भैरहवा भन्सार कार्यालयले सकेन राजस्व लक्ष्य भेट्टाउन, ८ वर्षयताकै कम असुली

बिजमाण्डू
२०८० साउन ३ गते १४:५८ | Jul 19, 2023
भैरहवा भन्सार कार्यालयले सकेन राजस्व लक्ष्य भेट्टाउन, ८ वर्षयताकै कम असुली


बुटवल। भैरहवा भन्सार कार्यालय आर्थिक वर्ष २०७९/८० मा लक्ष्यअनुसारको राजस्व संकलन गर्न असफल भएको छ।

Tata
GBIME
NLIC

१ खर्ब ५५ अर्ब ६० करोड रुपैयाँको लक्ष्य रहेकोमा ७६ अर्ब ८८ करोड मात्रै राजस्व संकलन भएको भन्सार कार्यालयका सूचना अधिकारी युवराज भट्टराईले जानकारी दिए। यो लक्ष्यको ४९.४१ प्रतिशत मात्रै हो। आयात परिमाणका दृष्टिले भैरहवा मुलुकको दोस्रो ठूलो भन्सार नाका हो।

८ वर्षयताकै सबैभन्दा कम

भन्सार कार्यालयले गत आवको कुनै पनि महिनामा लक्ष्य पूरा गर्न सकेन। पछिल्लो ८ वर्षयताकै सबैभन्दा कम राजस्व गत आवमा संकलन भएको छ।

आव २०७८/७९ मा १ खर्ब २७ अर्ब राजस्व उठाउने लक्ष्य थियो। जसमा १ खर्ब १५ अर्ब रुपैयाँ संकलन भएको थियो। कोभिड महामारीका बीचमा पनि आव २०७७/७८ मा लक्ष्यभन्दा १३ प्रतिशत बढी राजस्व संकलन थियो।

९९ अर्ब ६५ करोड ७६ लाख राजस्व उठाउने लक्ष्य राखेकोमा उक्त आव १ खर्ब १२ अर्ब ५४ करोड २५ लाख राजस्व संकलन भएको थियो।

त्यस्तै, आर्थिक वर्ष २०७६/७७ मा ६६ प्रतिशत लक्ष्य पूरा गर्दै ७० अर्ब २९ करोड १५ लाख ९७ हजार राजस्व संकलन भएको थियो।

आव २०७५/७६ मा ८८ प्रतिशत लक्ष्य पूरा गर्दै ८२ अर्ब ३० करोड ५३ लाख ३३ हजार राजस्व संकलन भएको थियो। आव २०७४/७५ मा लक्ष्यको ८६ प्रतिशत अर्थात ७० अर्ब २८ करोड ९३ लाख राजस्व संकलन भएको थियो।

त्यसैगरी, आर्थिक वर्ष २०७३/७४ मा लक्ष्यभन्दा ९ प्रतिशत बढी ६२ अर्ब ३२ करोड ६४ लाख ९४ हजार राजस्व संकलन भएको थियो। आव २०७२/७३ मा पनि लक्ष्यभन्दा १७ प्रतिशत बढी ६१ अर्ब ९१ करोड २२ लाख ८१ हजार रुपैयाँ राजस्व संकलन भएको थियो।

मन्दीका कारण आयातमा कमी

आर्थिक मन्दीले कम आयात हुनु र सरकारका अन्य नीतिगत समस्याका कारण राजस्व असुली खुम्चिन पुगेको भैरहवा भन्सार कार्यालयले जनाएको छ।

भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले बेलहिया नाका हुँदै हुने आयात खुम्चिँदा लक्ष्य आधा पनि भेट्टाउन नसकिएको बताए। बढी भन्सार राजस्व दिने वस्तुकै आयात घटेको र अघिल्लो आवमा भएको असुलीको तुलनामा राजस्व संकलनको लक्ष्य निर्धारण पनि बढी भएको उनले बताए।

अघिल्लो आवको तुलनामा आव २०७९/८० मा ३६ प्रतिशतले बढी लक्ष्य निर्धारण गरिएको थियो।

‘२०७९ वैशाखदेखि मंसिरसम्म साना गाडीको आयातमा सरकारले रोक लगायो। बढी राजस्व दिने डिजेल, पेट्रोल, फलामे ब्लेड र अन्य व्यापारिक वस्तुको पनि आयात घट्यो,’ प्रमुख पौडेलले भने।

पछिल्लो समय बेलहिया नाकाबाट सबभन्दा बढी आयात हुने जिप, कार, भ्यान, मोटरसाइकल, एमएस फलामे ब्लेड, डिजेल, मोबाइलजस्ता मुख्य वस्तुको आयात ह्वात्तै घट्दा राजस्व संकलनमा प्रभाव परेको उनको भनाइ छ।

त्यस्तै, राष्ट्र बैंकले विलासिताका वस्तु आयातमा केही समय एलसी अनिवार्य गर्दा र ८ महिनासम्म सरकारले जिप, कार, भ्यान र मोबाइल आयातमा प्रतिबन्ध लगाउँदा राजस्व संकलनमा भारी गिरावट आएको पौडेलले बताए।

स्पन्ज आइरनमा भन्सार छुट

सरकारले एमएस फलामे ब्लेडको आयातमा अन्तःशुल्क बढायो भने त्यसको कच्चा पदार्थ स्पन्ज आइरनको आयातमा भन्सार महसुल छुट दियो। यसबाट स्पन्ज आइरनको आयात बढ्यो तर राजस्व बढेन।

कार्यालय प्रमुख पौडेलका अनुसार साना सवारी साधन, फलामे एमएस ब्लेड र पेट्रोलियम पदार्थको आयातबाट भैरहवा भन्सारको कुल राजस्व संकलनमा झन्डै २५ प्रतिशत योगदान रहने गरेको थियो।

भन्सार कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ मा यी वस्तुको आयातबाट ६७ अर्ब ९५ करोड रुपैयाँ राजस्व उठेको थियो। तर गत आर्थिक वर्षमा यी वस्तुको आयात घट्दा ३० अर्ब ७२ करोड रुपैयाँमात्र राजस्व उठेको छ।

मुलुकको समग्र भन्सार राजस्व संकलनमा भैरहवा भन्सार कार्यालयको योगदान करिब १२ प्रतिशत छ।

भैरहवा भन्सारबाट निर्यात भने बढेको छ। अघिल्लो आवको तुलनामा ३८ दशमलव ८ प्रतिशतले बढेको कार्यालय प्रमुख पौडेलले बताए।

अघिल्लो आवमा ७ अर्ब ८९ करोड रुपैयाँ बराबरका विभिन्न नेपाली वस्तु विदेश निकासी भएकामा आव २०७९/८० मा १० अर्ब ९५ करोड रुपैयाँ बराबरको निकासी भएको छ।