
काठमाडौं। पर्यटन र कृषि प्रवर्धनका लागि दोलालघाट महोत्सवको चौथो संस्करण आयोजना हुने भएको छ। शुक्रबारदेखि सुरु हुने महोत्सवमा यस क्षेत्रको वृहत् कृषि प्रदर्शनी हुँदैछ।
काभ्रेको दोलालघाट र भुम्लु गाउँपालिकामा रहेको विभिन्न पर्यटकीय गन्तव्यको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले महोत्सव आयोजनालाई निरन्तरता दिइएको संयोजक अष्टबहादुर श्रेष्ठले बताए।
‘दोलालघाट आफैंमा प्राकृतिक र धार्मिक रुपमा परिचित गन्तव्य हो। यो ठाउँको प्रचारसँगै पर्यटक लक्षित पूर्वाधार विस्तार होस् भन्ने हामी चाहन्छौं,’ उनले भने,’नयाँ वर्षको अवसर पारेर विशेषगरि आन्तरिक पर्यटकलाई लक्षित गर्दै महोत्सव आयोजना तयारी गरिएको छ।’
महोत्सव पाँच दिनसम्म चल्नेछ। गत वर्ष करिब ४० हजार अवलोकनकर्ताको सहभागी भएका थिए। यसपटक अझ बढ्ने प्रक्षेपण रहेको उनले बताए।
‘दोलालघाट तथा भुम्लु गाउँपालिका भित्र रहेका रमणीय स्थानहरुलाई पर्यटकीयस्थल घोषणा गराउनु हाम्रो मूल उद्देश्य हो,’ उनले भने, ‘प्राकृतिक, साँस्कृतिक, कृषि र व्यापार- दोलालघाट पर्यटन प्रवर्द्धन विकासको आधारको मुल नाराको अवधारणा बनाएका छौं।’

महोत्सव अवधिभर पर्यटकले रैथाने परिकारको स्वाद, कृषि प्रदर्शनी, स्वास्थ्य शिविर, धार्मिक स्थल प्रचार, काठे डुंगा सयर, विभिन्न कलाकारको प्रस्तुति लगायत कार्यक्रममा सहभागिता जनाउन सक्ने उनले जानकारी दिए। यसैगरी बालबालिकाका लागि रोटे पिङ, कोलम्बस, मिकी माउस, जम्पिङ, फिरफिरे लगायत खेलको आयोजना गरिने उनले बताए।
नयाँ वर्ष २०८१ को पूर्व सन्ध्यामा निर्माणाधीन बुद्धपार्क र भ्युटावरको अवलोकनका कार्यक्रम राखिएको उनले जानकारी दिए।
महोत्सवको उद्घाटन पर्यटनमन्त्री हितबहादुर तामाङले गर्ने कार्यक्रम छ। पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटा र प्रदेश मन्त्री लक्ष्मण लम्साल पनि सहभागी हुने संयोजक श्रेष्ठले बताए।
महोत्सव दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लब, दोलालघाट उद्योग वाणिज्य संघ, समृद्ध दोलालघाट टोल विकास समिति, दोलालघाट वनदेउ टोल विकास तथा सुधार समितिको सहकार्यमा आयोजना हुन लागेको हो।