
काठमाडौं। ५४५ मेगावाटको किमाथांका अरुण जलविद्युत आयोजना निर्माणका लागि चिनियाँ कम्पनी पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना इच्छुक देखिएको छ।
अध्ययन पूरा भएर लगानी खोजिरहेको यो आयोजना निर्माणका लागि चिनियाँ कम्पनीले विद्युत उत्पादन कम्पनी समक्ष प्रस्ताव गरेको हो। कम्पनीले केही महिना पहिले नै एक चरणको छलफल समेत गरेको पाइएको छ। कम्पनीका प्रबन्ध निर्देशक सूर्य रिजालले कम्पनीसँग छलफल भएको पुष्टि गरे। उनका अनुसार आयोजनाको विषयमा छलफल भएको हो।
आयोजनाका निर्माणका लागि भारतीय निजी कम्पनीहरु समेत इच्छुक छन्। चीनको सीमा नजिकको आयोजना भएकाले भारतीय कम्पनीलाई दिन नहुने कतिपयको ऊर्जा मन्त्रालयका अधिकारीहरुको तर्क छ।
‘चिनियाँलाई दिएर आयोजना बनाउन पनि समस्या छ। भारतले चीनले बनाएको बिजुली किन्दैन। चीनसँग ग्रीड कनेक्सन छैन। आन्तरिक रुपमा खपत हुने अवस्था पनि छैन,’ ऊर्जा मन्त्रालय ती अधिकारीले भने,’सीमा नजिकैको आयोजना भारतलाई दिन पनि समस्या छ। आफैं लगानी जुटाएर आयोजना बनाउन सक्ने अवस्था पनि छैन।’
चाइना पावर त्यहि कम्पनी हो जसले हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टेमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडसँग संयुक्त रुपमा बनाउने गरि ७५६ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत आयोजना पाएको थियो। सरकारले यो आयोजना खोस्न १ महिनाको समय दिएर स्पष्टीकरण सोधेको छ।
आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) नेपाल विद्युत प्राधिकरण मातहतको एनईए इन्जिनियरिङ कम्पनी लिमिटेड तयार पारेको हो। वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदन तयार पारेर विद्युत विकास समक्ष पठाइसकेको रिजालले बताए। विद्युत विकास विभागले ऊर्जा मन्त्रालय पठाउने छ। ऊर्जा मन्त्रालयले वन तथा वातावरण मन्त्रालयमा स्वीकृतिका लागि पठाउनेछ।
रिजालले संयुक्त उपक्रम जेभीमा आयोजना विकास गर्ने योजना रहेको बताए। ‘आयोजनाको अध्ययन पूरा भएकाले लगानीको व्यवस्थापन गर्न खोजिरहेका छौं। फुकोट कर्णाली भारतीय कम्पनीसँग मिलेर संयुक्त रुपमा निर्माण गर्दैछौं। यो आयोजनामा पनि लगानीको साझेदार खोजिरहेका हौं,’ उनले भने। लगानी जुटाउने मोडालिटी तय गर्न नसक्दा अध्ययन पूरा भएको आयोजना विद्युत उत्पादन कम्पनीले अघि बढाउन सकेको छैन्।
प्रस्तावित आयोजना संखुवासभाको भोटखोला गाउँपालिका-२ मा निर्माण हुनेछ। आयोजना पिकिङ रन अफ दि रिभर (अर्ध-जलाशय) प्रकृतिको हुनेछ। सम्भाव्यता अध्ययन प्रतिवेदन अनुसार आयोजनाको ग्रस हेड ३७९.५२ र नेट हेड ३६७.५५ मिटर हुनेछ। वार्षिक सरदर २५५१.१६ गिगावाट आवर उत्पादन गर्न सक्छ। वार्षिक पिक इनर्जी ४८५.९३ गिगावाट घण्टा र वार्षिक अफ पिक इनर्जी २७९.२८ गिगावाट आवर उत्पादन हुने अनुमान छ।
यो आयोजनाको हेडवर्क्स आरसीसी गरेर बनाइनेछ। नदीको फाउण्डेसन बेडबाट १४० मिटर अग्लो बाँध बाधेर अरुण नदीमा ५.९ किलोमिटर लामो सुरुङमार्ग हुँदै ३६० मिटरको उचाईबाट खसालेर विद्युत उत्पादन गर्ने लक्ष्य छ। पावर हाउस (विद्युत गृह) भुमिगत हुनेछ।। चारवटा टर्बाइन युनिटबाट विद्युत उत्पादन हुनेछ। अहिले आयोजनामा अडिट टनेल खन्ने लगायतको तयारीको काम चलिरहेको छ।
करिब ९३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। लगानी जुटाउने मोडालिटी हुन सकेको छैन। आयोजनाको प्रतिकिलोवाट लागत २ लाख ६ हजार ६०८ रुपैयाँ रहेको छ। इन्टर्न रेट अफ रिटर्न १३.५८ प्रतिशत छ। रिटर्न अन इक्विटी १६.८२ प्रतिशत छ। निर्माण थालेको ५ वर्षमा सक्ने योजना छ।
आयोजनाबाट उत्पादित विद्युत १८.५ किमी ४०० केभी प्रसारणलाइन निर्माण गरेर हैटार सबस्टेसन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ।
सरकारी स्वामित्वको जलविद्युत आयोजनामा संयुक्त उपक्रम (जेभी) मा लगानी जुटाउन गठित कार्यदलले चीनको नजिक पर्ने जलविद्युत आयोजना चिनियाँ र भारती सीमा नजिक पर्ने आयोजना भारतीयलाई दिन सुझाव समेत दिएको थियो। तर पछिल्लो समय नेपालका ठूला जलविद्युत आयोजना भारतीय कम्पनीहरुले पाइरहेको छन्। चिनियाँ कम्पनीहरुले जलविद्युत आयोजनाबाट हात झिकिरहेका छन्।