
काठमाडौं । ६ वटा महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि बजेट सार्वजनिक गरेको छ। वीरगंज महानगरले शनिबारलै नगरसभामा बजेट पेस गरेको थियो भने अन्य ५ वटा महानगरले सोमबार बजेट सार्वजनिक गरेको थियो।
६ वटै महानगरको गरेर कूल साढे ५३ अर्बभन्दा बढीको बजेट सार्वजनिक भएको छ। सबैभन्दा बढी बजेट काठमाडौं महानगरले सार्वजनिक गर्दा कम बजेट वीरगंज महानगरको छ।
काठमाडौं महानगरको बजेट २५ अर्ब बढी
आगामी आर्थिक वर्षका लागि काठमाडौं महानगरपालिकाले २५ अर्ब ७० करोड ६३ लाख रुपैयाँको बजेट ल्याएको छ। महानगरको सोमबार बसेको नगर सभाको १५औं अधिवेशनमा उपप्रमुख सुनिता डंगोलले चालु वर्षको भन्दा १ अर्ब ६२ करोड रुपैयाँ बढाएर बजेट प्रस्तुत गरेकी हुन्। प्रस्तावित बजेटमध्ये १९ अर्ब १५ करोड रुपैयाँ महानगरले आन्तरिक स्रोतबाट जुटाउने छ।
महानगरले बजेटमा पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेको छ। पूर्वाधार विकास क्षेत्रका लागि १४ अर्ब ८१ करोड ५१ लाख ५१ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ। यो कुल बजेटको ६१.२० प्रतिशत हो।

यस्तै सामाजिक विकास क्षेत्रका लागि ३ अर्ब ८१ करोड ३६ लाख रुपैयाँ छुट्याइएको छ। यो कुल बजेटको १५.७५ प्रतिशत हो। महानगरले कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रका लागि ३ अर्ब ४९ करोड ४५ लाख रुपैयाँ अर्थात १४.४४ प्रतिशत विनियोजन गरेको छ।
सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि १ अर्ब ८९ करोड २१ लाख रुपैयाँ विनियोजन गरेको महानगरले आर्थिक विकास क्षेत्र अन्तर्गतका कार्यक्रमका लागि १९ करोड ९ लाख रुपैयाँ छुट्याएको छ।
बजेटमा आर्थिक असमानता र गरिबी न्यूनिकरण गर्ने, राष्ट्रिय अर्थतन्त्र निर्माणमा योगदान गर्ने, बढ्दो बेरोजगारी दर न्यूनिकरण गर्न स्वदेशमै सिप तथा तालिम दिने विषय समेटिएका छन्।
महानगरपालिकाले ‘ढलरहित नदी नाला’ थप गरी गौरवका योजना ११ वटा पुर्याएको छ। यसका लागि ३ अर्ब ८० करोड छुट्याइएको छ। ‘कपडा बैंक’, ‘थेमाटिक स्कूल’, ‘पोखरी मर्मत तथा संरक्षण’, ‘फोहरबाट मल’ र ‘महानगर होमस्टे’ थप गरी ३० वटा स्वर्णिम योजना ल्याइएको छ। यसका लागि २ अर्ब बजेट प्रस्ताव गरिएको छ।
ललितपुर महानगरको बजेट ७ अर्ब ४६ करोड
ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि ७ अर्ब ४६ करोड ८३ लाख ९२ हजारको बजेट नगरसभामा पेस गरेको छ।
महानगरको पाँचौं नगरसभाको तेस्रो बैठकमा उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले गत असार ५ गते प्रस्तुत नीति तथा कार्यक्रममा आधारित गरेर बजेट प्रस्तुत गरेकी हुन्।
‘स्रोतको व्यवस्थापनतर्फ सङ्घीय सरकारबाट एक अर्ब ३२ करोड ८० लाख र बागमती प्रदेश सरकारबाट २२ करोड ९२ लाख ९२ हजार प्राप्त हुने अनुमान गरिएको छ। आन्तरिक स्रोतबाट तीन अर्ब ५५ करोड ९६ लाख सङ्कलन हुने अनुमान गरिएको छ,’ वार्षिक बजेटमा उल्लेख गरिएको छ।
शाक्यले संस्थागत सुदृढीकरण र सुशासन, दिगो पूर्वाधार तथा सहरी विकास, कला, संस्कृति, सम्पदा संरक्षण र सम्वद्र्धन, सुलभ आधारभूत स्वास्थ्य सेवा र नगरवासीको जीवनरक्षा, रोजगारमूलक एवं स्तरीय आधारभूत शिक्षालाई प्राथमिकता राखिएको बताइन्।

त्यस्तै लैङ्गिक समानता, महिला सशक्तीकरण तथा सामाजिक समावेशीकरण, वातावरण संरक्षण, स्थानीय सहकारी तथा उद्यम व्यवसायको प्रवर्धन र विकास, पर्यटन क्षेत्रको प्रवर्धन, अपाङ्गतामैत्री व्यवहार र व्यवस्था, युवा तथा खेलकुद, बालमैत्री व्यवहार र व्यवस्था, विपद् जोखिम न्यूनीकरण र उद्धार, रोजगार प्रवर्धन र गरिबी न्यूनीकरणलगायतलाई समेत प्राथमिकतामा राखिएको उनले बताइन्।
महानगरले चालु आर्थिक वर्षका लागि गत वर्ष ६ अर्ब ५० करोड पाँच लाख ८८ हजार बजेट विनियोजन गरेको थियो।
पोखरा महानगरपालिका : ७ अर्ब ५१ करोड
पोखरा महानगरपालिले आर्थिक वर्ष २०८१/८२ का लागि ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार बराबरको बजेट प्रस्ताव गरेको छ। महानगरको १५औँ नगरसभामा उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट प्रस्तुत गरेकी हुन्।
बजेटअन्तर्गत शिक्षा, खेलकुद तथा युवा र प्रज्ञा–प्रतिष्ठानसम्बन्धी कार्यक्रम सञ्चालन गर्न एक अर्ब ६५ करोड, स्वास्थ्यमा ३५ करोड, पर्यटन तथा सहरी विकासका कार्यक्रम सञ्चालनका लागि ५६ करोड, सामाजिक विकासअन्तर्गत लक्षित वर्गतर्फ ६ करोड र संस्थागत विकासका लागि रु दुई करोड विनियोजन गरिएको छ।
पूर्वाधारतर्फ मुस्ताङचोक–सहीदचोक खण्ड, चिप्लेढुङ्गा–सभागृह खण्ड र जिरो–विन्ध्यवासिनी खण्डमा सडक सौन्दर्यकरण तथा फुटपाथ निर्माणका लागि तीन करोड, फेवा फेरो पदमार्ग निर्माणमा ५० लाख र ड्यामसाइट पञ्चासे पर्यटकीय मार्ग विकासका लागि ९० लाख छुट्याइएको छ।
एसियाली विकास बैंकको सहयोगमा सञ्चालन हुने सहरी उत्थानशीलता तथा जीविकोपार्जन सुधार आयोजनाका लागि २६ करोड १६ लाख, पर्यटन लक्षित कार्यक्रम सञ्चालन गर्न एक करोड ५० लाख, फेवातालको उत्तर पश्चिमी खण्डमा बायोइञ्जिनियरिङ अध्ययनका आधारमा माटोको ड्याम निर्माण गरी फेवाताल तथा सिमसार क्षेत्र संरक्षण र फेवाबीच निर्माणको काम सुरुआत गर्न दुई करोड, सिद्वार्थचोक–विन्ध्यवासिनी सडकखण्डमा पर्ने सम्पदा बस्तीको संरक्षण, विकास तथा प्रवर्धनका लागि एक करोड विनियोजन गरिएको उपप्रमुख गुरुङले बताइन्।

पूर्वाधार विकासमा बिपीमार्ग सडक स्तरोन्नतिका लागि आठ करोड र विश्व बैंकको सहयोगमा सञ्चालित तालचोक–बेगनास, शिसुवा–शिसाघाट तथा बिरौटा–दोबिल्ला–बागमारा–कोत्रे सडकका लागि एक अर्ब ६५ करोड विनियोजन गरिएको छ।
शिक्षातर्फ सामुदायिक विद्यालयको व्यवस्थापन र शिक्षाको गुणस्तर सुधार गर्न प्रधानाध्यापकलाई कार्यसम्पादनका आधारमा प्रोत्साहन लागि ८४ लाख र विद्यार्थीको दिवा खाजाका लागि नेपाल सरकारले प्रदान गरेको प्रति विद्यार्थी प्रतिदिन १५ रुपैयाँमा महानगरपालिकाबाट १० थप गरी प्रतिदिन २५ पुर्याउनका लागि चार करोड ३० लाख विनियोजन गरिएको छ।
सामाजिक विकासतर्फ उपप्रमुखसँग महिला कार्यक्रममार्फत विपन्न, एकल एवं लक्षित वर्गका महिलाको उद्ययमशीलता विकासका लागि सञ्चालित चक्रीय कोषमा आधारित उपप्रमुखसँग महिला कार्यक्रमको निरन्तरताका लागि आगामी आर्थिक वर्ष थप एक करोड विनियोजन गरिएको छ भने सहरी गरिबी न्यूनीकरण कार्यक्रमअन्तर्गत लुमन्ती र महानगरपालिकाको साझेदारीमा विपन्न वर्गको आयआर्जन र आवास निर्माणका लागि १५ करोड विनियोजन गरिएको छ।
भरतपुर महानगरपालिका : ६ अर्ब ५५ करोड
भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले आर्थिक वर्ष २०८१/८२ को बजेट पेस गरेका छन्।उपप्रमुखले आर्थिक वर्ष २०८१/८२ को लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रुपैयाँको बजेट पेस गरेका हुन्।
उनले अधुरा र क्रमगत आयोजनाहरुको निरन्तरताका लागि १ अर्ब ६० करोड विनियोजन गरेको बताए। वडास्तरबाट हुने आयोजनाका लागि ८२ करोड विनियोजन गरिएको छ। महानगरपालिकाका ठूला तथा रणनीथिक महत्पका साथै गौरव पूर्वाधार निर्माण गर्न र संघ र प्रदेशबाट प्रस्ताव भएका योजना कार्यान्यवन गर्न समपुरक साझेदारी कोष स्थापना गर्न १२ करोड छुट्याइएको छ।
मेयर विपन्न आवास कार्यक्रमको लागि बजेट विनियोजन गरेको जानकारी दिँदै उनले महानगरभित्र नमुना सडक, व्यायामशाला आदि निर्माणका लागि १४ करोड विनियोजन गरिएको बताए। दियालो बंगला संग्रहालयका रुपमा संचालनमा ल्याउन १ करोड विनियोजन गरिएको छ। सडक मर्मतका लागि ५ करोड ७५ लाख विनियोजन गरिएको छ।

महानगरपालिकामा हरियाली कार्यक्रम र हरित नमूना सडकका लागि ५ करोड र फोहरमैलाको दीर्घकालीन समाधानका लागि पनि ५ करोड विनियोजन गरिएको छ।
रोजगार प्रवर्धन र उद्यमशीलता विकासका लागि महानगरले १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ। संघ र प्रदेश सरकारसँग सहकार्य गर्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि महानगरले ४ करोड ३० लाख रुपैयाँ छुट्याएको छ।
महानगरले छोरी बीमा कार्यक्रम, एक वडा : एक जेष्ठ नागरिक विश्रामस्थल कार्यक्रमका लागि पनि बजेट विनियोजन गरेको अधिकारीले बताए। विपद् व्यवस्थापनका लागि १ करोड ५० लाख छुट्याइएको छ। महानगरभित्र सीसी क्यामरा जडानका लागि ८ करोड विनियोजन गरिएको छ भने महानगरको प्रशासनिक भवन निर्माण र साजसज्जाका लागि ५ करोड छुट्याइएको छ।
विराटनगर महानगरपालिका : ३ अर्ब ४९ करोड
आगामी आर्थिक वर्षका लागि विराटनगर महानगरपालिकाले ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँको बजेट ल्याएको छ। महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले नगरसभाको १४ औं अधिवेशनमा सोमबार बजेट प्रस्तुत गरेकी छन्।
बजेटमा वित्तीय समानीकरण अनुदानबापत संघीय सरकारबाट ३२ करोड ६६ लाख र प्रदेश सरकारबाट २ करोड ४९ लाख, राजस्व बाँडफाँडमध्ये मूल्य अभिवृद्धि करबाट ६ करोड ११ लाख, अन्त:शुल्कबाट ५ करोड ८५ लाख, घर जग्गा रजिष्ट्रेसन दस्तुरबाट ५६ करोड ७९ लाख, सवारी साधन करबाट ३ करोड ८७ लाख र मनोरञ्जन तथा विज्ञापन करबापत १ करोड रुपैयाँ प्राप्त हुने उल्लेख छ।
यस्तै १ अर्ब १० करोड ८६ लाख ८५ हजार आन्तरिक आय हुने महानगरको अनुमान छ। संघीय सरकारबाट ससर्त अनुदान ८० करोड ७७ लाख, विशेष अनुदान ७ करोड ५० लाख, समपूरक अनुदान १ करोड १० लाख, प्रदेश सरकारबाट ससर्त अनुदान ३ करोड ९० लाख र समपूरक अनुदान २ करोड रुपैयाँ प्राप्त हुने बजेटमा उल्लेख छ।
बजेटमा सबैभन्दा बढी सामाजिक विकास क्षेत्रअन्तर्गत शैक्षिक विकास कार्यक्रममा ७८ करोड ७८ लाख रुपैयाँ छुट्याइएको छ। त्यसपछि कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चमा ५९ करोड राखिएको छ। त्यस्तै दायित्व सरेर आएका योजनाको भुक्तानीका लागि ५० करोड, नगरस्तरीय योजना तथा कार्यक्रममा ३५ करोड र वडास्तरीय योजनामा ४३ करोड रुपैयाँ राखिएको छ।

त्यस्तै स्वास्थ्य विकास कार्यक्रमका लागि २० करोड ५७ लाख, सडक, ढल र नालाको निर्माण तथा मर्मत सम्भारका लागि १४ करोड ५० लाख र भारी सवारीसाधन खरिदका लागि २ करोड विनियोजन गरिएको छ।
बजेट वक्तव्यमा रानी र बैजाथपुर गरीमा २४ घण्टे निःशुल्क बर्थिङ सेन्टर स्थापना गर्ने उल्लेख छ। उपप्रमुख कार्कीले महानगरपालिकाका १९ वटै वडास्थित स्वास्थ्य संस्थामा पिसाबबाट गर्भ परीक्षण, गर्भवतीका लागि अल्ट्रासाउन्ड र एनसी प्रोफाइल परीक्षण निःशुल्क गर्ने घोषणा गरिन्।
‘उमेरले ८० भन्दा माथिका ज्येष्ठ नागरिकका लागि घरदैलो निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमलाई विस्तार गरेर ७५ वर्ष पुर्याइनेछ,’ कार्कीले भनिन्।
बजेटमा महानगरपालिकाका ४, ५, ६, ११, १२ र १३ नम्बर वडामा सिँचाइको नहरलाई वाकिङ स्ट्रिट बनाउने कार्यक्रम राखिएको छ। त्यस्तै रेलवे ट्रयाकका कारण डुबानमा परेका १३, १४, १५ र १७ नम्बर वडाको जमिनको पानीलाई आईसीपी रोड हुँदै सिंगिया खोलामा खसाउने कार्यक्रम पनि बजेटमा छ।
वीरगंजको बजेट : दुई अर्ब ८९ करोड
अन्य महानगरले सोमबार बजेट पेस गरे पनि वीरगंज महानगरपालिकाले भने शनिबार नै बजेट पेस गरेको थियो। वीरगंजले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि दुई अर्ब ८९ करोड ४८ लाख १७ हजार बराबरको बजेट सार्वजनिक गरेको छ। महानगर उपप्रमुख इम्तियाज आलमले शनिबार नगरसभाको १५औं अधिवेशसनमा चालु आर्थिक वर्षको भन्दा ६२ करोड रुपैयाँ कम आकारको बजेट सार्वजनिक गरेका थिए।
आगामी आर्थिक वर्षको बजेटमा चालु खर्चतर्फ दुई अर्ब चार करोड ६६ लाख नौ हजार अर्थात् ७०. ७ प्रतिशत, पुँजीगत खर्चतर्फ ८१ करोड १८ लाख आठ हजार अर्थात् २८. १ प्रतिशत बजेट विनियोजन गरिएको छ। साथै वित्तीय व्यवस्थातर्फ तीन करोड ६४ लाख अर्थात् १.२ दुई प्रतिशत विनियोजन गरिएको छ।
आलमले आगामी आर्थिक वर्षमा आन्तरिक राजस्वबाट ७९ करोड ७५ लाख २७ हजार खर्च ब्यहोर्ने बताए। संघीय अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब २७ करोड ९० लाख नौ हजार, संघीय राजस्व बाँडफाँटबाट २६ करोड ८० लाख र प्रदेश अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट पाँच करोड ३५ लाख आठ हजार रकमको स्रोतका रुपमा प्राप्त हुने उनले बताए। त्यसैगरी, प्रदेश राजस्व बाँडफाँटबाट दुई करोड २८ लाख, अन्य स्रोतबाट दुई करोड ४० लाख र नगद मौज्दातबाट १० करोड ब्यहोरिने बजेट वक्तव्यमा उल्लेख छ।
आगामी आर्थिक वर्ष बजेटको प्राथमिकतामा शिक्षा एवं स्वास्थ्य, सरसफाइ व्यवस्थापन एवं वातारण संरक्षणलाई राखिएको छ। साथै बजेटमा पर्यटन एवं कृषिदेखि गुणस्तरीय भौतिक पूर्वाधार र डिजिटलमैत्री सेवा प्रवाहलाई उच्च प्रथामिकतामा राखिएको छ।
आलमले महानगरले आगामी आर्थिक वर्षको बजेटमा स्थानीय कर प्रणालीलाई उत्पादन अभिवृद्धि र सामाजिक न्याय प्रवर्धन गर्नेतर्फ उन्मुख गरिएको बताए।
‘आन्तरिक राजस्वलाई नगरको भरपर्दाे एवं दिगो वित्तीय स्रोतका रुपमा स्थापित गरी वित्तीय आत्मनिर्भरता कायम गर्नु राजस्व नीतिको प्रमुख उद्देश्यका रुपमा लिएको छु। बजेटमा प्रस्तावित वित्तीय तथा राजस्व सुधारका नीतिबाट आन्तरिक राजस्वको कराधार फराकिलो हुने, प्रशासनिक खर्चमा मितव्ययिता कायम भई पुँजीगत खर्चको गुणस्तर एवं प्रभावकारिता बढ्ने अपेक्षा राखेको छु,’ उनले भने।
महानगरले बजेटमा स्थानीय प्रशासन तथा प्रहरीसँगको समन्वयमा नगरका विभिन्न स्थामा सिसिटिभी क्यामरा जडान गर्ने योजना राखेको छ। साथै ऐतिहासिक लालबङ्गला क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको सभाहल निर्माण कार्यको प्रक्रिया अघि बढाइने पनि बजेट वक्तव्यमा उल्लेख छ। महानगरले नक्सापास गर्दा अनिवार्य दुईवटा बिरुवा रोप्ने नीति लागू गर्ने भएको छ।
आगामी आर्थिक वर्षको बजेटमा लक्ष्मणवा पार्कलाई ज्येष्ठ नागरिकमैत्री पार्कका रुपमा विकास गर्ने घोषणा गरिएको छ भने कृषि उत्पादन प्रवद्र्धनका लागि स्वरोजगारी कार्यक्रममार्फत बाँझो रहेको सार्वजनिक जमिन एवं बगरमा कृषक समूह गठन गरी खेती गर्न प्रोत्साहन गर्ने भएको छ। रासायनिक मलप्रतिको आकर्षण एवं निर्भरता पनि कम गर्दै लैजाने र सार्वजनिक पोखरी र सिर्सिया नदीको प्रदूषण न्यूनीकरणलाई पनि बजेटमा समावेश गरेको छ। नगरभित्रका सार्वजनिक जग्गा संरक्षणलाई पनि निरन्तरता दिएको छ।
महानगरभित्र स्थापित उद्योगहरुले आफ्नो श्रमशक्तिको कम्तीमा २५ प्रतिशत रोजगारी महानगरवासीलाई दिएमा त्यस्ता उद्योगको व्यवसाय कर र सम्पत्ति करमा समेत छुट दिने नीति लिइएको छ। संघीय सरकारको सहयोगमा महागरमा औद्योगिक ग्राम स्थापना गर्ने कार्यलाई अघि बढानेछ बजेटमा उल्लेख छ।
महानगरभित्रका मठमन्दिर, विहार र मस्जिदलगायतको संरक्षण र प्रवर्धज गर्ने योजना पनि बजेटमा समावेश छ। महानगरले आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ एवं विकेन्द्रीकृत रुपबाट उपलब्ध गराउने कार्यलाई पनि निरन्तरता दिएको छ। लामखुट्टेमुक्त महानगर अभियानका लागि लामखुट्टेको लार्भा नियन्त्रण, बासस्थान नष्ट गर्ने, औषधि छर्किेने अभियानलाई पनि बजेटमा समावेश गरिएको छ।