
काठमाडौं। एकैदिन ९/१० अर्ब रुपैयाँको कारोबार हुन थालेको सेयर बजारमा फेरि मन्दी देखिन थालेको छ। कारोबार तीन अर्ब चानचुनमा सीमित हुन थालेको छ।
सूचक अलिकति उँभो लागेपछि बढेको कारोबार फेरि सुस्ताउन थालेको हो।
ठूला रकमको सार्वजनिक निष्कासनमा पैसा गएको छ। त्यहाँ सेयर पर्नेहरुले मूल्य पाउनेबित्तिकै बिक्री गरेर बाहिरिएका छन्। उनीहरु सार्वजनिक निष्कासनमा लगानी गर्ने र दोस्रो बजारलाई बिक्री गर्ने थलोका रुपमा मात्र हेर्ने हुँदा कारोबार माथि पुगेर फेरि झर्ने गरेको हो।
केही साताअघि नेप्से परिसूचक साउनयताकै उच्च विन्दुमा पुग्यो। लामो समय १८०० आसपासमा घुमेको बजार मंसिर २० यता उँभो लाग्न थालेको थियो।
करिब डेढ महिनामा १८३७ बिन्दुबाट बजार एकैचोटि २२१५.५४ बिन्दुमा आइपुग्यो। राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको मौद्रिक नीतिको समीक्षापछि बजारले फड्को मार्न सुरु गरेको थियो।
यस समय परिसूचकले मात्र फड्को मारेन। कारोबार रकमले समेत छलाङ मार्यो। माघ लागेपछि मात्र शुक्रबारसम्म नेप्सेमा ५१ अर्ब ९६ करोड ७७ लाख माथिको कारोबार भएको छ। जसमध्ये माघ ३ गते सबैभन्दा धेरै कारोबार भएको थियो।
त्यस दिन सेयर बजारमा ९ अर्ब ७६ करोड माथिको कारोबार भएको थियो। जुन कारोबार २०७८ भदौ २१ यताकै उच्च हो। माघ ३ मा ९ अर्ब ८२ करोडको कारोबार भएको थियो।
माघ ४ गते ८ अर्ब १७ करोड माथिको कारोबार भएको थियो। सो कारोबारलाई हिमालयन रि-इन्स्योरेन्सको कारोबारले पनि सहयोग गरेको छ। कम्पनीको झन्डै २ अर्बको कारोबार भएको थियो।
यद्यपि बजारको वृद्धि लामो समय टिकेन। माघको पहिलो साता नै बैंकहरुले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणको सिधा असर बजारमा देखियो। नाफा बुकिङका कारण बजारमा करेक्सन देखिन सुरु गरे लगत्तै बैंकहरुको रिपोर्ट सार्वजनिक भएकाले विवरण आएपछि बढिरहेको बजारमा ब्रेक लाग्यो।
अहिले बजारसँगै कारोबार रकम पनि निरन्तर घट्दै गएको छ। केही दिनअघि मात्र अर्बौँको कारोबार भएको कारोबार अहिले पुरानै गतिमा झरेको छ। बजार घट्न सुरु गरेसँगै अहिले बजारमा कारोबार घटेर साढे ३ अर्बको हाराहारीमा आइपुगेको छ।
मिति | परिसूचक | कारोबार रकम (रु.) |
माघ २ | २१७५.१७ | ८,०२३,८६२,४०६.६९ |
माघ ३ | २१६३.०६ | ९,७६८,९६९,८६८.६१ |
माघ ४ | २१५५.८२ | ८,१७४,९८६,२८२.९७ |
माघ ७ | २१३०.१८ | ७,६७७,७४०,०५८.०० |
माघ ८ | २०९८.६९ | ६,३६६,०७०,००३.३५ |
माघ ९ | २०९८.२९ | ४,२९४,५६६,७५१.६६ |
माघ १० | २०८८.०४ | ३,८९७,०२२,५९८.९८ |
माघ ११ | २०८४.०९ | ३,७६४,५०५,४५०.९८ |
कूल कारोबार | ५१,९६७,७२३,४२१.२४ |
भिजन सेक्युरिटिजका अध्यक्ष तथा प्रबन्ध निर्देशक राजकुमार तिमल्सिनाले बीमा कम्पनीहरूले सेयर बजारमा थप ५ प्रतिशत लगानी गर्ने वातावरण भएपछि धेरै पैसा आएको बताए।
‘पुसको अन्तिममा बीमा कम्पनीहरूले सूचीकृत कम्पनीको सेयरमा थप ५ प्रतिशत रकम सेयरमा लगानी गर्न पाउने भएपछि लगानीकर्ता एकदमै उत्साहित भएका थिए। त्यसैले कारोबार पनि बढी देखियो। अहिले पनि कर्पोरेट क्लाइन्टहरुले खरिद बढाइरहेको अवस्था छ। तर बजारमा करेक्सन आउन थालेपछि बजार वियरिस हुन्छ कि भनेर कारोबार कम देखिएको छ। बजार थोरै सुधार हुनेवित्तिकै त्योभन्दा ठूलो पैसा बजारमा आउने सम्भावना छ। साथै अहिले एग्रेसिभ नभइ डिफेन्सिभ भएका कारण पनि भोलुम घटेको हो,’ तिमल्सिनाले भने।
अनलाइन सेक्युरिटिज (ब्रोकर ४९) का अध्यक्ष अनन्तकुमार पौडेलले बजार घट्न थालेपछि लगानीकर्ताको पर्ख र हेर नीतिले कारोबार घटेको बताए।
‘बजार घटन थालेपछि प्रोफिट बुक गरेका लगानीकर्ता एक हिसाबले पर्ख र हेरको अवस्थामा बसेका छन्। साथै पछिल्लो समय हिमालयन रि-इन्स्योरेन्स कम्पनीको आइपीओबाट पनि ठूलो रकम बाहिर गयो,’ अध्यक्ष पौडेलले भने,’आइपीओ बिक्री गरेकाले पब्लिकमा पैसा लगे बजारमा रि-इन्भेष्टमेन्ट भएन। त्यसरी पनि पैसा बाहिरियो। साथै अपर तामाकोशीको हकप्रदमा सक्रिय लगानीकर्ताहरूको १३ अर्ब ६७ करोड माथि रकम होल्ड भएको छ। त्यसको इम्प्याक्ट पनि कारोबारमा देखिन्छ।’
लगानीकर्ता तथा सेयर बजार विश्लेषक सुवासचन्द्र ढुंगानाले माघमा सेयर धितो कर्जामार्फत पैसा आएको बताए। यद्यपि बजारले २२०० को बिन्दु क्रस गरेपछि लगानीकर्ता ‘पर्ख र हेर’को अवस्था आएकाले कारोबार घटेको हुनसक्ने उनले बताए।
‘माघमा बैंकको सेयर कर्जामार्फत जुन पैसा आएको थियो, बजारमा करेक्सन आउँदा त्यो पर्ख र हेरकै अवस्थामा नै रह्यो। मार्केट बढिसकेपछि चाहिँ त्यो कारोबार हुन्छ भनेर अपेक्षा गर्न सकिन्छ,’ ढुंगानाले बिजमाण्डूसँग भने।
जोखिम भार कम भएको क्षेत्रमा बैंक
ब्याजदर घटे पनि सेयर धितो कर्जामा खासै उत्साह नदेखिएको नेपाल बैंकर एसोसिएसनका अध्यक्ष तथा एनएमबि बैंकका सीइओ सुनिल केसीले बताए।
माघमा सबैजसो वाणिज्य बैंकको बेसरेट एकल अंकमा झरेको छ। ब्याजदर क्रमशः घट्दै गए पनि त्यसअनुसार सेयर धितो कर्जा बढ्न नसकेको उनले बताए।
‘ब्याजदर घटेपछि बजारमा जुनखालको उत्साह होला जस्तो थियो, त्यो देखिएन। हुन त यस क्षेत्रको कर्जा जोखिम भार घटाइएको छ। तैपनि बैंक कम रिस्क भएको क्षेत्रमा जस्तो होम लोन लगायतमा आकर्षण होला। हाम्रोबाट पनि केही कर्जा जान खोजेको देखिए पनि समग्रमा लोनको डिमान्ड नै भइसकेको छैन अहिले,’ अध्यक्ष केसीले भने।