
काठमाडौं। असार ७ गते, उनको विवाहको दिन। मनिला क्षेत्री सबेरै शृंगारका लागि बानेश्वरको मेकअप विथ बिनिशा स्टुडियो पुगिन्। बिहान साढे ४ बजे पुगेकी उनको मेकअप करिब ९ बजेतिर सकियो।
विवाहअघि मेहन्दीको दिन र पछि रिसेप्सन पार्टीको दिनका लागि समेत उनले सोही मेकअप स्टुडियोबाट नै श्रृंगार गराइन्। सबै प्याकेजको उनले लगभग ३० हजार रुपैयाँ शूल्क बुझाइन्। विवाह र पार्टीका लागि शृंगार घरैमा गर्ने चलन पुरानो भयो।
शृंगारका लागि पार्लर र स्टुडियोहरुमा जाने चलन सामान्य बन्दै जाँदा खर्च गर्न नडराउने पुस्ता बढेका छन्। यसले शृंगारको काम गर्नेलाई रोजगारीको बाटो खुला गरेको त छ नै, सौन्दर्य प्रसाधनको बजार पनि बढाएको छ।
‘जीवनमा एक पटक गर्ने विवाहमा कुनै कुरामा पनि कम्प्रमाइज गरिनँ। विवाहको लागि मेकअप अर्टिस्ट र स्टुडियो बुझ्दै गर्दा यहाँको मेकअप मलाइ राम्रो लाग्यो,’ मनिलाले भनिन्, ‘अनि विवाहको एक महिनाअघि नै बुकिङ गराइहालेँ। मेरो अपेक्षा अनुसार नै मेकअप राम्रो भयो।’
पछिल्लो समय शहरी क्षेत्रमा बेहुलीको शृंगार (ब्राइडल मेकअप)को व्यवसाय फस्टाएको छ। काठमाडौं उपत्यका मात्रै नभइ मुलुकका प्रमुख शहर हुँदै ग्रामीण क्षेत्रसम्म यो चलन विस्तारका क्रममा छ। १० वर्ष अघिका र हिजोआजको बेहुलीले लगाउने पहिरन र शृंगारमा धेरै फरक आइसकेको छ।
अहिले मनिलाले जस्तै बेहुलीहरुले शृंगारकै लागि १० हजारदेखि ३० हजारभन्दा बढी पनि रकम तिरिरहेका छन्। सिंगारिन दुलहीहरुले पार्लर खोज्ने चलन बढेसँगै व्यवसाय शहरमा मात्र सीमित रहेन। मेकअप आर्टिस्टहरुसँगै मेकअप गराउने चलन ग्रामीण क्षेत्रसम्म विस्तार भएको छ।
अहिले स्टुडियो गएरै मेकअप गराउनेदेखि मेकअप आर्टिस्टलाई घरमा नै बोलाएर शृंगार गराउनेसम्मको सुविधा छ।
ब्राइडल मेकअपका लागि चर्चित दरबारमार्गस्थित मेकअप विद रज्जुमा विवाहको सिजनमा भ्याइनभ्याइ नै हुने गरेको छ।स्टुडियो म्यानेजर आलिया खतिवडा भन्छिन्, ‘विवाहको सिजनमा धेरै भीड हुन्छ।’ यहाँ मास्टर आर्टिस्ट, सिनियर र जुनियर आर्टिस्ट गरेर १६ जना कर्मचारी छन्।
प्याकेजमा प्रदान गरिने सुविधा र आर्टिस्ट हेरेर यस मेकअप स्टुडियोले २० हजारदेखि २५ हजार माथिसम्मको ‘चार्ज’ गर्छ। त्यस्तै, बेहुलीको साथी र परिवारको सदस्यलाई गरिने मेकअपको लागि प्रतिव्यक्ति ५ हजारदेखि १० हजार लिइन्छ। सन् २०१७ मा सुरु भएको यो स्टुडियोले विवाहको लगनका दिन एकजना मास्टर आर्टिस्टका लागि १० जनासम्मलाई सिंगार्ने समय लिने गरेका छन्।
खतिवडा भन्छिन्, ‘विवाहको दिन त स्टुडियो बिहान ३ बजेदेखि खोल्नुपर्ने हुन्छ। बिहानैबाट मेकअप सुरु हुन्छ। मास्टर आर्टिस्टबाट मेकअप गराउन स्टुडियोमा नै आउनुपर्ने हुन्छ भने सिनियर आर्टिस्टले होम सर्भिस नै दिने गरेका छन्।’
ब्राइडल प्याकेज अन्तर्गत मास्टर आर्टिस्टसँग गर्ने मेकअप लक्जरी प्याकेज हुन्छ जसमा प्री-ब्राइडल सर्भिस पर्छ। त्यसमा मेकअपसहित फेसियल, थ्रेडिङ, अपरलिप थ्रेडिङ, नेल एक्सटेनसन, जेल वर्क र हेयर एक्सेसरिस आउँछ। प्रिमियम प्याकेजमा भने यसै सुविधामा नेल एक्सटेन्सन र हेयर एक्सेसरिस नहुने आलिया बताउँछिन्।
अहिले ब्राइडल मेकअपको माग र सँगै मेकअप आर्टिस्टको संख्यामा उल्लेखनीय रूपले बढेको कस्मो ब्यूटी एण्ड मेकअप स्टुडियोको संचालक नेहा श्रेष्ठले बताइन्। पाँच वर्षदेखि यो क्षेत्रमा रहेकी उनले हेर्दाहेर्दै स्टुडियोमा गरिने शृंगार दुलही हुनेका लागि अनिवार्य जस्तो बन्दै आएको महसुस गरेकी छन्।
‘पहिला भन्दा अहिले मेकअपको माग धेरै नै छ। ब्राइडलको मात्रै हेर्ने हो भने पनि सिजनको बेला भ्याइनभ्याइ नै हुन्छ,’ उनी भन्छिन्, ‘अहिले नै मंसिर र फागुनको बुकिङ भइसक्यो। कति त क्यान्सिल नै गर्नु परेको छ। काठमाडौं बाहिरबाट पनि उत्तिकै माग छ।’

‘पहिला भन्दा अहिले मेकअपको लागि माग धेरै नै छ। ब्राइडलको मात्रै हेर्ने हो भने पनि सिजनको बेला भ्याइनभ्याइ नै हुन्छ। अहिले नै मंसिर र फागुनको बुकिङ भइसक्यो। कति त क्यान्सिल नै गर्नु परेको छ। काठमाडौं बाहिरबाट पनि उत्तिकै माग छ।’
नेहा श्रेष्ठ
संचालक, कस्मो ब्यूटी एण्ड मेकअप स्टुडियो

एक दिनमा पाँच जना बेहुलीसम्म तयार पारेको उनले बताइन्। स्कूलको कार्यक्रम जस्ता सानो इभेन्टमा पनि उनीहरुले मेकअप सेवा दिइरहेका छन्। ब्राइडल मेकअपको लागि उनले १२ हजारदेखि १५ हजारसम्म शुल्क लिने पनि बताइन्। विवाहको सिजनमा एकदेखि दुई लाखसम्म कमाइ हुने उनी बताउँछिन्।
आर्टिस्टअनुसार शुल्क
शृंगारको शुल्क मेकअप आर्टिस्टअनुसार फरक-फरक पर्छ। हरेक स्तरका आर्टिस्टहरू छन्। भर्खर-भर्खर सिकेकाहरुले ८ हजार र १० हजारमा पनि गर्छन्। नाम चलेको मेकअप स्टुडियोले एउटी बेहुलीको शृंगार गरेको ३५ हजारसम्म पनि लिने गरेका छन्।
नेहाले भनिन्, ‘हामीले गुणस्तरीय सामान मात्रै प्रयोग गर्छौं। क्लाइन्टहरुले पनि काम हरेर नै पैसा तिर्नुहुन्छ।’
त्यस्तै, अर्की मेकअप आर्टिस्ट लसता रंजितकार गत जनवरीसम्म एउटा अफिसमा राम्रै जागिर गर्दै फुर्सद निकालेर मेकअप आर्टिस्टको काम पनि स्वतन्त्ररूपमा गर्दै थिइन्। सन् २०१८ मा भारतबाट मेकअप आर्टिस्ट्रीमा ‘मास्टर क्लास’ लिएकी उनले ब्राइडल मेकअपको बुकिङ एकदमै धेरै भएर जागिर छोडिन्। अब उनी पुरै समय यही पेसालाई दिइरहेकी छन्।
उनले भारतबाट फर्केपछि विभिन्न संस्थाहरुसँग आबद्ध भएर देशका विभिन्न ठाउँमा पुगेर मेकअपसम्बन्धी तालिम पनि दिएकी छन्। उनले अनुभव सुनाइन्, ‘बर्दिया गएर नगरपालिकासँग तालिम दिँदा त्यति सानो ठाउँमा पनि धेरै ब्युटिसियनहरु हुनुहुन्थ्यो। यसको मतलब त्यहाँ पनि मेकअपको उत्तिकै माग छ।’
बेहुलीलाई सिँगार्ने चलन कुनै नौलो त होइन। तर पहिला अहिले जस्तो मेकअप गर्ने सही टेक्निक (तरिका) र गुणस्तरीय सामानहरु पनि आएको थिएन। मान्छेहरु मेकअपदेखि पहिरनमा निकै सौखिन भएका छन्। जति पनि पैसा खर्च गर्ने भएका छन्। धेरै त बाहिरबाट सिकेर पनि हो।

लसता रंजितकार
मेकअप आर्टिस्ट

लसताले पोखरा, बुटवल, जनकपुर लगायतका ठाउँमा पनि पुगेर ब्राइडल मेकअप गरिसकेकी छन्। व्यवसायको यो बढ्दो गतिको श्रेय उनी सामाजिक सञ्जालदेखि नेपालीको जीवनस्तरमा भएको सुधारसम्मलाई दिन्छिन्।
‘बेहुलीलाई सिँगार्ने चलन कुनै नौलो त होइन। तर पहिला अहिले जस्तो मेकअप गर्ने सही टेक्निक (तरिका) र गुणस्तरीय मेकअपको सामानहरु पनि आएको थिएन,’ उनी भन्छिन्, ‘मान्छेहरु मेकअपदेखि पहिरनमा निकै सौखिन भएका छन्। जति पनि पैसा खर्च गर्ने भएका छन्। धेरै त बाहिरबाट सिकेर पनि हो।’
उनका अनुसार बेहुलीहरुलाई अझ भनौं महिलालाई नै पहिलादेखि नै राम्री देखिनैपर्ने मनोवैज्ञानिक दबाब छ। दिनभर लाग्ने विवाहमा मेकअप टिक्न पनि पर्यो। त्यसैले उनीहरु अहिले राम्रो मेकअप स्टुडियोको खोजीमा हुन्छन्। चम्किलो गरगहना र पहिरनमा मेकअप नगर्दा नसुहाउने उनी सुनाउँछिन्।
त्यस्तै मेकअप आर्टिस्टहरुको संख्या पनि बढ्दै जानुमा उनी यो कामको आम्दानीको आकर्षण र सामाजिक सञ्जालको बढ्दो प्रयोगलाई कारक देख्छिन्।
‘यसमा फ्रिल्यान्सिङको राम्रो अवसर छ। सोसल मिडियाले पनि यस व्यवसायको वृद्धि तथा मेकअप आर्टिस्टहरुलाई मान्छेहरुले हेर्ने दृष्टिकोण निकै सकारात्मक बनाएको छ,’ उनले भनिन्, ‘यसमा पढाइको कुनै क्राइटेरिया छैन। आफ्नै हिसाबले काम गर्न सकिन्छ।’
लसताले बेहुली तयार पर्दा १५ हजारदेखि २५ हजारसम्म लिने गरेको बताइन्। ब्राइडल मेकअपबाट राम्रो आम्दानी हुने भए पनि यो काम भने मौसमी रोजगारीका रूपमा छ। त्यसैले धेरैजसो स्टुडियो र पार्लरका मास्टरहरु ‘अफ सिजन’मा विभिन्न तहका मेकअप कक्षाहरु चलाउँछन्। यस्ता कक्षाको शुल्क भने ५ हजारदेखि सुरु भएर लाखसम्म पनि छ।
शहरदेखि गाउँसम्म विवाह र पार्टीका लागि विभिन्न उमेरका महिलाले पार्लर पुगेर शृंगार गराउने चलन फस्टाएसँगै रोजगारीको क्षेत्र त विस्तार भएकै छ, सौन्दर्य प्रसाधनको बिक्री पनि बढेको छ। त्यसैले दक्ष मेकअप आर्टिस्ट हुनका लागि तालिम आवश्यक रहेछ भन्ने चेतना पनि बढेको छ। तालिमको खोजीमा रहेकाहरु बढ्दा मेकअप आर्टिस्टका लागि विवाहको साइत नपरेका याम पनि आम्दानीको राम्रै समय बनिरहेको छ।