
काठमाडौं। पेट्रोलको मूल्य लिटरको १९९ रुपैयाँ पुगेपछि निम्न मध्यमवर्गका लागि बाइक र स्कुटरको यात्रा महँगियो। महँगो पेट्रोलका कारण केही उपभोक्ता विद्युतीय बाइक र स्कुटरमा सिफ्ट भए। तर, त्यो संख्या धेरै बढेन।
सामान्य यात्रा गर्दा पनि मासिक ४ हजारका दरले बाइक र स्कुटरमा पेट्रोल खर्च हुन्छ। तर त्यहीँ विद्युतीय बाइक र स्कुटरमा मासिक खर्च हजार रुपैयाँभन्दा कम हुन्छ।
बजारमा थरी थरीका इलेक्ट्रिक बाइक र स्कुटर नआएका पनि होइनन्। तर, निम्न मध्यमवर्गका लागि पेट्रोल खर्चको भारबाट जोगाउन सक्ने विद्युतीय बाइक र स्कुटरमा भने आकर्षण बढ्नै सकेन। विद्युतीय बाइक र स्कुटरमा उपभोक्ता आकर्षित नहुनुका चार कारण छन्।
पहिलो भनेको बाइक र स्कुटरमा धेरै नाफा खाएर अस्वाभाविक मूल्य राखिएको छ। दोस्रो लामो यात्राका लागि विद्युतीय बाइकमा विश्वास छैन भने तेस्रो पूर्वाधारमा लगानी भएको छैन। चौथो भनेको ब्याट्रीको वारेन्टी तीन वर्षको मात्रै छ।
‘पेट्रोलको मूल्य बढ्दा बिक्रेताहरुले थोरै मार्जिन राखेको भए इलेक्ट्रिक स्कुटर बिक्री बढ्थ्यो। मार्जिन कम नगर्दा मार्केट बढ्ने अवसर त्यसै गुमेको छ,’ एक बिक्रेताले भने, ‘विद्युतीय स्कुटरको बिक्री पहिलेको भन्दा पनि घटेको छ।’
उनका अनुसार अहिले सस्तो स्कुटर पनि पाइन्छ। तर त्यसले आम नागरिकले खोजेको जस्तो माइलेज दिँदैन। महँगै भए पनि किनेका विद्युतीय स्कुटरहरु उकालोमा जान, लोड बोक्न नसक्ने समस्या अझै यथावत छ। ब्याट्रीको वारेन्टी २ देखि ३ वर्षसम्मको मात्र हुने गरेको छ।
नेपालमा अहिले उपलब्धमध्ये धेरैजसो विद्युतीय स्कुटर बिक्रेताले उत्पादक कम्पनीसँग औसतमा १००० डलर हालेर खरिद गर्ने गरेका छन्। त्यसमा पनि प्रिमियम लिथियम आयोन ब्याट्री भएको स्कुटरको मूल्य यसै सेरोफेरोमा आउने एक बिक्रेता बताउँछन्।
इन्धन स्कुटर तथा बाइकको तुलनामा विद्युतीय दुई पाङ्ग्रेको सुरुवाती मूल्य ४० प्रतिशत महँगो रहेको कतिपय बिक्रेताहरु आफैँ बताउँछन्।

नेपालमा धेरै मूल्यमा खरिद ल्याइएको सिंगल ब्याट्री भएको विद्युतीय स्कुटरको उत्पादक कम्पनीले लगभग १२०० डलर मात्र पर्ने गरेको छ। यस्तै डबल ब्याट्री भएको स्कुटरको भने १५०० डलरसम्म पर्ने गरेको ती बिक्रेता बताउँछन्।
यसरी स्कुटर खरिद गरेर ल्याउँदा एउटा कन्टेनरमा ७५ वटा स्कुटर अट्छन्। यसको ढुवानी भाडा मात्र एउटा स्कुटरको ६ हजार रुपैयाँ पर्ने ती बिक्रेता बताउँछन्। सरकारले अहिले एउटा विद्युतीय बाइकमा १० प्रतिशत भन्सार, १३ प्रतिशत मूल्य अभिवृद्धि कर, १० हजार रुपैयाँ सडक मर्मत दस्तुर भन्सार विन्दुमै लिन्छ।
एउटा स्कुटर उत्पादक कम्पनीसँग नेपाली बिक्रेताले खरिद गर्दा १००० डलर परेमा यसको अहिलेको डलरको रेटले १ लाख ३१ हजार रुपैयाँ पर्न आउँछ। यसमा १० प्रतिशत भन्सार शुल्क लाग्छ। यो रकममा १० प्रतिशत भन्सार शुल्क लाग्दा १३ हजार १०० रुपैयाँ थप हुन्छ। जसको कुल १ लाख ४४ हजार १०० रुपैयाँ हुन आउँछ।
त्यसपछि सो रकममा १३ प्रतिशत भ्याट जोडिन्छ। यसको १३ प्रतिशत भ्याट १८ हजार ७३३ रुपैयाँ हुन्छ। यो रकम सो भन्सार शुल्क जोडेर आएको रकममा जोड्दा १ लाख ५९ हजार ८३३ हुन आउँछ।
अब यसमा सडक कर ८ देखि १० हजार रुपैयाँ जोडिन्छ। अघिको कुल रकममा सडक कर १० हजार जोड्दा १ लाख ६९ हजार ८३३ हुन आउँछ। यसमा अब ढुवानी खर्च ६ हजार जोडिँदा १ लाख ७५ हजार ८३३ रुपैयाँ हुन आउँछ।
यसमा अब बिक्रेताको सरकारले तोकेको २० प्रतिशत नाफा मार्जिन जोडिन्छ। ढुवानी खर्च जोडेर आएको कुल रकममा ३५ हजार १६६ रुपैयाँ हुन आउँछ। सो रकम अघिको कुल रकममा जोड्दा एउटा विद्युतीय स्कुटरको मूल्य २ लाख १० हजार ९९९ रुपैयाँ पर्न आउँछ।
चीनबाट नेपाली बिक्रेताहरुले अझै प्रति स्कुटर ६०० डलरमा पनि विद्युतीय स्कुटर खरिद गर्दै आएका ती बिक्रेताले बताए। तर नेपालमा भने यसको दोब्बर मूल्य कायम गरेर विद्युतीय स्कुटरहरु बिक्री गरिदै आइएको छ। अहिले नेपालमा २ लाख ५० हजारदेखि ५ लाखसम्म सिंगल ब्याट्री प्याकलाई लिने गरेका छन्। यो सबै बिक्रेताले बिक्री गर्ने औसतदर हो। कुनै समय १ प्रतिशत मात्र भन्सार शुल्क लाग्दा केही सस्तो थियो। अहिले भने व्यवसायी कर बढेको कारण देखाउदै स्कुटरको मूल्यमा झन् वृद्धि गर्दै आइरहेका छन्।
धेरै नाफाकै कारण नेपालमा अन्य देशमा भन्दा इन्धन बाइकको तुलनामा अझै ४० प्रतिशत महँगो नै छ। इन्धन स्कुटर तथा बाइकको तुलनामा विद्युतीय दुई पाङ्ग्रेको सुरुवाती मूल्य ४० प्रतिशत महँगो रहेको कतिपय बिक्रेताहरु आफैँ बताउँछन्।
‘स्टकमा बस्ने र ऋण तिर्नुपर्ने जस्ता समस्याले धेरै मार्जिन राख्नुपर्ने बाध्यता थियो, अब ठुला घराना आएपछि एग्रेसिभ हुने र बिक्री पनि बढ्ने अनुमान गर्न सकिन्छ’

ठुला घराना भित्रिँदै
नेपाली बजारमा अहिले २० भन्दा बढी ब्रान्डका विद्युतीय स्कुटर तथा बाइक बिक्री हुन्छ। केही नेपालमै एसेम्बल भएका छन् भने धेरैजसो चीन तथा भारतबाट आयात हुने ब्रान्ड हुन्। सुरुमा विद्युतीय बाइक र स्कुटर बेच्नेमा ठुला व्यवसायिक घराना थिएनन्।
तर विद्युतीय सवारी साधनप्रति आकर्षण बढेपछि ठुला घराना पनि यसतर्फ आकर्षित हुन थालेका छन्। एमभी दुगड ग्रुपअन्तर्गतको विवेक अटोमोबाइल्स प्रालिले पनि गेसिट्स भन्ने इन्डोनेसियामा निर्माण गरिएको इभी स्कुटर नेपाली बजारमा ल्याएको छ। यसको पनि सुरुवाती मूल्य ३ लाख ५० हजारदेखि ४ लाख १० हजार रुपैयाँसम्म राखेको छ।

यस्तै, फोर्ड र सिट्रोन गाडी बेच्ने आकाश गोल्छा पनि विद्युतीय बाइक बेच्दैछन्। उनको केटीएम इन्टरनेशनल ट्रेडिङ अन्तर्गतको इटालीका मोटोवर्क्सले सन्रा इभी बिक्री गर्न थालेको छ। यो स्कुटरको मूल्य २ लाख ३५ हजारदेखि ३ लाख ७९ हजार रुपैयाँसम्म रहेको छ। यसमा भएको ब्याट्री प्याकले ६५ देखि १३० किलोमिटर मात्र रेन्ज प्रदान गर्छ।
टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले विद्युतीय स्कुटर आईक्युब नेपाली बजारमा ल्याएको छ। कम्पनीले ४ लाख ३० हजार रुपैयाँ मूल्य तोकेर बुकिङ खुलाएको छ। यसमा भएको ब्याट्रीले एक पटकको फुल चार्जमा १०० किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीको दावी छ।
‘स्थापित घरानाहरुको नेटवर्किङ र मार्केटिङ रणनीतिका कारण अब विस्तारै बाइक र स्कुटरहरु बिक्री बढ्न सक्छ,’ ती बिक्रेताले भने, ‘स्टकमा बस्ने र ऋण तिर्नुपर्ने जस्ता समस्याले धेरै मार्जिन राख्नुपर्ने बाध्यता थियो। अब ठुला घराना आएपछि एग्रेसिभ हुने र बिक्री पनि बढ्ने अनुमान गर्न सकिन्छ।’

इन्धन र इलेक्ट्रिकमध्ये स्कुटर कुन फाइदा ?
होन्डाको डिओ खरिद गर्न अहिले २ लाख २८ हजार रुपैयाँ छ। यसमा भएको ट्यांकीमा ५ लिटर पेट्रोल जान्छ। यसको औसत माइलेज प्रतिलिटर ३५ किलोमिटर दावी गरिएको छ। जसले गर्दा ५ लिटर पेट्रोलमा लगभग १७५ किलोमिटर दुरी पार गर्न सक्छ।
तर विद्युतीय स्कुटर यही रेन्जको किन्नको लागि लगभग ३ लाख रुपैयाँ पर्छ। जस्तै एमभी दुगड ग्रुपअन्तर्गतको विवेक अटोमोबाइल्स प्रालिले पनि गेसिट्स भन्ने इन्डोनेसियामा निर्माण गरिएको इभी स्कुटर नेपाली बजारमा ल्याएको छ। यसको सुरुवाती मूल्य ३ लाख ५० हजारदेखि ४ लाख १० हजार रुपैयाँसम्म राखेर बिक्री गर्दै आइएको छ।
यसमा भएको ब्याट्रीले एक पटकको फुल चार्जमा सिंगल ब्याट्रीले ५० किलोमिटर र डबल ब्याट्रीले १०० किलोमिटर रेन्ज प्रदान गर्छ। एक पटकको फुल चार्जमा ५० किलोमिटर चल्ने स्कुटरलाई ३ लाख ५० हजार रुपैयाँले नै उपभोक्ता हच्किने गरेका छन्।
बिक्रेताहरूको आ-आफ्नै तर्क
नेपालमा इभी स्कुटर बिक्री गर्दै आइरहेको टेल्जी नेपालका निर्देशक सन्जिव शिल्पकार विद्युतीय बाइक र स्कुटरमा धेरै नाफा नराखेको जिकिर गर्छन्।
‘हामीले हाम्रो स्कुटरमा धेरै मार्जिन राखेका छैनौं,’ उनले भने, ‘टेल्जीले ग्राहकलाई राम्रो मूल्यमा स्कुटर दिँदै आएको छौं।’ उनका अनुसार नेपाली मुद्राको तुलनामा डलरको भाउ महँगो बन्दा विद्युतीय बाइक र स्कुटर महँगिएको हो।
यस्तै, सेगवे ब्रान्डको स्कुटर बिक्रेता ओलिज स्टोरका निर्देशक लोकेश ओलीले आर्थिक मन्दीका कारण विद्युतीय सवारी साधनको बिक्री नभएको जिकिर गर्छन्।

उनका अनुसार अहिले धेरै स्कुटर बिक्रेताहरुले अफर तथा छुट ल्याइरहेका छन्। यो स्कुटरको मूल्य नेपाली बजारमा भेरियन्ट अनुसार २ लाख ९१ हजार रुपैयाँदेखि सुरुवाती मूल्य कायम छ।
यसैगरी, कोमाकी ब्रान्डका स्कुटर बिक्रेता युनिटी ट्रेडिङ कन्सर्नका म्यानेजर उमेश अधिकारीले धेरै मुनाफा राखेका कारण बिक्री बढ्न नसकेको भन्नेमा सत्यता नरहेको बताउँछन्। उनी भन्छन्, ‘हामीले त्यस्तो धेरै मार्जिन राखेर स्कुटर बिक्री गरेका छैनौं। हाम्रो भारतबाट आयात हुने भएकाले ब्याट्री र स्कुटरमा हुने सामानको नै महँगो पर्छ।’
कोमाकीको मूल्य पनि नेपालमा २ लाख ९५ हजारदेखि ३ लाख १० हजार रुपैयाँसम्म छ। नेपालमा उपलब्ध सबै स्कुटरहरुको ब्याट्री क्षमता २००० देखि ३००० किलोवाट आवरसम्म रहेको छ। सो ब्याट्रीहरु फुल चार्ज गर्न २ देखि ६ घन्टाको समय लाग्छ।