
काठमाडौं। रिलायन्स स्पिनिङ मिल्सलाई महँगो मूल्यमा आइपीओ निष्काशनको अनुमति दिएको विषयमा संसदीय समितिमा प्रश्न उठेको छ।
प्रतिनिधि सभाको अर्थ समितिको सोमबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद दीपक खड्काले प्रश्न उठाएका हुन्। उनले नेपाल धितोपत्र बोर्डले के आधारमा रिलायन्स स्पिनिङ मिल्सलाई महँगो मूल्यमा आइपीओ निष्काशनको अनुमति दिएको हो भनी प्रश्न गरे।
‘अरु कम्पनीको ६ महिनादेखि आइपीओ निष्काशन प्रक्रिया अघि बढ्न सकेको छैन। तर, बोर्डले रिलायन्स स्पिनिङ मिल्सलाई के आधारमा महँगो मूल्यमा आइपीओ निष्काशनको अनुमति दियो?,’ उनले प्रश्न गरे।
बोर्डले यही असार १२ गते रिलायन्स स्पिनिङ मिल्सलाई प्रति कित्ता ८२०.८० रुपैयाँका दरले आइपीओ निष्काशन गर्न अनुमति दिएको थियो। जबकि कम्पनीको वित्तीय अवस्था त्यो मूल्यको औचित्य पुष्टि हुने खालको छैन।
डेडिकेटेड लाइन प्रयोगबापत नेपाल विद्युत प्राधिकरणलाई बुझाउन बाँकी ७५ करोड ३६ लाख ८४ हजार रुपैयाँको हिसाब नदेखाएको कम्पनीको प्रति सेयर आम्दानी पछिल्लो वित्तीय विवरण अनुसार २ रुपैयाँ मात्र छ। उसले बोर्डमा अनुमति माग्ने क्रममा प्रति सेयर आम्दानी ५४ रुपैयाँ भएको विवरण पेस गरेको थियो।