
पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री जीतप्रकाश आलेमगरले जलवायु परिवर्तनले हिमाललाई चोट पुर्याइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
मंगलबार पोखरामा आठौं पर्वतीय महोत्सवको समापन समारोहमा आलेले नेपालले जलवायु परिवर्तनको प्रतिकूलताको असर भोगिरहेको बताए। उनले नेपालको परिचय नै हिमालसँग जोडिएकाले यसलाई बचाएर राख्नुपर्नेमा जोड दिएका थिए।
‘नेपालको मामिलामा यहाँका हिमाल नै हाम्रा सम्पत्ति हुन् यसलाई जोगाइराख्न जरुरी छ। नेपाल विश्वमा चिनिएको पनि यहाँकै पर्वतले हो,’ उनले भने।
गत शुक्रबारदेखि ५ दिनसम्म चलेको महोत्सव मंगलबार समापन भएको हो। महोत्सव १० हजारले अवलोकन गरेको संग्रहालयकी प्रमुख कार्यकारी अधिकृत निर्मला न्यौपानेले जानकारी दिइन्। महोत्सवमा पर्वतीय जनजीवन र आरोहीका डकुमेन्ट्रीदेखि जलवायु परिवर्तनको असरबारे बहस भएको थियो। महोत्सवमा किम्फसँगको सहकार्यमा पाँचै दिन पर्वतारोहण र पर्वतीय जीवनबारे वृत्तचित्रसहित कीर्तिमानी आरोहीको फोटो प्रदर्शनी पनि गरिएको थियो।
महोत्सवकै अवसरमा फरकफरक भूगोलमा एकै प्रकारको हिमाली जनजीवन चिनाउने गरि अस्ट्रियन आमाछोरी डा इरिका र उनकी छोरी इर्मट्रड हुबाचेकले कैद गरेका तस्वीर पनि प्रर्दशनमा राखिएको थियो।