
काठमाडौं। बुधबार राति ग्यास दुर्घटनामा परेर घाइते भएका कांग्रेस सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि श्री एयरलाइन्सको जहाजमार्फत मुम्बई लगिँदै छ।
स्वास्थ्यकर्मी र आधारभूत सेवासहितको जहाजमार्फत पौने ३ घण्टामा मुम्बईको नेस्नल बर्न सेन्टर पुर्याउने तयारी भइसकेको श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले बताए।
‘हामीले नागरिक उड्डयन प्राधिकरण र भारतबाट यो उडानका लागि इजाजात पाइसकेका छौं। बिरामीलाई किर्तीपुरस्थित बर्न अस्पतालबाट विमानस्थलतर्फ ल्याइँदै गरेको जानकारी आएको छ,’ प्रवक्ता मानन्धरले भने,’यहाँबाट उडान गरेको पौने ३ घण्टामा मुम्बई पुर्याइनेछ।’

कम्पनीको सीआरजे-२०० सिरिजको जहाजमा मेडिकल टिम र बिरामीका लागि आवश्यक पर्याप्त सामग्री तयार गरिसकेको उनले जानकारी दिए।
ग्यास दुर्घटना हुँदा घाइते भएका सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारीलाई उपचारका लागि कीर्तिपुर अस्पतालमा लगिएको थियो। उपचारको क्रममा भण्डारीकी आमाको निधन भइसकेको छ।