
काठमाडौं। हिरो बाइक उत्पादन गर्ने हिरो मोटोकर्पविरुद्ध ज्योति समूहका अध्यक्ष डा. रुप ज्योतिका तीन वटा कम्पनीले मुद्दा हालेका छन्।
हिरो मोटोकर्पले ३५ वर्ष लामो व्यवसायिक सम्वन्ध तोड्दै अर्कै कम्पनीसँग हात बढाउन खोजेपछि ज्योतिले तीन वटा मुद्दा हालेका थिए।
केही दिनअघि काठमाडौं जिल्ला अदालतले आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङ (एनजीएम) ले हिरोको बिक्रेता नखोस्न अदालतबाट पाएको अन्तरिम आदेश खारेज गरिदिएको छ। तर अझै दुई वटा मुद्दा बाँकी छ।
ज्योति समूहको एनजीएम ट्रेडिङले उच्च अदालत पाटनमा अन्तरिम आदेश खारेजउपर अर्को रिट दायर गरेको छ भने अर्को एनजीएम इन्जिनियरिङले काठमाडौं अदालतमा समय नसकिँदै अधिकृत बिक्रेता खारेज गरेको भन्दै रिट दायर गरेको छ। यो दुबै मुद्दाको सुनुवाई हुन बाँकी छ।
मुद्दामाथि मुद्दा परेकाले नयाँ अधिकृत बिक्रेता नियुक्त गर्न हिरो मोटो कर्पलाई कठिन भएको छ। मुद्दा नसल्टिई अधिकृत बिक्रेता नियुक्त गर्नु जोखिमयुक्त हुने हिरोको ठम्याई छ। त्यही भएर चौधरी समूह अन्तर्गतको सीजी मोटर्सलाई आधिकारिक बिक्रेता दिने करिबकरिब टुंगो लागेपनि नियुक्त भने गर्न सकेको छैन।
नयाँ अधिकृत बिक्रेता नियुक्त गर्ने भएकाले हिरोले एनजीएमलाई नयाँ सीपमेन्ट गरेको छैन भने आवश्यक पार्टपुर्जा समेत डेलिभरी दिएको छैन।
हिरो र एनजीएमको लफडा के हो ?
हिरोले व्यवसायिक कारोबार राम्रो गर्न नसकेको भन्दै केही महिनाअघि एनजीएमसँगको आधिकारिक बिक्रेता खारेजीको पत्र पठाएको थियो।
यो पत्र पाएको केही दिनभित्रै एनजीएमले हिरो मोटोकर्पले अर्बौंका सामानको बिक्री गरी रकम समेत लिई सामान स्टकमा रहेको अवस्थामा बिक्री गर्न नपाउँदै सम्झौता नवीकरण नगर्ने जानकारी गराएको भन्दै जिल्ला अदालतमा रिट हाल्यो।
‘हिरो मोटोकर्पले एनजीएम ट्रेडिङसँग गरेको सम्झौता बमोजिमको व्यवसायिक कार्य गर्न अवरोध नगर्ने र सम्झौता भंग गर्ने गरी भएको पत्राचार कार्यान्वयन नगर्नु’ भनेर अदालतले हिरो मोटोकर्पको नाममा आदेश जारी गरेको थियो।
त्यसपछि यसको विरुद्धमा हिरो मोटोकर्प इन्डियाले पनि अन्तरिम आदेश खारेज गर्न डिफेन्ड मुद्दा लडेको थियो। सो मुद्दा हिरो मोटोकर्पले जितेको छ। यो मुद्दा वाहेक एनजीएमले उच्च अदालत पाटनमा पनि रिट दायर गरेको छ।
एनजीएमले हिरो मोटोकर्प विरुद्ध जेठ ३ गते उच्च अदालत पाटनमा रिट दर्ता गरेको थियो। त्यो रिटमा अहिलेसम्म एक चोटी हेर्न नभ्याइने र दुई पटक निवेदक एनजीएमको तर्फबाट स्थगित भइसकेको छ।
यही विषयमा एनजीएम इन्जिनियरिङको नाममा पनि काठमाडौं जिल्ला अदालतमा मुद्दा चलिरहेको छ। यसमा अदालतले एउटै विषयको मुद्दामा अहिले छलफल गर्न नमिल्ने भनेर यथावत राखिएको छ। एनजीएम ट्रेडिङले उच्च अदालतमा हालेको मुद्दामा फैसला आएपछि काठमाडौं अदालतले रिटको सुनुवाई प्रक्रिया अघि बढाउनेछ।
मुद्दापछि पनि दुई पक्षबीच भएको थियो वार्ता
काठमाडौं जिल्ला अदालतले एनजीएमसँगको आधिकारिक बिक्रेता खारेज नगर्न हिरो मोटोकर्पलाई अदालतले आदेश दिएपछि दुबै पक्षबीच वार्ता भएको थियो।
वार्तापछि सम्वन्ध सुधारका लागि प्रयास पनि भएका थिए।
छलफलमा हिरोले सामान र पार्टपुर्जा लगायतका हिसाबकिताब गर्न एकवर्ष थप्ने प्रस्ताव गरेको थियो। तर ज्योति समूहका चेयरम्यान डा. रुपज्योतिले कम्तीमा पनि पाँच वर्षसम्म आफूलाई अधिकृत बिक्रेता कायम राख्नुपर्ने शर्त राखेका थिए। त्यो शर्तपछि हिरोले चौधरी समूहसँग हात अघि बढाएको हो।