
काभ्रे । पनौतीको मल्पी इन्टरनेश्नल स्कूलको अघिको खेल मैदानमा बालबालिकाहरु बिहीबारसम्म फुटबल खेलिरहेका थिए। वरिपरिका खेतमा धान फलिरहेको थियो। तर, शुक्रबारदेखिको अविरल वर्षाले त्यो मैदानमात्रै बगाएन वरिपरिका खेत नै कटान गर्यो। किनारका घर टहरासमेत बगायो।
अविरल वर्षासँगै रोशी खोला उर्लिँदा पनौतीको पुरानो बस्तीसम्म त्यसको असर देखिएको छ। ‘यस्तो बाढी त कहिलै देखिएको छैन,’ पनौतीबाट खोपासी जाने पुलमा पानीको बहाव मिलाउन तल्लिन स्थानीय भन्दै थिए।
त्यही पुल क्षेत्रसम्म रोशी खोलाले कटान गरेको छ। अहिले पनि पुग्दा खोलाको बहाव उच्च छ। पुरानो बस्तीभन्दा माथिल्लो भेगमा रोशीको बहावले धेरै क्षेत्रमा क्षति पुर्याएको छ।

पनौतीमा रोशी खोलाको किनारमा कहिँ घर ढलेका छन् त कहिँ खेत कटान भएको छ। फेरि ठूलो पानी परे बाँकी रहेको जग्गा पनि लग्ने हो कि भन्ने भय स्थानीयमा छ। घर भित्र पसेको लेदो निकाल्ने क्रम अझै जारी छ।
काठमाडौंबाट नजिकै रहेको पनौती नगरपालिकाको प्रभावित ठाउँ सुगम भेगमा नै छ। तर, आइतबारसम्म यहाँ पीडितका लागि राहत पुगेको छैन। धेरै स्थान अहिलेसम्म अन्धकारमा छ। फोन नलाग्ने र इन्टरनेट नचल्ने समस्या छ। क्षतिग्रस्त क्षेत्र हेर्न पुग्ने स्थानीयको संख्या बढ्दो छ।


शुक्रबार र शनिबारको अविरल वर्षाले पनौतीको मल्पी इन्टरनेश्नल स्कूल माथिको जंगलबाट ठाउँ ठाउँमा पहिरो खस्यो। त्यही पहिरोले मल्पी ड्याम पुरियो। माथिबाट बग्दै आएको रोशी खोलाले निकास खोज्यो। त्यही समयमा समथर भूभाग कटान गर्दै अघि बढ्यो। पानीको बहाव उच्च नै रहँदा अहिले मल्पीका स्थानीय आउने दिनहरुको अवस्था सोच्दै चिन्तित छन्।
‘यस्तो बाढी त कहिलै गएको थिएन। ३८ सालमा आएको थियो बाढी तर यस्तो क्षति भएको थिएन,’ लौरो टेक्दै मल्पी ड्याम पुगेका ७६ वर्षीय मीनबहादुर थापाले भने, ‘पहिरोले ड्याम नथुनिएको भए यति क्षति हुन्न थियो जस्तो लाग्छ।’



खोपासीमा विद्युत लग्न बनाइएको मल्पी ड्याममा पनि क्षति पुगेको छ। पनौती वडा ८ मा रहेको मल्पीमा पक्की घरहरु ढलेका छन्। केही रिसोर्टहरुमा क्षति पुगेको छ। क्षतिको आकंलन गर्न कठिन रहेको स्थानीय बताउँछन्।
ठूलो आवाजमा अहिले पनि पानी बगिरहँदा नदी किनारहरुमा टिपरहरु असरल्ल क्षतविक्षत् अवस्थामा छन्। कयौं टिपरहरु खोलामै तैरिरहेका छन्। केही विभिन्न ठाउँमा अड्किएका छन्। डोजर लगाएर ती टिपरहरु निकाल्ने प्रयास जारी छ।

मल्पीभन्दा मुनि रहेको सुकुम्बासी बस्तीसम्म टिपरहरु बगाएर लगेको छ। सुकुम्बासी बस्ती डुबानमा पर्दा कयौं कच्ची घरहरु चर्किएका छन्।
सुकुम्बासी बस्तीका मानिसहरु आइतबार आफ्ना सामान जोहो लगाउन व्यस्त थिए। बालबालिकाहरु क्षतिग्रस्त स्थलमै खेलिरहेका थिए। बस्तीमा राहत र उद्धारका लागि कोही पुगेको थिएन।



यस्तै, मल्पीभन्दा माथि कलाँतीमा आइतबार बिजमाण्डूको टोली पुग्दा नेपाली सेनाको टोली उद्धारकार्यमा खटिरहेको थियो। बाढीले क्षति पुर्याएको पुलमा डोरी बाँधेर पारी रहेका मानिसलाई उद्धार भइरहेको थियो। कलाँती पारि वडा १२ मा रोशीमा आएको बाढीले घर पुरिँदा मृत्यु भएको शव निकाल्न सेना व्यस्त थियो।
कलाँती र मल्पीमा माथिल्लो जंगलबाट यसपटक पहिरो खसेकोले मुनीको बस्तीमा धेरै क्षति भएको स्थानीय बताउँछन्।
राजधानीकै नजिक भएर पनि उद्धारमा दिलाइ भएको गुनासो स्थानीयको थियो।



बाढीले कलाँतीमा केही महिना अगाडीमात्रै राखिएको बिजुलीको पोल सबै बगाएको छ। करिडोर बनाउने भनिएको क्षेत्र कटान गरेको छ। नजिकको घर टहरामा समेत क्षति पुगेको छ। भौतिक र मानवीय क्षतिको यकिन अहिलेसम्म हुन सकेको छैन।
स्थानीय रमेश कार्कीले भने ‘माथि धेरै खानीहरु भए। त्यसकारण पनि अहिले धेरै क्षति भयो। खोला सानो गरियो अहिले खोलाले बाटो खोज्दै आयो।’
स्थानीयका अनुसार पनौतीभन्दा माथि रोशी गाउँपलिकामा थप क्षति भएको छ। तर, त्यहाँको अवस्थाबारे अझै जानकारी आएको छैन।


‘राहत भोलिबाट मात्रै‘
राजधानीबाट निकै नजिक भए पनि पनौतीले अहिलेसम्म कुनै सहयोग पाएको छैन। त्यसमाथि विद्युत र इन्टरनेट नहुँदा स्थानीयहरु थप मर्कामा छन्।
‘फोन पनि लागेको छैन। कहिलेकाँही टिप्छ। फेरि लाग्दैन। के कसो भएको हो केही थाहा छैन,’ कार्कीले भने। मल्पी र कलाँतीबाट माथि रोशी जाने बाटो ठाउँ ठाउँमा चिरा परेका छन्। कतिपय सडक नै भत्किएको छ। यस्तै, भित्र्याउन तयार पारेको धान नै बिगारिदिएको छ बाढीले। तरकारीहरू पनि नष्ट भएका छन्।



पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी पनि नगरका धेरै क्षेत्रमा विद्युत नभएको स्वीकार्छन्।
भन्छन्, ‘विद्युत प्राधिकरणले आज दिउँसोसम्म आउँछ भनेको। आएको छैन। मेरो गाउँमा पनि बत्ती छैन। फोन पनि अब केही समय चल्छ होला। फोन पनि लागेको छैन।’

उनका अनुसार आइतबारबाटमात्रै उद्धारकार्य सुरु भएको छ। ११ जनाको शव विभिन्न स्थानबाट निकालिएको छ। अझै बेपत्ताहरुको खोजी भइरहेको छ।
‘हाल बाढी पहिरो पीडितहरुलाई नजिकैको विद्यालयहरुमा राखिएको छ। राहत र खाद्यान्न अब भोलिबाट वितरण गर्नुपर्छ,’ उनले भने। स्थानीय भने पनौतीमा राज्यको नजर नपुगेको बताउँछन्। स्थानीय सरकारप्रति पनि उनीहरूको रोष थियो।
यता भण्डारी भने खानी संचालन हुँदैमा मात्रै बढी क्षति भएको स्वीकार्दैनन्। भन्छन्, ‘खानी भएकोले अलि बढी क्षति भएको हो भन्ने अनुमान छ। खानी नभएको वडामा समेत क्षति भएको छ। यसबारेमा अध्ययन नै गर्नुपर्छ।’
नगरपालिकाले विज्ञप्ति निकालेर राहत र सहयोगका लागि आह्वान भने गरिसकेको छ।



रोशीको बाढीले पनौतीमा कति क्षति पुर्यायो त्यो यकिन हुन सकेको छैन। तर, पहिला जसरी नै नदी किनारको अवस्था ब्युताउँन भने धेरै समय लाग्ने देखिएको छ। पुरानो बस्तीसम्म बाढी के कारणले आयो भन्ने मानिसहरुमा कौतूहल्ता छ।
तर, काठमाडौं नजिकैको यो भेगको अवस्था त दयनीय रहँदा दूरदराजको अवस्था कस्तो होला यो अनुमान मात्रै लगाउन सकिन्छ।