
काठमाडौं। बजेटबाट गैर आवासीय नेपाली (एनआरएन) लाई सूचीकृत भएका केही क्षेत्रका सेयरमा लगानी गर्न बाटो खोलेको छ। बजेटमा सूचीकृत जलविद्युत कम्पनी र वास्तविक क्षेत्रमा मात्रै लगानी गर्न पाउने व्यवस्था गरेको छ।
लामो समयदेखि एनआरएनलाई सेयर लगानी गर्न दिनुपर्ने आवाज बुलन्द भएपनि यो पटकको बजेटमा क्षेत्रनै तोकेर किन लगानीको बाटो किन खोलियो?
अर्थमन्त्रालयका प्रवक्ता धनिराम शर्मा उत्पादनमूलक क्षेत्रलाई सेयर बजारमा बलियो रुपमा उभ्याउन क्षेत्र तोकेर लगानी खोलिएको जिकिर गर्छन्।
‘सेयर बजारमा भएका बैंक तथा वित्तीय क्षेत्र सबैभन्दा बढी छन्। सेयरमा उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्न आवश्यक छ। त्यही भएर जलविद्युत र वास्तविक क्षेत्रलाई प्राथमिकता दिइएको हो,’ उनले बिजमाण्डूसँग भने, ‘गैर आवासीय नेपालीलाई सेयर बजारमा ल्याउने बारे छलफल भएको धेरै अघिदेखि हो। तर यो पटकको बजेटबाट यही क्षेत्रबाट सुरु गर्न खोजिएको हो।’
नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल एनआरएनलाई निश्चित क्षेत्र तोकेर सेयर बजारमा ल्याउन खोज्नु सकारात्मक भएको बताउँछन्।
‘अहिलेसम्म एनआरएन सेयर बजारमा भित्रिएका छैनन्। क्षेत्रनै तोकेरै भएपनि सेयर बजारमा ल्याउँदा विस्तारै अन्य क्षेत्रमा पनि लगानी गर्ने बाटो क्रमिक रुपमा खुल्छ। अहिले उर्जामा लगानीको खाँचो छ,’ उनले भने।
बजेटमा प्राथमिक निष्काशनका विषयमा भने मौन छ। त्यही भएर धितोपत्र बोर्डले सर्वसाधारणलाई छुट्याएको सेयरमा एनआरएनलाई सहभागी गराउन नसक्ने स्पस्ट पारेको छ। बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले एनआरएनले साधारण सेयर निष्कासनमा भाग लिन नपाउने बताए।
‘एनआरएनले कम्पनी खडा गरेर प्रथामिक बजारमा आउन सक्छन्। तर सर्वसाधरणलाई छुट्याएको आइपीओमा भने आवेदन दिन पाउँदैनन्। यस सम्बन्धी कुनै नीति बनेको छैन। अहिले हामीले गरिरहेका सबै कामहरु एनआरएनलाई दोस्रो बजारमा ल्याउन सहज गर्ने मात्र हो,’ उनले भने।
बोर्डले समेत गैर आवासीय नेपालीलाई दोस्रो बजारमा ल्याउनका लागि अध्ययन गर्न समिति बनाइसकेको छ। चालु वर्षको बजेटमा उल्लेख भए अनुसार एनआरएनलाई भित्र्याउनका लागि अध्ययन समिति बनाएको हो। यो समितिले एनआरएनको लगानी कसरी भित्र्याउन सकिन्छ भनेर विभिन्न सरोकारवालासँग छलफल गरिरहेको छ।