को बन्ला राष्ट्र बैंकको गभर्नर ? चर्चामा १० नाम

बिजमाण्डू
२०७१ मंसिर २५ गते ००:०० | Dec 11, 2014
को बन्ला राष्ट्र बैंकको गभर्नर ? चर्चामा १० नाम


सुदर्शन सापकोटा/बिजमाण्डू
काठमाडौं । डा. युवराज खतिवडा आगामी चैत ६ गतेदेखि राष्ट्र बैंकको गभर्नरबाट सेवा निबृत्त हुँदैछन् । खतिवडाको कार्यकाल सकिने मिति नजिकिँदै जाँदा नयाँ गभर्नर बन्ने दौड सुरु भइसकेको छ ।
 
सरकार तथा अर्थमन्त्रालयको नेतृत्व नेपाली कांग्रेसले गरिरहेकाले यतिबेला नयाँ गभर्नरका लागि कांग्रेसी बृत्तभित्रकाहरु नै प्रमुख उमेद्वारका रुपमा अगाडि देखिएका छन् । 
 
पाँच बर्षे कार्यकाल हुने गभर्नर पद तुलनात्मकरुपमा कम राजनीतिक हस्तक्षेप हुने  र वित्तीय क्षेत्रमा निकै प्रभावशाली पद हो । विगतको नजिरले पनि सरकार परिवर्तन हुदा गभर्नर हटाउन अर्थमन्त्रीहरु हतारिँदैनन् । गभर्नर हटाउन लामो प्रक्रिया पुरा गर्नुपर्छ । 
 
अर्थमन्त्रालयको प्रमुख सल्लाहकारको भूमिकामा रहेको राष्ट्र बैंकको गभर्नर ग्ल्यामरस पद पनि हो, त्यही भएर पनि यसमा दावी गर्नेहरुको संख्या बढी हुन्छ ।  अहिलेका गभर्नरले योजना आयोग छाडेर राष्ट्र बैंक आउनुको कारण ग्ल्यामर नै भएको सार्वजनिक अभिब्यक्ति दिएका थिए ।
 
सेवा निवृत्त हुनुअघि गभर्नर एक महिना विदा बस्ने प्रचलन छ । गभर्नर विदा बस्नु अघि सरकारले गभर्नर सिफारिष समिति बनाउँछ । गभर्नर नियुक्तिको प्रक्रिया लामो भएकोले पनि अहिले देखिनै संभावितहरुको चर्चा चल्न थालेको हो । 
 
गभर्नरका १० उमेद्वार 
 
१. डा. चिरिन्जबी नेपाल
प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार नेपाल गभर्नरका लागि सबैभन्दा चर्चामा रहेका व्यक्ति हुन् । निजी क्षेत्रमैत्री भनेर चिनिएका नेपाल यसअघि पनि विभिन्न सरकारी पदमा बसिसकेका छन् । 
 
नेपाल धितोपत्र वोर्डको अध्यक्ष भएपछि उनले पुँजी बजारको आधुनिकीकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । अर्थमन्त्रीमा डा. बाबुराम भट्टराई नियुक्त भएपछि उनले कार्यकाल छँदै वोर्ड अध्यक्ष छाडेका थिए ।

Tata
GBIME
NLIC

त्यसपछि परराष्ट्र मन्त्रालयको सल्लाहकार भएका उनी खिलराज रेग्मीको नेतृत्वमा बनेको चुनावी सरकारका पालामा अर्थमन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार भएका थिए । अहिले उनी प्रधानमन्त्री शूसील कोइरालाका प्रमुख आर्थिक सल्लाहकार छन् । उनले निजी क्षेत्रको छाता संगठनहरुमा पनि काम गरिसकेका छन् । नेपाल काठमाडौं विश्वविद्यालयका भिजिटिङ प्रोफेसर हुन् । 
 

भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहले पनि आफ्नै आर्थिक सल्लाहकार रघुराम राजनलाई गभर्नर बनाएका थिए । नेपालमा पनि प्रधानमन्त्रीको नजिक रहेर काम गरिरहेकाले डा. नेपाल आगामी गभर्नर हुने चर्चा धेरै छ । 
 
२. युवराज भुसाल
राष्ट्रि योजना आयोगमा लामो समय सचिव रहेका उनी अर्थमन्त्रालयमा सचिव भएको तीन महिनामै सेवा निबृत्त भएका हुन् । उनी नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेका सम्धि पनि हुन् ।
 
नेपाली कांग्रेसमा केही महिनामै महाधिवेसन हुन लागेकाले पौडेल पक्षलाई आफूसँगै राख्नका लागि कोइराला समूहले पौडेलका सम्धि भुसाललाई गभर्नर नियुक्त गर्नसक्ने तर्क पनि बाहिर आएको छ । सचिव हुँदा राष्ट्र बैंकको वोर्डमा पनि बसिसकेकाले उनलाई त्यहाँ नेतृत्व गर्न सजिलो हुने तर्क पनि गर्न थालिएको छ ।

राजनीतिक बृत्तमा बलियो पहुँच भएकै कारण सचिवबाट अवकास पाएको दोस्रो दिन उनी नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को वरिष्ठ निर्देशक नियुक्त भएका हुन् । 

 
३. पृथ्वीवहादुर पाण्डे
पाण्डे राष्ट्र बैंकका पूर्व जागिरे हुन् । उनी अहिले नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष छन् भने लामो समयसम्म त्यही बैंकको सञ्चालक समिति र व्यवस्थापन नेतृत्व गरेर बसेका थिए । 
 
एउटै व्यक्ति दुई पदमा बस्न नपाउने नीति ल्याएपछि उनले प्रमुख कार्यकारी अधिकृत छाडेर अध्यक्षमा बसेका हुन् । पाण्डे बैंकिङ बाहेक अरु थुप्रै व्यवसायमा सक्रिय छन् । उनले ठमेलमा छाँया सेन्टर निर्माण गरेर त्यहाँ पाँच तारे होटल बनाउने योजनालाई अगाडि बढाइरहेका छन् । हवाइ क्षेत्रमा पनि उनले लगानी गरेका छन् ।
 
अर्थमन्त्री डा. महतसँग नाताले सम्धि पर्ने भएकाले पनि उनको नाम चर्चामा आएको हो । अघिल्लो पटक गभर्नर नियुक्तिका बेला पनि उनको नाम चर्चामा थियो । गभर्नर बन्न निजीबैंकको अध्यक्ष पद छाड्नुपर्छ । 
 
४. वीरबिक्रम रायमाझी
रायमाझी राष्ट्र बैंकको डेपुटी गभर्नर हुँदा गभर्नर पदका लागि दुई पटक सिफारिस भइसकेका व्यक्ति हुन् । राष्ट्र बैंकबाट अवकास भएपछि उनी युनाइटेड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत भएका थिए । 
 
उनले गत महिना इन्स्योरेन्सबाट राजीनामा दिए । गभर्नर बन्ने दौडमा सहभागि हुन प्रमुख कार्यकारीबाट राजीमानामा दिएको चर्चा चलेको छ । तत्कालिन दरवारिया लबीले उनलाई डेपुटी गभर्नर बनाउन सहयोग गरेको थियो ।

उनी डेपुटी गभर्नर नियुक्त भएपछि राजनसिंह भन्डारीले राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा गरेका थिए । त्यसपछि भण्डारी सिटिजन्स् बैंक इन्टरनेशनल खोलेर प्रमुख कार्यकारी अधिकृत भएका हुन । उनी अहिले पनि प्रमुख कार्यकारी छन् ।
 

रायमाझीलाई कांग्रेस नेतृ सुजाता कोइरालाले सघाइरहेको चर्चा छ । अघिल्लो पटक गभर्नर सिफारिस हुँदा पनि अन्तिम समयसम्म सुजाताले उनलाई सघाएकी थिइन् । 
 
५. राजनसिंह भण्डारी
भण्डारी राष्ट्र बैंककै उत्पादन हुन् । उनी त्यहाँ नियमन, सुपरिवेक्षण, विदेशी विनिमयलगायत शक्तिशाली विभागहरु चलाएर खारिएका व्यक्ति हुन् ।

राष्ट्र बैंक छाडेपछि निजी क्षेत्रको बाणिज्य बैंक हाँकिरहेका उनी बैंकरहरुका पनि नेता भइसकेका छन् ।

केही दिनअघि मात्र उनले बैंकर्स संघको अध्यक्षको कार्यकाल पुरा गरेका छन् ।
 

अर्थमन्त्री डा. रामशरण महतसँग व्यक्तिगत रुपमा निकै नजिक रहेका कारण पनि उनको नाम चर्चामा रहेको हो ।

निजी क्षेत्रका बैंकका कतिपय प्रवद्र्धक तथा प्रमुख कार्यकारीले पनि उनलाई गभर्नरका रुपमा अगाडि सारिरहेका छन् ।

उनी आफैले भने यसलाई स्वीकार नगरेको बताउने गरेका छन् ।

 
६. महाप्रसाद अधिकारी
गभर्नर नियुक्त गर्नुअघि नै सरकार परिवर्तन भए महाप्रसाद अधिकारी आगामी गभर्नरका बलियो उमेद्वार हुन् ।

नेकपा एमालेको रोजाइमा अधिकारी भएकाले सरकार ढलेमा उनी गभर्नर हुने चर्चा पनि एउटा बृत्तमा छ । उनी अहिले डेपुटी गभर्नर छन् ।

उनलाई बैकिङ क्षेत्रमा क्षमतावान व्यक्तिका रुपमा लिइन्छ ।

 
यी छ वटा नामबाहेक अरु चार नाम पनि चर्चामा छन् तर ती नामका बारेमा त्यति ठूलो चर्चा बजारमा छैन ।

डेपुटी गभर्नर गोपाल काफ्ले, राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक रवीन्द्र पाण्डे, अर्का पूर्वकार्यकारी निर्देशक डा. गोविन्द बहादुर थापा र अर्थविद् विश्वम्भर प्याकुरेलको नाम पनि धेरथोर चर्चामा छ ।