
काठमाडौं । मन्त्रीपरिषद् अध्यक्ष खिलराज रेग्मीसंग बुधवार नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले भेट गरेको छ । भेटमा प्रतिनिधीमण्डलले निर्माण व्यवसायसँग सम्बन्धित समस्याका बारेमा रेग्मीको ध्यानाकर्षण गराएको थियो । प्रतिनिधिमण्डले समयमा बजेट नआएको कारण निर्माण व्यवसायमा समस्या देखिएको भन्दै गम्भीर हुन रेग्मीलाई आग्रह गरेको थियो ।
महासंघ अध्यक्ष जयराम लामिछानेले अब आउने आर्थिक वर्ष समयमा बजेट ल्याएर देशलाइ आर्थिक रुपमा निकास दिन अध्यक्ष रेग्मीलाई आग्रह गरे । उनले भने, समयमा बजेट नआएका कारण र सार्वजनिक खरिद ऐनमा भएका असमान व्यवस्थाले साना तथा ठूला निर्माण व्यवसायी धरासायी बन्दै गईरहेका छन् । वर्तमान सरकारले यो विषयलाई समेत मध्यनजर गर्नुप¥यो ।’
नेपाली निर्माण व्यवसायी योग्य भए पनि ठूला निर्माणको काममा बाध्य भएर विदेशीको योग्यताको प्रमाणपत्र निर्माण व्यवसायीहरुले किन्नु परेको भन्दै रेग्मीको ध्यानाकर्षण गराएका थिए । महासंघले नेपाल निर्माण व्यवसायी महासंघ र सरकारबीच २०६६ मंसिर ४ गते भएको सम्झौताका केही बुँदा तत्काल कार्यन्वयन गर्ने व्यवस्था मिलाउन समेत अध्यक्ष रेग्मीलाई आग्रह गरेको थियो ।
४५ बुँदे सम्झौतामा ६० लाखसम्मको काम उपभोक्ताबाट हुदै आएकोले साना निर्माण व्यवसायी मर्कामा परेका हुदाँ उक्त व्यवस्थालाई हटाउन समेत अध्यक्ष लामिछानेले आग्रह गरे । उनले साना निर्माण व्यवसायीलाई विना योग्यता दुई करोडसम्मको काम गर्ने व्यवस्था गर्न अध्यक्षलाई आग्रह गरे ।
महासंघले चालु आर्थिक वर्षका लागि पूर्ण बजेट नआएका कारण बहुवर्षीय योजनालगायत अन्य योजना समेत प्रभावित भएको र संचालित निर्माण कार्यको भुक्तानी नहुनाले व्यवसायी मार्कामा परेको बताए ।
महासंघका निवर्तमान अध्यक्ष यक्षध्वज कार्कीले निर्माण क्षेत्रमा देखिएका विभिन्न चार किसिमको समस्याको तत्काल संबोधन गर्न अध्यक्ष रेग्मीलाई आग्रह गरे । निर्माण व्यवसायीहरुको छलफलको क्रममा अध्यक्ष रेग्मीले सरकार निर्माण व्यवसायीहरुको समस्याप्रति गम्भीर रहेको र अहिले नै सम्पन्न गर्न सक्ने कामहरु तत्काल गर्न सम्बन्धित क्षेत्रलाई निर्देशन दिने बताए । उनले नेपाली निर्माण व्यवसायीलाई समयमा राम्रो काम सम्पन्न हुनेगरी नमुना काम गर्न आग्रह समेत गरे । अध्यक्ष रेग्मीले समय, तोकीएको परिमाण र गुणस्तरीय काम गर्न महासंघलाई नै नीति बनाएर अगाडि बढ्न समेत आग्रह गरे । ‘चुनावी सरकार भएकोले यो सरकारले तत्काल गर्न सक्ने काम गर्दछ यसको लागि निर्माण व्यवसायीको पनि सहयोग जरुरी छ’ उनले भने । प्रधानमन्त्री कार्यलयका सचिव कृष्णहरि बास्कोटाले यसअगाडि निर्माण व्यवसायी महासंघ र सरकारबीच भएको सम्झौता तथा अन्य प्रक्रियाहरु समयमा नै सम्पन गर्नको लागि तदारुपकताको साथ लागि पर्ने बताए ।
भेटका लागि नेपाल निर्माण व्यवसायी महासंघबाट मानार्थ सदस्य जिपछिरिङ्ग लामा(शेर्पा), सल्लाहकारहरु रमेश शर्मा, अमरबहादुर श्रेष्ठ, विष्णुप्रसाद शर्मा, रामप्रसाद मैनाली, अध्यक्ष लामिछाने, निवर्तमान अध्यक्ष यक्षध्वज कार्की, वरिष्ठ उपाध्यक्ष रवि सिंह, उपाध्यक्ष विष्णुभाई श्रेष्ठ, महासचिव शरदकुमार गौचन, उप–महासचिव(नीतिगत) वासुदेब उप्रेती, कोषध्यक्ष रोशन दाहाल र कार्यालय प्रमुख कृष्णबहादुर पोखरेल सहभागी थिए ।