
काठमाडौं। दसैं तिहारको बिदा उपयोग गर्दै विदेश घुमघाम गर्ने नेपालीको संख्या बढेको छ। अघिल्लो वर्षका तुलनामा यसपटक हवाई भाडा वृद्धि भए पनि चाडबाडको बिदामा विदेश घुम्न चाहनेहरु घटेका छैनन्।
आउट बाउण्ड टुर सञ्चालन गर्दै आएका विभिन्न ट्राभल एजेन्सीले यो वर्ष विदेश भ्रमणका लागि बुकिङ गर्नेको संख्या २० देखि २५ प्रतिशतले वृद्धि भएको जनाएका छन्।
ट्राभल व्यवसायीका अनुसार हवाई भाडादर वृद्धि भएकाले यतिखेर अधिकांश गन्तव्यका टुर प्याकेज पोहोरभन्दा दोब्बर महँगो छ। विदेश भ्रमणमा जाने अधिकांश नेपालीले आफ्नो समय र बजेटअनुसार कस्टमाइज प्याकेज रोज्ने गरेका छन्।

रुप्से होलिडेजका प्रबन्ध निर्देशक राजन पराजुली भन्छन् ‘यो वर्ष विदेश भ्रमणमा जाने नेपालीको संख्या २५ प्रतिशतले वृद्धि भएको छ।’ चाडबाडको बिदा सुरु हुनु एक महिनाअघि नै एक हजारभन्दा बढी नेपालीले विभिन्न गन्तव्यका लागि प्याकेज खरिद गरिसकेको उनले जानकारी दिए।
उनका अनुसार यतिखेर भियतनाम, इन्डोनेसियाको बाली, यूएईको दुबई, फिलिपिन्स लगायत गन्तव्य भ्रमणका लागि प्याकेजको माग उल्लेख्य छ। ‘नेपालीको घुम्ने चलन बढ्यो, चाडबाडको बिदा घर बसेर होइन विदेश घुमेर रमाइलो गर्ने बढे,’ उनले भने, ‘दसैं तिहारको बिदामा घुमघाम गर्न चाहनेहरूको इन्क्वायरी र बुकिङ गर्न थालेको एक महिना भयो।’
नेपालीले अवधि र बजेटलाई ध्यानमा राखेर प्याकेज खरिद गर्दै आएका छन्। पराजुलीका अनुसार हाल काठमाडौं-बाली-सिंगापुर ६ रात ७ दिनको प्याकेजलाई १ लाख ५० हजार रुपैयाँ पर्छ। यो प्याकेजअन्तर्गत पर्यटकले दुईतर्फी हवाई टिकट, खानपिन र बास पाउँछन्।

रुप्से होलिडेजले भियतनाम र दुबई भ्रमण प्याकेजको मूल्य १ लाख १० हजार रुपैयाँ तोकेको छ। फिलिपिन्स र सिंगापुरका लागि १ लाख ५० हजार रुपैयाँको प्याकेज छ। पराजुलीले ६ रात ७ दिनको चीन भ्रमण प्याकेजको मूल्य १ लाख ५० हजार रुपैयाँ रहेको जानकारी दिए।
जेनिथ ट्राभलले चाडबाडको बिदा विदेश घुमेर मनाउनेहरू २० प्रतिशतले वृद्धि भएको जनाएको छ। कम्पनीका प्रबन्धक दीपक मैनालीले विशेषगरी माल्दिभ्स र श्रीलंका भ्रमणको प्याकेजको माग उल्लेख्य रहेको जानकारी दिए।
‘अहिले माल्दिभ्स गएर दुई रात र श्रीलंकामा तीन रात बिताउने प्याकेजको माग उच्च छ,’ उनले भने, ‘यी दुई गन्तव्य बीचको हवाई दूरी नै १ घण्टा भएका कारण एकैपटकमा दुई देश भ्रमण गर्न प्याकेजको माग बढेको हो।’
उनका अनुसार यी दुई गन्तव्यका लागि दुईतर्फी हवाई टिकट मात्र १ लाख १५ हजार रुपैयाँ पर्छ। जेनिथ ट्राभलले दुवै गन्तव्यको भ्रमण प्याकेज १ लाख ९० हजार रुपैयाँमा बिक्री गरिरहेको छ।
सी लिंक्सका संचालक राजु ढकालले चाडबाडमा एसियाली मुलुक घुम्ने प्याकेजको माग रहेको बताए। ‘घुम्न जाने बढेकै हुन्,’ उनले भने, ‘यो वर्ष घुम्न जान चाहनेमध्ये अधिकांशले एसियाली मुलुकको प्याकेज लिएका छन्।’
उनका अनुसार सिंगापुर, मलेसिया, दुबई, थाइल्याण्ड, भियतनाम, इण्डोनेसिया, चीन लगायत गन्तव्यका प्याकेजको माग धेरै छ। ‘हवाई भाडादर बढेकाले टुर प्याकेज महँगो भएको छ। दुईतर्फी हवाई भाडादर, तीन तारे होटलको बास, भिसा शुल्क लगायत समावेश गर्दा ४ रात ५ दिनको प्याकेजको न्यूनतम १ लाख ३० हजार रुपैयाँ निर्धारण गरेका छौं,’ उनले भने।

सी लिंक्सले सिंगापुर र मलेसियाको प्याकेज १ लाख ६० हजार रुपैयाँमा बिक्री गरिरहेको छ। यो कम्पनीबाट यसपटक २०० जनाभन्दा बढी नेपालीले विभिन्न गन्तव्यमा जान बुकिङ गरिसकेका छन्।
मुनसन ट्राभलका संचालक एवं नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का निवर्तमान अध्यक्ष रमेश थापा चाडबाडको लामो बिदामा विदेश घुम्न जानेको संख्या बढेकाले आफूहरूले सकेसम्म सस्तो प्याकेज ल्याइरहेको बताए।
‘नेपालीको मागलाई ध्यानमा राखेर हामी कस्टमाइज प्याकेज बेच्छौं, थोरै खर्चमा घुमघामको धेरै मज्जा लिन पाइने प्याकेजमा नेपाली आकर्षित छन्,’ उनले भने, ‘अहिले आउटबाउण्डका लागि श्रीलंका जान खोज्ने धेरै छन्।’

उनका अनुसार श्रीलंकासँगै दुबई, इण्डोनेसिया र सिंगापुरको प्याकेज लिनेको संख्या बढेको छ। मुनसन ट्राभलले थाइल्याण्डको ४ रात ५ दिन, फुकेटको ७ रात ८ दिन, बैंकक-मलेसिया-सिंगापुरको ९ रात १० दिन, श्रीलंका-मालदिभ्सको प्याकेज बिक्री गरिरहेको छ।
कम्पनीले बैंकक भ्रमणको प्याकेज ८० हजार रुपैयाँमा बिक्री गरिरहेको थापाले जानकारी दिए। ‘दसैंअघि भन्दा पनि दसैं र तिहारको बीचमा घुम्न जाने प्याकेज धेरै बिक्री हुन्छ,’ उनले भने।
कुन गन्तव्यमा कति छ प्याकेज दर?
गन्तव्य | प्याकेज मूल्य रुपैयाँमा (प्रति व्यक्ति) | अवधि |
बैंकक | ८०,०००-१,३०,००० | ५ दिन |
माल्दिभ्स | २,००००० | ५ दिन |
मलेसिया | १,३०,००० | ५ दिन |
इण्डोनेसिया | १,७५,००० | ५ दिन |
दुबई | १,३०,००० | ५ दिन |
बाली-सिंगापुर | १,५०,००० | ७ दिन |
भियतनाम | १,१०,००० | ६ दिन |
फिलिफिन्स | १,५०,००० | ६ दिन |
सिंगापुर | १,५०,००० | ६ दिन |
चीन | १,५०,००० | ७ दिन |
श्रीलंका-माल्दिभ्स | १,९०,००० | ७ दिन |
मलेसिया-सिंगापुर | १,८०,००० | ८ दिन |