आर्थिक मन्दीले आय घटेपछि नोटकै प्रयोगमा कमी, ‘नोटबन्दी’ को हल्लाले घट्यो ठूला नोटको प्रयोग



बिजमाण्डू
२०८० मंसिर २९ गते ०९:०० | Dec 15, 2023
आर्थिक मन्दीले आय घटेपछि नोटकै प्रयोगमा कमी, ‘नोटबन्दी’ को हल्लाले घट्यो ठूला नोटको प्रयोग

काठमाडौं । देशमा चुलिएको आर्थिक मन्दीसँगै बढ्दो बेरोजगारी दर, घट्दो आर्थिक वृद्धिसँगै खुम्चिएको बजार र मागका कारण ठूला दरका नोटको प्रयोग घट्दै गएको छ।

Tata
GBIME
Nepal Life

नेपाल राष्ट्र बैंकका अनुसार पाँच सय र एक हजार दरका नोटहरुको कारोबार क्रमशः घट्दै गएको छ। पछिल्लो तीन वर्षमा यी नोटको प्रयोगमा निरन्तर गिरावट आएको छ। जबकी साना दरका नोटहरु सर्वसाधारणले बोक्न थालेका छन्।

तीन वर्षअघि देशभर चलनचल्तीमा ६ खर्ब ८३ अर्ब ५० करोड रुपैयाँ बराबरका नोट थिए। २०८० असार मसान्तसम्म आइपुग्दा चलनचल्तीमा प्रयोग हुने नोटको संख्या निरन्तर घटेर ६ खर्ब ४० अर्ब ८ करोडमा सीमित भएको छ। 

त्यसयता नोटको प्रयोग केही बढे पनि २०७८ असारको तथ्यांकलाई उछिन्न सकेको छैन। राष्ट्र बैंकका अनुसार मंसिर २५ गतेसम्म देशभर ६ खर्ब ६३ अर्ब ३१ करोड ५९ लाख रुपैयाँ बराबरका नोट चलनचल्तीमा छन्।

मूल्यवृद्धि उच्च दरले माथि जाँदा थोरै सामान किन्न पनि धेरै पैसा खर्च गर्नु पर्छ। यस्तोमा साना दरका नोटको प्रयोग घटेर ठूला दरका नोटहरु प्रयोग हुनुपर्ने हो। तर, मूल्यवृद्धि उच्च भइरहँदा पनि नेपालमा भने साना दरका नोटको प्रयोग बढेर ठूला दरका नोटको घटेको छ। कतिसम्म भने समग्रमा नोटकै प्रयोग पनि घटेर गएको छ।

‘मन्दीले मान्छेको आय घटेको छ। आय नभएपछि मान्छेसँग पैसा नहुने भयो‚’ राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक त्रिलोचन पंगेनीले भने, ‘कमाइ हुँदा न मान्छेले पैसा होल्ड गर्ने हो‚ नभएपछि होल्ड हुँदैन। त्यही भएर ठूला दरका नोट प्रयोगमा कमी आएको हुन सक्छ।’

उनका अनुसार बैंकले बढी ब्याज दिएका कारण कतिपयले पैसा आफूसँग राख्नेभन्दा पनि बैंकमै जम्मा गरेका हुन्छन्।

चलनचल्तीका नोटको सूचीमा राष्ट्र बैंक, वाणिज्य बैंक तथा वित्त कम्पनीसँग भएकालाई गणना गरिँदैन। सर्वसाधारणदेखि सहकारीलगायत अन्य संस्थाहरुसँग भएको पैसालाई मात्र गणना गरिन्छ। 

५०० दरका नोटको २०७८ मा २२.०२ प्रतिशत हिस्सा थियो। यो २०७९ मा आउँदा २१ प्रतिशतमा झर्‍यो भने २०८० मा २०.४१ प्रतिशतमा आएको छ।

यसैगरी १ हजार दरका नोट २०७८ मा ७१.४८ प्रतिशत बजार हिस्सा रहेकोमा २०७९ मा ७०.१० मा झर्‍यो। अहिले २०८० मा ६९.८० प्रतिशतमा झरेको छ।

ठूला दरको नोटको प्रयोग घटिरहँदा ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोटको प्रयोग बढिरहेको छ। राष्ट्र बैंकका अनुसार एक हजार दरका नोट ४ खर्ब ४६ हजार ८० करोड ५६ लाख रुपैयाँको प्रयोग हुँदा एक रुपैयाँ दरको १६ करोड १० लाख रुपैयाँको प्रयोगमा छ।

विज्ञहरुका अनुसार मुख्यत: पाँच कारणले ठूला नोटको प्रयोग घटेर गएको छ। प्रविधिको बढ्दो प्रयोगदेखि बेला बेलामा चल्ने हल्लाका कारण ठूला दरका नोटको प्रयोग घटेर गएको हो।

पहिलो, आर्थिक मन्दी झांगिदा सर्वसाधारणको आय घटेर गयो। राष्ट्र बैंककै तथ्यांकअनुसार ऋण विस्तार रोकियो, सरकारले पनि खर्च गरेन र समग्रमा नगद प्रवाह नै  कम भयो। मन्दीले आय घटेका कारण सर्वसाधारणलाई ठूला नोट देख्नै मुस्किल पर्‍यो।

दोस्रो, बेला बेलामा ठूला दरका नोट सरकारले प्रतिबन्ध लगाउँदैछ भन्ने हल्ला चलिरह्यो। संसदमै पनि केही सांसदहरुले ५०० र १००० दरका नोटमा प्रतिबन्ध लगाउन माग गरे। बीचमा ललिता निवास, नक्कली भुटानी शरणार्थी प्रकरणका मुद्दा उठ्दा भ्रष्टाचारको फाइल सरकारले धमाधम खोल्छ भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भाषण गर्दै हिँडे। त्यसलाई कतिपयले ५०० र १००० दरका नोट प्रतिबन्ध लगाएर धन थुपार्नेहरुलाई बाहिर ल्याउने सरकारले सोचिरहेको छ भन्ने बुझे। 

केही वर्षअघि भारतमा समेत ठूला दरका नोटमा प्रतिबन्ध लगाइएको थियो। नेपालमै अर्थमन्त्रीमा जनार्दन शर्मा आएपछि ठूला दरका नोट प्रतिबन्ध लगाउन सुझाव आएको छ भनेर भाषण गरिदिए। यसले गर्दा हल्लाले बल पायो। त्यही हल्लाले पनि सर्वसाधारणले ५०० र १००० दरका नोटको प्रयोग कम गर्न थाले। 

सहकारीहरु पनि डुब्न थालेकाले बचत भएका मान्छेले त्यहाँबाट पनि पैसा झिकेर बैंकमै राखे। सहकारीबाट बैंकमा पैसा गएपछि त्यसलाई चलनचल्तीको नोटमा गणना गरिँदैन।

तेस्रो, महँगीले आम्दानीमा गिरावट। आम्दानी घटेपछि स्वत: सर्वसाधारणले गर्ने खर्च कम हुँदै गएको छ। त्यसको प्रत्यक्ष असर नोटको प्रयोगमा देखिएको छ।

चौथो, अनलाइन भुक्तानी। तथ्यांकले पनि पछिल्लो तीन वर्ष अनलाइन भुक्तानी निकै बढेर गएको छ। साना-साना पसलदेखि ठूला-ठूला भुक्तानीसम्म अनलाइनमार्फत हुन थालेको छ।

अन्तिम र पाँचौ कारण- कार्डको प्रयोग। अहिले अनलाइनजस्तै कार्डबाट भुक्तानी पनि बढेको छ।