
काठमाडौं। सरकारले स्वदेशी वस्तु प्रवर्द्धन गर्न भन्दै केही दैनिक उपभोग्य वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेको छ। दैनिक उपभोग्य वस्तुमा भ्याट लगाएसँगै प्याज र आलु लगायतका तरकारीको मूल्य वृद्धि भएको छ।
यी वस्तुमा कम्तीमा १३ प्रतिशतले बढ्ने अनुमान गरिएको थियो। सोहीअनुसार बजेट भाषणको एक दिन अघि र पछिसम्म थोक बजारमा प्रतिकिलो औसत ३५ रुपैयाँमा बिक्री भइरहेको प्याज महँगिएर ५१ रुपैयाँ किलो पुगेको छ।
खुद्रा बजारमा भने बजेट भाषणसम्मको दिनसम्म ४५ देखि ५० रुपैयाँ प्रतिकिलोसम्म बिक्री भएको प्याज अहिले उपभोक्ताले प्रतिकिलो ६० रुपैयाँ किलो तिरेर खरिद गरिरहेका छन्।
यो मूल्यवृद्धि जायज नभएको उपभोक्ताको गुनासो छ। व्यापारीहरूले गोदाममा मौज्दात प्याजलाई सरकारको घोषणाको मौकामा मनपरी मूल्य बढाएको उनीहरुको शंका छ।

‘एक दिन अगाडि ४५ रुपैयाँ प्रतिकिलो तिरेर लागेको प्याज, दुई दिनपछि एक किलोमा नै १५ रुपैयाँ बढेर ६० रुपैयाँ तिर्न पर्यो,’ एक गृहिणीले भनिन्, ‘यस्तो महँगी बढेको बेला सरकारले खाने वस्तुमा भ्याट लगाउनु ठीक होइन।’
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठले भ्याटका कारण मूल्य बढेको बताउँछन्। उनका अनुसार ९० प्रतिशत भन्दा बढी प्याज आयातित हुने भएकाले भ्याटको असर उपभोक्तालाई पर्नेछ। ‘बजेट भाषणको अन्योल बीच भारतबाट आउने समान दुई दिन जति आएको थिएन,’ उनले भने, ‘दैनिक करिब १५० टन हाराहारी प्याज कालिमाटी थोक बजार भित्रिन्छ। दुई-तीन दिन सामान नआउँदा भएकै स्टक चलाउने हो।’
प्याज लामो समय भन्डारण गरेर नराखिने भएकाले मौज्दातमै मूल्य बढाइएको भन्न नसकिने उनले बताए। ‘भ्याट लाग्ने भएपछि त व्यापारीहरूले जोड्छन्। भाउ बढ्दै छ भनेर लुकाएर राख्ने सम्भावना हुँदैन। केही स्टक त हुनसक्छ तर त्यो हेर्ने हाल कुनै मेकानिजम छैन।’