
काठमाडौं। बुधबारबाट बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेपनि सेयर बजारमा भने सकारात्मक प्रभाव देखिएको छैन।
जसका कारण साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार राताम्मे भएर बन्द भएको छ। बिहीबार नेप्से ५.३२ अंकले घट्दा परिसूचक १९३३.३१ बिन्दुमा झरेको छ। यस्तै सेन्सेटिभ इन्डेक्स पनि ०.५१ अंकले घटेको हो।
आज कारोबार रकम पनि खासै उत्साहजनक देखिँदैन। बजार घट्दा लगानीकर्ताको सक्रियता पनि घट्ने भएकाले कारोबारमा पनि उत्साह नदेखिएको जानकार बताउँछन्। बिहीबार १ अर्ब १४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। जुन बुधबारको तुलनामा केही कम हो।
कारोबारका आधारमा बिहीबार एनआइसी एशिया बैंक अग्रस्थानमा छ। एनआइसी एशिया बैंकको ४ करोड ९४ लाख बराबरको सेयर कारोबार भएको हो। यस्तै, नबिल बैंकको पनि ३ करोड ९६ लाख बराबरको सेयर कारोबार भएको छ।
बजारमा तरलता सामान्य बन्दै गइरहेको अवस्था छ। बैंकहरुले ब्याजदर समेत क्रमश: घटाउँदै लगेका छन्। तर, केही ब्रोकरहरुका अनुसार लगानीकर्ताहरु अबको अर्थमन्त्रीको नजर सेयर बजारप्रति कतिको सकारात्मक हुन्छ भन्ने पर्खाइमा रहेको बताउँछन्।