
काठमाडौं । हिमालयन बैंकले सेयरधनीलाई गतवर्षभन्दा आठ प्रतिशत कम २८.४२ प्रतिशत लाभांस दिने घोषण गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको नाफाबाट १३.४२ प्रतिशत नगद र १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो । अघिल्लो वर्ष बैंकले सेयधनीलाई २० प्रतिशत बोनस सेयर र १६.८४ प्रतिशत नगद लाभांस दिएको थियो ।
हिमालयन बैंक वार्षिक नाफा मात्रै एक अर्ब नघाउने सात बैंकमध्ये एक बैंक हो । अघिल्लो आर्थिक वर्षमा बैंकले एक अर्ब पाँच करोड रुपैयाँ मुनाफा कमाएको थियो । त्यसअघिल्लो वर्ष बैंकको मुनाफा ८९ करोड रुपैयाँ थियो ।
बैंकको चुक्ता पुँजी मात्रै दुई अर्ब ४० करोड रुपैयाँ छ । बैंकमा सर्वसाधरणको १५ प्रतिशत सेयर हिस्सा छ भने हबिब बैंक पाकिस्तानको २० प्रतिशत सेयर छ । कर्मचारी सञ्चय कोषको १४ प्रतिशत, राजेन्द्र खेतान, हिमालय शम्सेर जवरा र मनोजबहादुर श्रेष्ठको उल्लेख्य सेयर छ ।
पुँजी संरचना दुई अर्ब ४० करोड पुगेका कारण हिमालयनले यसपटक सेयर लाभांसभन्दा नगद लाभांस दिन प्रयास गरेको थियो तर बैंकको क्यापिटल एडुकेसी रेसियो कम भएका कारण बढी सेयर लाभांस दिएको हो ।
अब अर्ब रुपैयाँ माथि नाफा गर्ने नेपाल इन्भेष्टमेन्ट बैंकको बोनस घोषणा बाँकी छ । इन्भेष्टमेन्ट बैंकले पनि बोनस सेयर र नगद लाभांस गरी २५ प्रतिशत हाराहारीमा लाभांस घोषणा गर्ने सम्भावना छ । इन्भेष्टमेन्ट बैंक पनि क्यापिटल एडुकेसी रेसियोका कारण लाभांस घोषणका लागि अफठ्यारोमा छ ।