
काठमाडौं। आर्थिक मन्दीले गत आर्थिक वर्ष कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपाल लिमिटेडको नाफामा असर गरेको छ। गत आव बोटलर्स नेपाल तराईको नाफा १६.०२ प्रतिशत घट्दा बालाजुको सामान्य १.२३ प्रतिशत मात्रै बढ्यो।
अमेरिकी डलरको विनिमय दर महँगिनु र ब्याजदर वृद्धिले नाफा प्रभावित भएको कम्पनीले जनाएको छ।
गत आर्थिक वर्ष बोटलर्स तराईले ५७ करोड ३७ लाख र बालाजुले ८८ करोड ६८ लाख रुपैयाँ नाफा कमाएका छन्। कम्पनीको कारोबारमा खासै सुधार नहुँदा नाफा पनि खुम्चिएको हो। जबकि खर्चका शिर्षक भने पोहोरभन्दा बढेका छन्।
तराईले गत वर्ष ९ अर्ब ३२ करोड रुपैयाँको कारोबार गर्यो। तराईको प्रमुख सेयरधनी बालाजुले १२ अर्ब ६७ करोडको व्यवसाय गर्यो। दुवै कम्पनीको उत्पादन र बिक्री लागत बढेको छ।