सरकारको भ्याट र विलासी करका विरुद्धमा दुई दर्जन पर्यटन व्यवसायी संस्था, अवज्ञा गर्ने घोषणा

बिजमाण्डू
२०८० जेठ २६ गते १२:४५ | Jun 9, 2023
सरकारको भ्याट र विलासी करका विरुद्धमा दुई दर्जन पर्यटन व्यवसायी संस्था, अवज्ञा गर्ने घोषणा


काठमाडौं। दुई दर्जन भन्दा बढी पर्यटनसँग सम्बन्धित व्यवसायिक संस्थाले भ्याट र लक्जरी कर कार्यान्वयन अवज्ञा गर्ने घोषणा गरेका छन्।

Tata
GBIME
NLIC

ती संस्थाले शुक्रबार नेपाल पर्यटन बोर्डमा संयुक्त पत्रकार सम्मेलन गर्दै पर्यटन क्षेत्रलाई धरासायी बनाउने उद्देश्यसहित भ्याट कार्यान्वयन गर्न खोजिएको जिकिर गर्दै अवज्ञा गर्ने घोषणा गरेका हुन्।

ट्रेकिङ एजेन्सिस एशोसिएसन अफ नेपाल(टान), नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स(नाट्टा), होटल एशोसिएसन नेपाल(हान), नेपाल पर्वतारोहण संघ(एनएएमए), नेपाल एशोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज(नारा), हिमालयन उद्वार संघ नेपाल(एचआरए), नेपाल वायुसेवा संचालक संघ, सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स, गाउँ पर्यटन मञ्च नेपाल, नेपाल पर्यटक यातायात व्यवसायी संघ, टुरिष्ट बस एशोसिएसन नेपाल, नेपाल एशोसिएसन अफ टुर अपरेटर, ठमेल पर्यटन विकास परिषद्, कैलास टुर अपरेटर्स एशोसिएसन अफ नेपाल लगायतका संस्थाले भ्याट र लक्जरी कर कार्यान्वयन गर्न नसक्ने घोषणा गरेका हुन्।

अर्थमन्त्री डा. प्रकाशशरण महतले ल्याएको बजेटबाट हवाई उडानमा भ्याट, चार तथा पाँच तारे होटलमा २ प्रतिशत लक्जरी कर र विदेश घुम्न जाने नेपालीलाई ५ प्रतिशत लक्जरी कर लगाउने घोषणा गरेका थिए।

बजेट आएपछि पर्यटनसँग सम्बन्धित व्यवसायी एकै ठाउँमा आएर सरकारको कर नीतिविरुद्ध जाने घोषणा गरेका हुन्। उनीहरुले यी कर लगाउँदा पर्न जाने नकारात्मक असरको अध्ययनका लागि समिति बनाउन माग गरेका छन्। अध्ययनका आधारमा एक वर्षपछि मात्रै ती कर कार्यान्वयन गर्न सकिने ती संस्थाको ठहर छ।

यस्तो असर पर्छ

हवाई टिकटमा भ्याट र  लक्जरी कर लगाउँदा नेपाल आउने पर्यटकको टुर प्याकेज महँगो भएर छिमेकी मुलुक र उस्तै पर्यटन अनुभव भएका अन्य गन्तव्यमा जाने ती संस्थाले दाबी गरेका छन्। यो कर लगाएमा वार्षिक १० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा नहुने उनीहरुले बताएका छन्।

हवाई यात्रा मात्रै होइन ढुवानी सेवादेखि कार्गोमा समेत भ्याट लगाउँदा टुर प्याकेज महँगो भएर आन्तरिक पर्यटकसमेत निरुत्साहित हुनेछन्। संयुक्त विज्ञप्तिका अनुसार भ्याट लगाउँदा हवाई भाडा महँगो हुने भएकाले विदेशमै टिकट किन्ने परिपाटीको विकास हुनेछ।

‘साविककै आन्तरिक तथा अर्न्तराष्ट्रिय हवाई भाडादर महँगो छ। त्यसमा थप भ्याट लाग्दा भाडादर झनै महँगो भई यात्रुहरुले खरिद गर्न नसक्ने अवस्था आउँछ। हाल ६० देखि ७० प्रतिशत अर्न्तराष्ट्रिय हवाई टिकट विदेशवाट विक्री भइरहेको अवस्थामा नेपालका एजेन्सीमार्फत भ्याट लगाउँदा नेपालमा मात्र टिकटको मुल्य वढ्छ। र, त्यसबाट पुर्ण रुपमा विदेशवाट टिकट विक्री हुने खतरा रहेको छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘जसले पर्यटन क्षेत्रले रोजगारी गुमाउने र राज्यले हाल पाउँदै आएको राजश्व गुमाउने निश्चित छ। साथै विदेशी मुद्रा हुण्डीमार्फत विदेशिने वा नेपाल आउनुपर्ने विदेशी मुदा नेपाल नआई वाहिरवाटै खर्च हुने खतरा समेत रहेको छ।’

 एयरलाइन्सहरुले भ्याट नलिने तर यात्रुहरुसँग टिकटमा भ्याट उठाउँदा उक्त रकम नेपाल सरकारको खातामा जाने र टिकट फिर्ता गर्न नमिल्ने अवस्था सृजना भएको ती संस्थाले जिकिर गरेका छन्।

ट्रेकिङ, र्‍याफ्टिङ, हिमाल आरोहण लगायतका साहसिक पर्यटकीय क्रियाकापमा जोडिएका सेवाहरु खरिद गर्दा पान वा भ्याट बिल पाउन कठिन भएको जनाउँदै ती संस्थाले सबै टुर प्याकेजमा भ्याट लगाउँदा प्याकेज घटाएर देखाउन सक्ने वा लुकाउन सक्ने अवस्था आउने जिकिर गरेका छन्।

विज्ञप्तिमा हिमाल आरोहण, ट्रेकिङ, र्‍याफ्टिङ, टुर तथा सफारी प्याकेजहरु कम्तीमा १ वर्ष अगाडि नै बुकिङ गरेकाले भ्याट कार्यान्वयन गर्न नसकिने ती संस्थाले जनाएका छन्।

नेपाली वायुसेवा कम्पनीहरुले अर्न्तराष्ट्रिय उडान गर्दा विदेशी वायुसेवा कम्पनीसँग प्रतिस्पर्धा गर्न सक्दैन  नसक्ने जनाउँदै भ्याट लागू भएमा हवाई भाडा बढ्दा नेपाली एयरलाइन्स र विदेशी एयरलाइन्स बीचको बजार सेयर अनुपातमा नाटकीय परिवर्तन हुने ती संस्थाको जिकिर छ।