
काठमाडौं। बर्दियाको बुरान वाइल्डरनेस क्याम्प विश्वप्रसिद्ध टाइम म्यागजिनको १०० अद्भूत गन्तव्यको सूचीमा छनोट भएको छ। बुरान क्याम्पलाई टाइम म्यागजिनले विश्वभर यस वर्षको १०० घुम्न र बस्नका लागि अद्भूत गन्तव्यको सूचीमा समावेश गरेको हो।
संसारभरिका १०० महत्त्वपूर्ण होटल, रेस्टुरेन्ट, क्रुज, म्युजियम, पार्कलगायतको सूचीमा बुरान क्याम्प पनि छनोट भएको हो। यसका लागि टाइमले विश्वभरि रहेका आफ्ना संवाददाता र सहयोगीहरुको मद्दतले छानेको थियो।
बुरान वाइल्डरनेस क्याम्प बर्दियाको खाता वन्यजन्तु कोरिडोरको एक महत्वपूर्ण भागमा अवस्थित छ। यो वातावरण संरक्षणकर्मीहरूको प्रयासबाट सञ्चालन भइरहेको छ। यस क्षेत्रमा एकसिङे गैँडा, दुर्लभ पाटे बाघ (बङ्गाल टाइगर), एसियाली जंगली हात्ती र ब्ल्याक आइबिस, रुड्डी सेल्डक, नाइटजार, फिशिङ ओल जस्ता धेरै चरासहित केही प्रमुख वन्यजन्तु प्रजातिहरू पाइन्छ।
कुनै प्रकारको पर्यावरणीय ‘पदचिह्न नछोड्ने’ संस्थापकहरुको सिद्धान्तका आधारमा न्यूनतम अस्थायी संरचनाहरु मात्रै बुरानमा निर्माण गरिएको छ। पाहुना आउँदा मात्र हाम्रो बस्नका लागि पाल सेट गरिने र अन्य अवसरमा यो जंगली मैदान रहिरहने बुरानले जनाएको छ। वन्यजन्तु र स्थानीय समुदायहरूका लागि महत्वपूर्ण भूमिको दिगो संरक्षणमा योगदान दिँदै वन्यजन्तु प्रेमीहरूले यस क्षेत्रमा आफ्नो समयको सदुपयोग गर्न सक्ने गरी तयार गरिएको छ।

संरक्षणविद् मनोज गौतम र उनकी दिदी प्रभा गौतमले वास्तविक रुपमा पुनर्प्रयोगमुखी संरक्षणलाई बढावा दिन यसको स्थापना गरेका हुन्। यसले स्थानीय जनतालाई बढीभन्दा बढी लाभ हुनुका साथै स्थानीय प्रकृति र संस्कृतिलाई संरक्षण गर्न पनि मद्दत गर्छ।
गत वर्ष बुरानले ५ सयभन्दा बढी पाहुनालाई स्वागत गरेको थियो। स्थानीय होमस्टे र रेस्टुरेन्टहरुलाई बुरानले सघाएको भन्दै स्थानीय युवाहरूलाई उद्धार र गाइडहरूसम्बन्धी तालिम र रोजगारी समेत दिँदै आएको छ।
बुरानकी प्रबन्ध निर्देशक दक्षिणा खड्काले नेपालको प्रडक्ट विश्वमाझ पुग्दा आफूहरु निकै हर्षित भएको बताएकी छन्। आफूहरुको लामो प्रयास र मेहेनतले छोटो समयमै विश्व माझ बुरानलाई पुर्याउन पाउँदा गर्व महसुस भएको छ।
‘बुरान अकोमोडेसनभन्दा बढी छ। यसले स्थानीयलाई पनि जोड्ने काम गर्छ। बुरानले स्थानीय समुदायलाई सशक्त बनाउँदै वातावरण संरक्षणमार्फत् स्थानीयलाई नै लाभ पुर्याउने काम गर्दै आएको छ,’ खड्काले बिजमाण्डूसँग भनिन्।

यस्तै, नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बुरानले क्वालिटी पर्यटक भित्र्याउन सफल भएको देख्दा नेपालमा लक्जिरी डेस्टिनेसन छैनन् भनेर भन्नू अब गलत हुने प्रतिक्रिया दिएका छन्।
‘पछिल्लोसमय प्रिमियम लक्जरी रिसोर्टहरु एकपछि अर्को गर्दै राम्रो गरिरहेको अवस्था देख्दा नेपाल हाइएन्ड पर्यटक भित्र्याउन सक्षम रहेको पुष्टि भएको छ। नेपाल लक्जरी डेस्टिनेसन हो भन्नेमा शंका छैन। विश्वसँग प्रतिस्पर्धा गर्नुपर्ने समयमा यस्ता प्रयासले नेपालको पर्यटन प्रर्वद्धनमा महत्त्वपूर्ण भूमिका खेल्छ,’ लामिछानेले भने।
बोर्डका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा सन् २०२३ मा ७९०४ पर्यटकले भ्रमण गरेका थिए।