नाफामा एप्पलसँग पछि पर्यो सामसङ, सामसङको भन्दा एप्पलको नाफा ६० करोड बढी

बिजमाण्डू
२०६९ कात्तिक १३ गते ००:०० | Oct 29, 2012
नाफामा एप्पलसँग पछि पर्यो सामसङ, सामसङको भन्दा एप्पलको नाफा ६० करोड बढी

न्युर्योक । अमेरिकाको मोबाइल फोन उत्पादक कम्पनी एप्पलले दक्षिण कोरियाको विद्युतीय सामाग्री उत्पादक कम्पनी सामसङलाई नाफामा उछिनेको छ । एप्पलले तीन महिनाको अवधिमा ८ अर्ब  २० करोड डलर नाफा गरेको छ । तर सामसङले तीन महिनामा झन्डै ६ अर्ब अमेरिकी डलर बराबरको नाफा गरेको छ । गतवर्ष एप्पलको नाफा ६ अर्ब ६० करोड डलर थियो ।
एप्पलले आइफोन बजारमा ल्याएपछि सामसङलाई उछिनेको हो । तीन महिनाको अवधिमा एप्पलका २ करोड ६९ लाख थान आइफोन बिक्री भएको थियो । सोही अवधिमा १ करोड ४० लाख आइप्याड बिक्री भएका थिए । सामसङले ग्यालेक्सी सिरिजका स्मार्ट फोन बिक्री उच्च भएपछि गएको तीन महिनामै ५ अर्ब ९० करोड डलर नाफा गर्न सफल भएको हो । कम्पनीका टेलिभिजन बिक्री पनि उच्च दरले बढेको छ । सामसङले स्मार्ट टेलिभिजन बजारमा ल्याएकोले मुनाफा बढेको हो ।
सामसङका स्मार्टफोन र ट्याब्लेट पिसीलाई आवश्यक एप्लिेकसन प्रोसेसर र इमेज सेन्सर बिक्री पनि झन् उच्च दरले बढेको दावी कम्पनीको छ । सामसङ र एप्पलबीच हाल १० भन्दा बढी देशमा एकअर्काको प्रतिलिपि अधिकारी उल्लंघन गरेको आरोपमा कानुनी लडाइँ चलिरहेको छ । यो वर्ष सुरुमा अमेरिकाको एक अदालतले एप्पलको पेटेन्ट अधिकार सामसङले चोरी गरेको ठहर गर्दै एप्पललाई १ अर्ब डलर क्षतिपूर्ति दिन सामसङलाई आदेश दिएको थियो । यसविरुद्ध सामसङले पुनरावेदन गरेको छ ।

Tata
GBIME
Nepal Life