बैंकर्स संघको उपाध्यक्ष बन्न कसैले रुची देखाएनन्, अध्यक्षमा रत्नराज र ज्ञानेन्द्रमध्ये को?



सुदर्शन सापकोटा/बिजमाण्डू
२०७४ मंसिर १४ गते ११:४५ | Nov 30, 2017

Tata
GBIME
Nepal Life

काठमाडौं। सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालको बैंकर्स संघ सदस्यमा दुई कार्यकाल पुरा भएपछि उनको ठाउँमा एनसिसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश अर्यालको मात्र उमेद्वारी परेको छ। बिहीबारको साधारणसभाले उनलाई निर्विरोध निर्वाचित गर्ने छ।

 
सदस्यका लागि एक जनाकै मात्र भए पनि दावी पर्यो, तर रिक्त रहेको उपाध्यक्षका लागि कोही पनि जान इच्छुक देखिएका छैनन्। किशोर महर्जनले सिभिल बैंक छाडेसँगै उपाध्यक्ष पद रिक्त छ। रिक्त पदका लागि अस्तिसम्म उमेद्वारी दर्ता गर्ने समय थियो।
 
उपाध्यक्षमा उमेद्वारी नपर्नुलाई केही 'सिनियर बैंकरले' संघप्रतिको आकर्षण क्षयीकरण भएको रुपमा बुझेका छन्। उनीहरुका अनुसार, संघमा गएपछि एक खालको 'डिरेक्सन' लिनु पर्ने हुन्छ, तर यहाँ पदमा बस्ने तर संघको गरिमा बढ्ने खालको कुनै काम नगर्ने प्रवृत्ति हावी भयो।
 
नेपाल राष्ट्र बैंकको नेतृत्व कमजोर भएको अवस्थामा संघले आफ्नो भूमिका बढाएर बैंकिङलाई मर्यादित बनाउने काम गर्नु पर्थ्यो,' एक बैंकरले भने, 'तर राष्ट्र बैंकको कमजोर नेतृत्वको पिछलग्गु बन्ने काम मात्र संघका पदाधिकारीले गरे।' संघमा बसेर एउटा निर्णय गर्ने तर बाहिर निस्केर आफैंले पालना नगर्ने सम्मको प्रवृत्ति देखिएको ती बैंकरको भनाइ छ।
  
उपाध्यक्षमा आकर्षण नदेखिए पनि अध्यक्ष पदका लागि भने रडाको सुरु भइसकेको छ। अध्यक्षका रुपमा मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहको अझै एक बर्ष कार्यकाल बाँकी छ। तर उनी पुस २ गते मेगा छाडेर १५ दिनको फरकमा पुस १७ गते सेञ्चुरी कमर्सियल बैंक जाँदैछन्।
 
संघको विधान अनुसार, कुनै पनि पदमा निर्वाचित व्यक्ति सम्बन्धित बैंकको प्रतिनिधीको रुपमा रहन्छन्। अर्को बैंकमा गएको खण्डमा पद त्याग्नु पर्ने हुन्छ। अहिलेका अध्यक्ष अनिल शाह मेगा बैंकको तर्फबाट छानिएका हुन्। उनी पुस १७ गतेबाट सेञ्चुरी बैंक जाने भएकाले अध्यक्ष पद पनि खाली हुनेछ।
 

विधान अनुसार, अहिलेका एक मात्र उपाध्यक्ष एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गाना संघको कार्यवाहक अध्यक्ष हुने छन्। उनले एक महिनाभित्र विशेष साधारणसभा डाकेर अध्यक्षको निर्वाचन गराउनु पर्छ। विशेष साधारणसभाले छान्ने अध्यक्ष बाँकी कार्यकाल अर्थात एक बर्षका लागि मात्र हुन्छ।
 
आगामी अध्यक्षका लागि उपाध्यक्ष ढुङ्गानाको स्वभाविक दावी छ। रिक्त रहेको उपाध्यक्षमा अहिले रत्नराज बज्राचार्यलाई ल्याएर ढुङ्गानापछि अध्यक्ष बनाउने बारे पनि बैंकरबीच छलफल सुरु भइसकेको छ। 
 
शाहले भने आफूलाई बाँकी एक बर्षका लागि निर्वाचित गर्न अनौपचारिक पहल सुरु गरिरहेको बैंकरहरु बताउँछन्। तर 'सिनियर बैंकर' हरु भने संघ विधान अनुसार चल्नु पर्ने बताउँछन्।
 
'विधान अनुसार चलेमा कसैलाई पनि समस्या हुँदैन' पूर्वअध्यक्ष राजनसिंह भण्डारीले भने, 'संघको गरिमा पनि जोगिन्छ।'
 
रत्नराजलाई उपाध्यक्षमा ल्याउने प्रयास अन्तिमसम्म गरिने संघका कार्यसमिति सदस्यहरुले बताए। रत्नराजलाई मनाउन नसके भुवन दाहाललाई उपाध्यक्ष ल्याउन पहल हुने छ। दाहालले पनि संघमा बस्न अनिच्छ्या देखाएका छन्। दाहाल पनि नआए कृषि विकास बैकका प्रमुख कार्यकारी अधिकृत तथा संघका कार्यसमिति सदस्य लीलाप्रकाश सिटौलालाई आग्रह गरेर उपाध्यक्ष बनाइने योजना बैंकरहरुको छ।
 
उपाध्यक्ष मोटामोटी टुङ्गो लागेपछि अध्यक्षमा एक महिनापछि ढुङ्गानालाई निर्वाचित गर्ने बैंकरको योजना छ। रत्नराज अहिले नै उपाध्यक्ष बसेमा ढुङ्गानाको एक बर्षे कार्यकालपछि उनलाई दुई बर्षका लागि अध्यक्षमा छान्न सकिने बैंकरहरु बताउँछन्। 'उहाँ सिनियर बैंकर पनि हो र पुरानो कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष भएर पनि काम गरिसक्नु भएको छ' एक बैंकरले भने, 'माघमा हुने निर्वाचनमा उहाँको ढुङ्गानाबीरुद्ध उमेद्वारी पनि पर्न सक्छ।'
 
पछिल्लो समय शशिन जोशी र अशोक राणाबीच प्रतिस्पर्धा हुँदा राम्रो सन्देश नगएपछि बैंकरहरुले सहमतिमा अध्यक्ष छान्ने चलन चलाएका छन्। 'सकभर एक बर्षका लागि ढुङ्गानालाई अध्यक्ष मानेर अर्को बर्ष रत्नराजलाई अध्यक्ष बनाउन पहल हुन्छ,' एक बैंकरले भने।
 
संभावित निर्वाचनलाई टार्न ढुङ्गानालाई मनाएर एक बर्षका लागि रत्नराजलाई अध्यक्ष बनाउने बारेमा पनि सोच्न सकिने बैंकरहरु बताउँछन्। तर सकभर वरिष्ठ उपाध्यक्षलाई नै अध्यक्षमा लैजान पहल हुने छ। 'दुबै जना सहमत नभए मात्र निर्वाचन होला' ती बैंकरले भने, 'त्यो बेला नयाँ मान्छे पनि अध्यक्षको दावेदार हुन सक्छ।'
 
अधिकांस बैंकरका अनुसार, अनिल शाह विशेष साधारणसभाबाट पुनः अध्यक्ष चुनिने सम्भावना निक्कै कम छ। 'उनले आफ्नो केही काम अपुरो रहने र त्यसलाई पुरा गर्न एक बर्ष समय मागे भने छलफल होला' ती बैंकरले भने, 'तर त्यो सम्भावना पनि निक्कै कम छ।'