महानगरलाई चुपचाप चिटिक्क पार्दै ललितपुरका मेयर चिरिबाबु, कहाँ के काम गरे?

नेत्र तामाङ
२०८० साउन २६ गते १५:३१ | Aug 11, 2023
महानगरलाई चुपचाप चिटिक्क पार्दै ललितपुरका मेयर चिरिबाबु, कहाँ के काम गरे?


ललितपुर। अघिल्लो बिहीबार साँझ ६ बजे जावलाखेल नजिकै रहेको स्टाफ कलेज छेवैमा नातिसँग ‘वाटर बबल’ खेल्दै थिइन् रमा मल्ल। रमाले यो ठाउँ यतिको खुल्ला हुन्छ भन्नेसम्म सोचेकी थिइनन्। ‘पहिले ५२ वटा टहरा थिए। घरै छेक्ने, सडकतिर केही नेदेख्ने। फोहोरको कुरै नगरौं। एकदम डिस्टर्ब थियो,’ उनी भन्दै थिइन्।

Tata
GBIME
NLIC

गणेशमान पार्क रहेको यो क्षेत्र ललितपुर महानगरपालिका-४ मा पर्छ। केही वर्षअघिसम्म यहाँका टहरामा तरकारी किन्न पाइन्थ्यो। चियाखाजा पसल चल्थ्यो। अहिले चिटिक्कको बगैंचा बनेको छ। ‘सडक पेटी फराकिलो भयो। खुल्ला ठाउँ देखियो। यसरी खेल्न पाइन्छ। हरियाली छाएको छ,’ खुसी हुँदै रमाले भनिन्।

गणेशमान पार्क क्षेत्र।

१६ वर्षदेखि यतै बस्न थालेकी रमा महानगरकै कारण यो ठाउँ बस्न लायक भएको बताउँछिन्। ‘महानगरबाटै हो, धेरै राम्रो भएको छ। सरसफाइ गर्ने पनि खटाउँछन्,’ उनी भन्छिन्, ‘यस्तो सफा र हरियाली भएपछि अलि लामो समय बाँचिएला कि।’

सोही दिन दिउँसो ३ बजे गुसिङ्गल पुग्दा भर्खरै खुल्दै थियो साइकल ट्र्याक। एकैछिनमा साइकल कुदाउन आधा दर्जन युवा पसिहाले। उखाडबखाड पिचमा साइकल ढल्काएर कुदाउन थालिहाले।

साइकल ट्र्याक।

‘हरेक दिन ३ बजेबाट खुल्छ। वडाध्यक्ष निर्मल तण्डुकारको प्रयासमा साइकल ट्र्याक बनेको हो। डेटिङ स्पटभन्दा पनि स्पोर्ट्स स्पट बनाउने हाम्रो प्रयास,’ स्थानीय विवेक तण्डुकार भन्दै थिए, ‘साइकल ट्रयाकमा धेरै आकर्षण बढेको छ। बास्केटबल, भलिबल, फुटबल ग्राउन्ड बन्दैछ।’ यो पर्छ महानगर-१ मा। अनि तण्डुकार रहेछन् यस वडामा सल्लाहकार समिति सदस्य।

कुनै समय व्यक्तिले कब्जामा लिएर मकै फलाउने गरेको बागमती नदी किनारमा अहिले आकर्षक जेष्ठ नागरिक पार्क बन्दै छ। नदी किनार सफा भएकोले मानिसहरुको आउजाउ बाक्लिएको छ। पार्किङको व्यवस्था र सफाईका कारण साँझ टहल्न र खेल्नका लागि आउजाउ बढेको तण्डुकारले बताए। ‘पार्किङको राम्रो व्यवस्था छ। यहाँका बासिन्दा पनि सरसफाइमा सचेत छन्,’ उनले भने। आफ्नो क्षेत्र सफा राख्न वडाले कुहिने र नकुहिने फोहोर छुट्याएको छ।

फराकिलो हुँदै पुल्चोक जावलाखेल लगनखेल क्षेत्र

वडा ३ मा पर्ने पुल्चोक क्षेत्रका फुटपाथमा बिहानसाँझ तरकारी पसल हुन्थे। दिनभर बाइक पार्किङ। अहिले ती क्षेत्रमा हरिया मेच राखिएका छन्। मेचमा बटुवादेखि स्थानीय आराम गरिरहेका भेटिन्छन्। ८५ वर्षे सानुकान्छा महर्जन कुर्सी राखेपछि यो क्षेत्र सफा भएको र आराम गर्न मिलेको बताउँछन्। ‘मछिन्द्रनाथको रथ बनाउने ठाउँ हो यो। मोटरसाइकल मात्र राख्थे। नगरपालिकाले कुर्सी राखेर राम्रो भएको छ। अहिले त आराम गर्न सबैलाई सजिलो भएको छ,’ महानगर प्रमुख चिरिबाबु महर्जनको घर छेवैको घर आफ्नो बताउने सानुकान्छाले भने।

पुल्चोक क्षेत्र।

सानोकान्छा चिरिबाबुको कामप्रति भने सन्तुष्ट देखिएनन्। ‘बालेनले जस्तो काम गर्नुपर्छ नि,’ यति सुझाव दिएपछि उनले थप बोल्न मानेनन्। यहींका बासिन्दा कृष्णमान महर्जनले पार्किङ अव्यवस्थित भएको भन्दै असन्तुष्टि पोखे। पार्किङ व्यवस्थित नगरी ठाउँ खाली गराएको उनलाई चित्त बुझेको रहेनछ। ‘यो ठाउँ खाली गरेको ठीक छ। कुर्सी राखेको ठीक छ। तर अहिले गल्लीभित्रसम्म बाइक गयो नि। हाम्रो घरतिर छिर्नै मुस्किल हुनेगरी,’ उनी आक्रोशित सुनिए, ‘पार्किङ पनि व्यवस्थित होस् न।’

पुल्चोक क्षेत्र।

गत बुधवार दिउँसो वडा १३ स्थित एकान्तकुना तिब्बती क्याम्प नजिकैको किराना पसलका सञ्चालक बाबुराजा महर्जन खुसी देखिन्थे। ‘पहिलेपहिले पसलअगाडि हिलो थियो। अहिले महानगरको आदेशमा पुरै बाटोमा ब्लक ओछ्याएको छ। धुलो उड्दैन,’ महर्जनले भने।

काभ्रे कुन्ताबेसीका कुमार श्रेष्ठ ललितपुर बस्न थालेको १६ वर्ष भयो। ‘पहिले ग्वार्को बस्थें। भनिमण्डलमा आएको चार वर्ष पुग्यो। यो ठाउँ त पहिलेभन्दा राम्रो भइसक्यो,’ आफू इनड्राइभ चालक बताउने श्रेष्ठले भने। श्रेष्ठलाई अचेल ललितपुर छाडेर जान मन लाग्दैन।

किन त? ‘यता भिडभाड अलि कम छ। ओपन स्पेस धेरै छ। हरियालीले गर्दा पनि सफा लाग्छ। थापाथलीको पुल क्रस गरेर कुपन्डोल पस्ने वित्तिकै बेग्लै लाग्छ यता,’ श्रेष्ठले भने।

वातावरण र आधारभूत विषय राम्रो भए पनि शिक्षाको क्षेत्रमा भने मेयरले काम गर्न नसकेको उनको बुझाइ छ। ‘महानगरमा चिरिबाबुले राम्रो गरेकोले दोस्रोपटक जिताएको भनेको सुनेको थिएँ। आधारभूत आवश्यकता पूरा भएको देखियो। स्वास्थ्यमा पनि राम्रो छ। तर शिक्षामा राम्रो छैन। सर्वसाधारणका छोराछोरीले पनि पढाउन सक्ने कार्यक्रम मेयरले ल्याउनुपर्‍यो,’ काठमाडौं महानगरका मेयर बालेन्द्र शाहको शिक्षा नीतिको प्रशंसा गर्दै श्रेष्ठले भने।

एकान्तकुना दामोदर मार्गका संगम केसी आफ्नो घर जाने अगाडिको बाटोमा ब्लक राखिएकोमा मक्ख देखिन्थे। बाटो अझ फराकिलो र तार अन्डरग्राउन्ड भए झनै राम्रो हुन्थ्यो भन्ने लागेको छ। वडा १३ का केसी भन्दै थिए, ‘महानगरबाटै सबै वडालाई टायल हालेर राम्रो बनाउन निर्देशन छ। चुपचाप काम गर्नुहुन्छ मेयरले। अब बाटो अलि फराकिलो बनाउने र तार अन्डरग्राउन्ड भयो भने त गजब हुने थियो।’

बिहीबार नै पाटनढोका पुग्दा महानगरको कामको प्रशंसा गरे बाबुराम महर्जनले। धेरै वर्षदेखि किराना पसल चलाउँदै आएका बाबुरामले एक वर्षअघि ढोका छेवैको ठाउँ खुल्ला हुँदा ढुक्कले सास फेर्न पाएको बताए। ‘एक वर्ष जति भयो बेन्च राखेको। मोटर साइकल राखेर अप्ठेरो बनाउँथ्यो। महानगरले बेन्च राखेपछि धेरै सफा भएको छ। सजिलो पनि भएको छ,’ बाबुरामले भने।

पाटनढोका क्षेत्र।

शुक्रबार साँझ ६ बजे लगनखेलको अशोक स्तुप छेवैको खाली जग्गामा अग्लअग्ला फलामे बार लगाइएको रहेछ। बीचको बाटोमा बत्ती फिट हुँदै थियो। यो क्षेत्र पहिले अशोक स्तुपाभित्रै थियो। सेनाबाट जग्गा फिर्ता भएसँगै अहिले सप्तपाताल पोखरोको क्षेत्रमा गाभिएको छ। अशोक स्तुपबाट मालपोततिर जाने बाटो ब्लक ओछ्याएर अहिले चिटिक्क पारिएको छ।

वडा १५ मा पर्छ सप्तपाताल पोखरी। यही ताललाई पुनर्जीवित पार्ने मुद्दा चिरिबाबुले घोषणापत्रमै राखेका छन्। बटुक भैरव अगाडि भेटिएका वडा १२ का केशव भण्डारी भन्दै थिए, ‘ऐतिहासिक सप्तपाताल मीननाथको माछा छाड्ने ठाउँ। मीननाथको मन्दिरबाट सप्तपातालमा माछा छाडेर भोज खाने चलन चलेको थियो राजा अशोकको पालादेखि।’

निर्माणाधीन सप्तपाताल पोखरी।

जग्गा फिर्ता लिएर सप्तपाताल ब्युताउँने काम शुरु भइसकेको छ। ‘बार राख्ने काम भइसक्यो। अब ४ वर्षमा सक्ला कि। मेयरले आफ्नो चुनावी प्रतिबद्धता पूरा गर्छन् जस्तो छ। महानगरमा केही गर्छु नै भनेर अगाडि बढ्नुभएको हो,’ भण्डारीले भने।

लगनखेलको वडा १२ बटुक भैरवस्थानमा पनि कुर्सी राखेर चिटिक्क पारिएकामा दंग छन् भण्डारी। ‘पहिले फुटबल खेल्ने ठाउँ थियो। मालपोत कार्यालय आएपछि यहाँ घर बने। लेखापढी गर्ने ठाउँ बन्यो। यो वरपर बाइक पार्क गर्ने ठाउँ बन्यो। भद्रगोल थियो। अहिले कुर्सी राखेर महानगरले व्यवस्थित बनाएको छ। दर्शनार्थीलाई आराम पनि गर्न पाउने थलो बनेको छ’, उनी भन्छन्।

जावलाखेल क्षेत्र

जावलाखेल चोक त्यस्तै चिटिक्क बनेको छ। केही वर्ष अघिसम्म मछिन्द्रनाथको भोटो देखाउने क्षेत्र उस्तै फोहोर देखिन्थ्यो भने नेपाल बैंक अगाडि त्यसै गञ्जागोल। अहिले महानगरले ढुंगा बिछ्याएर त्यसक्षेत्रलाई चिटिक्क पारेको छ।

जावलाखेल क्षेत्र।

सूचना कक्ष राखिएको छ। यो वडा ४ मा पर्छ। यहाँ मात्र नभएर जेभियर स्कुल अगाडिको पार्किङ क्षेत्रमा पनि आराम गर्ने व्यवस्था मिलाएको वडाध्यक्ष सन्तोष खड्काले बताए। यो क्षेत्र चिटिक्क हुनुमा ट्राफिककोसमेत सहयोग छ। ‘ट्राफिक प्रहरीले गाडी समातेर साइडमा राख्ने र बटुवा अलपत्र पर्ने काम हुन्थ्यो। त्यसलाई समन्वय गरेर फुटपाथ फराकिलो पारिएको छ भने गाडी पार्किङ जुको पछाडि सारिएको  छ,’ वडाध्यक्ष खड्काले भने।

वडा ४ का वडाध्यक्ष सन्तोष खड्का।

उनले जावलाखेल चोक अझ फराकिलो पार्ने तयारी रहेको सुनाए। ‘खाली जग्गाहरु पार्किङ थिए। अब म्युजिएम बनाउँदैछौं। जावलाखेलको चोक अझ ठूलो हुँदैछ। अर्को पार्क बनाएर। डीपीआर गरेर चेन्ज गर्दैछौं,’ वडाध्यक्ष खड्काले भने।

बिहीबार वडा १४ स्थित नखीपोट पुग्दा जंगबहादुर सुनुवार नाखीपोट युवा क्लबमा ब्याटमिन्टन खेलिरहेका थिए। वडा १४ क्षेत्र ब्रिटिस र सिंगापुरे लाहुरे बस्न थालेदेखि नै व्यवस्थित हो। ‘नखीपोट क्षेत्रमा २७ वर्ष भयो बस्न थालेको। यहाँ ब्रिटिस र सिंगापुरे लाहुरेकै कारण बाटो व्यवस्थित भयो। ६०/४० को बाटो र टोल सुधार समितिका कारण यो क्षेत्र राम्रो भयो,’ सुनुवारले भने।

नखीपोट युवा क्लब स्पोर्ट्स हल।

वडाकै सहयोगमा बनेको युवा क्लबको भवनमा राष्ट्रिय अन्तर्राष्ट्रिय ब्याटमिन्टन खेल र बास्केटबल खेल हुन्छ। खेल हुँदा पार्किङको केही समस्या हुने गरेको छ।

पछि थपिएका वडाको अवस्था

ललितपुर पहिले उपमहानगर थियो। महानगर हुँदै गर्दा धापाखेल, सुनाकोठी र हरिसिद्धि गाविस थपिए। यी क्षेत्रमा भने विकासको गति सुस्त रहेको स्थानीय बताउँछन्। वडा २७ का सचिव सनतकुमार थापा सुनाकोठीबासी हुन्। उनका अनुसार यस क्षेत्रमा पर्ने नक्खु खोलामा महानगरले बुङमती सुनाकोठी जोड्ने पुल बनाउँदैछ।

निर्माणाधीन बुङमती सुनाकोठी जोड्ने पुल।

केही तयारीबाहेक पुलमा कुनै प्रगति भएको छैन। हालै सुनाकोठी स्वास्थ्य चौकीबाट नक्खु खोला जाने बाटो पिच भएको छ। यस क्षेत्रमा खानेपानीको समस्या उस्तै रहेको थापा बताउँछन्। उनी भन्छन्, ‘महानगरले काम थालेको छ। यद्यपि खानेपानीको समस्या छ। हप्तामा एक दिन मात्र आउँछ।’ महानगरमा थपिएको सुनाकोठी २६ र २७ वडा बन्यो। दुवै वडामा भित्री सडक ठीकैका छन्।

सुनाकोठी स्वास्थ्य चौकीबाट नक्खु खोला पुग्ने सडक।

वडा २७ की गंगा कार्की आफ्नै बारीमा घाँस काट्दै थिइन्। चौतारोकी कार्की भन्दै थिइन्, ‘महानगरले सीप विकास र रोजगारीका कार्यक्रम ल्याइदिए छोराछोरी देशमै अडिन्थे।’ पढिसकेपछि विदेश जाने चलन रोक्न मेयरले कार्यक्रम ल्याउन सक्नुपर्ने उनको भनाइ छ। सुनाकोठीको चौतारो क्षेत्रबाट बुङमती क्षेत्रसम्म खेतका फाँटमा हरिया धान लहलह देखिन्छ। फाँटमा किसान अहिले धान गोड्न व्यस्त छन्। आफ्नो ठाउँ महानगरमा गाभिएपछि कर बढेकामा भने कार्कीले चिन्ता प्रकट गरिन्।

सुनाकोठी क्षेत्र।

धापाखेलको जेम्स स्कुलदेखि गोदावरीको ठेचोसम्म पुग्ने बाटो भने सुधार हुन सकेको छैन। वडा २३ र २४ धापाखेल क्षेत्रमा पर्छन्। यो क्षेत्रमा पानी र सडकको समस्या रहेको नागदहका एक स्थानीयले बताए। ‘महानगरको थर्ड क्लास विकास यहीं छ। न वडाले केही गरेको छ, न त महानगरले,’ नाम नबताउने सर्तमा ती स्थानीयले आक्रोश पोखे। वडा २३ र २४ मा वडाध्यक्ष एमालेले जितेको हो। ‘वडाध्यक्षले महानगरको नेतृत्वसँगको समन्वयमा काम नगरेर धापाखेललाई दुर्गम नै बनाए,’ ती युवाले भने।

नि:शुल्क पार्किङले सडक व्यवस्थित

नगर प्रहरी प्रमुख सीताराम हछेथुका अनुसार महानगरका अधिकांश क्षेत्रमा कुनै पनि सवारीसाधनलाई पार्किङ शुल्क लाग्दैन। ‘महानगरले जनताबाट विभिन्न शीर्षकमा कर लिन्छ। अनि महानगरले चाहिं पार्किङ पनि नि:शुल्क नसक्ने हो भने जनतालाई स्थानीय सरकारको के मतलव?’ हाछेथु प्रश्न गर्छन्।

यसो भन्दैमा जथाभावी पार्किङ गर्न नहुने उनको भनाई छ।’हामीले फराकिला तर चाप नहुने सडकमा एकतर्फी पार्किङ राखेको छौं। अर्को तर्फ पार्किङ गर्न दिंदैनौं,’ उनले भने। साइकल लेन, जेब्रा क्रस, लेन अनुशासन पालनामा कडाइले सडक सुरक्षित भइरहेको हाछेथुको दाबी छ। सडक सफा राख्नका लागि माटो हिंलो खसाल्ने ट्रिपरलाई नगर प्रहरीले कारबाही गर्ने गरेको छ।

कसरी चुस्त ललितपुर? चिरिबाबुलाई प्रश्न

मेयर महर्जनका अनुसार उनको अघिल्लो कार्यकालको कामको प्रतिफल अहिले देखिन थालेको हो। ‘नगरमा हामीले पहिले नै वृक्षरोपण गरेका थियौं। अहिले ती बढेका छन्। हामीले त्यसका लागि चाहिने आधारभूत पूर्वाधार राखेका छौं। तीन वटा ब्रुमर छन्। जनशक्ति छ। सडक सफा गर्न र पखाल्न ट्याङ्कर पनि राखेका छौं,’ उनले भने, ‘दिउँसो आउनुभयो भने सफा र हरियाली देख्नुहुन्छ। रात्रिकालीन अवस्थामा आउनुभयो भने सफा, हरियाली र स्मार्ट स्ट्रिट लाइटले सहर उज्यालो देख्नुहुन्छ।’

पुल्चोक क्षेत्र।

उनी सार्वजनिक जग्गा खाली गर्ने र ती स्थानमा आराम गर्ने चौतारी बनाउँदा सहरको सौन्दर्यकरण झनै बढेको बताउँछन्। ‘सार्वजनिक, पर्ति र सरकारी जग्गामा हामीले हरियाली बढाउने नीति लिएका छौं। अहिले ५० ठाउँमा यस्तो गरेका छौं। बस्ने व्यवस्था छ। जेष्ठ नागरिक बस्न सक्नुहुन्छ। बालबालिकालाई खेल्न मिल्ने व्यवस्था छ,’ मेयर महर्जन भन्छन्, ‘अहिले ललितपुरको जुनसुकै विन्दुबाट प्रवेश गर्नुस्। हरियाली देख्नुहुन्छ।’

महानगरको कार्यालय आसपास।

महानगरमा मर्ज भएका क्षेत्रको विकासमा पहिलो कार्यकालमा केन्द्रित हुन नपाएकाले अब ध्यान दिने महर्जनको चुनावी प्रतिबद्धता थियो। ‘हिजोका गाविस प्रायजसो चक्रपथ बाहिरका छन्। चक्रपथबाहिर त्यति विकास भइसकेको छैन। काम गर्न थुप्रै व्यवस्थापन गर्न बाँकी छन्। खोकना, बुङमती, हरिसिद्धि, धापाखेलजस्ता पछि थपिएका वडामा चाहिं थुप्रै काम बाँकी छ,’ दोस्रो कार्यकालको निर्वाचनअघि महर्जनले बिजमाण्डूसँग भनेका थिए।

कुमारीपाटी क्षेत्र।

धापाखेल क्षेत्रमा विकासको कामै नभएको स्थानीयको गुनासोबारे मेयर महर्जनको जवाफ छ, ‘धापाखेल ठेचो लगायत ठाउँ विकासमा अलि पछि परेका छन्। अब हामी बढीभन्दा बढी बजेट दिएर त्यहाँको विकासमा लाग्छौं।’

एकान्तकुना चक्रपथ सडक

खुल्ला स्थानमा पार्किङ हटाउँदा गल्लीहरु अस्तव्यस्त भए भनी स्थानीय असन्तुष्ट भएको बारे उनी जानकार रहेछन्। ‘ पहिले वडाले शुल्क लिएर पार्किङ राख्थ्यौं। तर अब कुनै पनि वडाले सशुल्क पार्किङ राख्न पाइँदैन भनेर बन्द गरेका छौं। यसले गर्दा कतिपयले सवारीसाधन गल्लीगल्ली हुँदै लाँदा रहेछन्। स्थानीयलाई भने आफ्नो घरमा पस्नै गाह्रो हुने। विपदका बेला झन गाह्रो हुने। यसलाई के गर्ने भन्ने विषयमा विचार गर्नुपर्ने अवस्था छ,’ महर्जनले भने, ‘ठाउँ सानो भएकोले पार्किङ गर्ने क्षमता भएन। यसलाई व्यवस्थापन गर्न हामीले होमवर्क गरिरहेका छौं।’