब ८ अर्ब ३ करोड रूपैयाँ खर्च हुनेछ।

भारतले यसअघि २०७६ मा पहिलो चरणमा मोतिहारीदेखि अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन बनाइदिएको थियो।