
काठमाडौं। चर्चित भारतीय गायक अरिजीत सिंह नेपाल आउने भएका छन्। आगामी मंसिर ९ हुने ‘अरिजीत सिंह लाइभ इन नेपाल’मा प्रस्तुतिका लागि उनी नेपाल आउन लागेका हुन्।
गराज इन्टरटेनमेन्ट र एम.एन प्रोडक्सनले आयोजना गर्ने कन्सर्ट काठमाडौंस्थित हायात ग्राउन्डमा हुनेछ। जहाँ अरिजीतले नेपाली फ्यानमाझ आफ्ना चर्चित गीतहरु गाउनेछन्। कार्यक्रममा अरिजितले ३/४ घण्टा प्रस्तुति दिने आयोजकले जनाएको छ।
गराज इन्टरटेनमेन्टका निर्देशक मनीष अधिकारीले नेपालमा अरिजीत सिंहको कन्सर्ट गर्ने सपना भएको बताउँदै कन्सर्टको घोषणा गर्न पाउँदा खुसी लागेको बताए।
‘गराज खुलेदेखि नै अरिजीत सिंहलाई ल्याएर नेपालमा ठूलो इभेन्ट गर्ने हाम्रो सपना थियो। जुन पूरा हुन गइरहेको छ,’ उनले भने।
गराजकै रसिक भट्टराईले दुई वर्ष लगाएर मुम्बई पुगेरै अरिजीतलाई भेटेपछि उनको कार्यक्रम गर्ने पक्का भएको बताए।

आयोजकले १५ हजार दर्शक आउने अपेक्षा गरेको छ। ४ हजारदेखि १५ हजारको टिकट काटेर दर्शकले अरिजीतको लाइभ प्रस्तुति हेर्न पाउनेछन्। श्रावण ३० बाट खल्ती डिजिटल वालेटमा टिकट बिक्री खुल्ला भइसकेको छ।
गराज र एम.एनको कार्यक्रमसँग समावेश हुन पाउँदा खुसी लागेको खल्तीका सीईओ विनय खड्का बताउँछन्।
उनले भने, ‘विगत ७ वर्षदेखि खल्तीले मनोरञ्जन, इभेन्ट कार्यक्रममा सहकार्य गर्दै आइरहेको छ। अरिजीत सिंहलाई नेपाल ल्याउने भनेर ८/९ वटा इभेन्ट अर्गनाइजर हाम्रोमा आउनुभएको थियो। सुरुमा आउने गराज थियो र यसलाई सफल बनाउने उहाँहरु नै बन्नुभयो।’
अरिजीत सिंहको कन्सर्ट ऐतिहासिक हुने एम.एन प्रोडक्सनका निर्देशक निल विक्रम शाहीले दाबी गरे।
अरिजीत सिंहका ‘तुम हि हो’, ‘अगर तुम साथ हो’, ‘कबिरा’, ‘केसरिया तेरा’, ‘झुमे जो पठान’, ‘अपना बनाले’, ‘खैरियत’ लगायतका थुप्रै गीतहरु चर्चित छन्।