
काठमाडौं। हिरो मोटोकर्पले व्यवसाय विस्तारमा सुस्त रहेको भन्दै नेपाल जनरल मार्केटिङ (एनजीएम)सँगको आधिकारिक बिक्रेता टर्मिनेट (खारेज) गरेको छ।
हिरोले केही समयअघि एनजीएमलाई पत्र पठाउँदै थप व्यवसायिक सम्बन्ध अघि बढाउन नसक्ने जानकारी दिएको हो। योसँगै हिरो र ज्योति समूह अन्तर्गतको एनजीएमसँगको झण्डै ३५ वर्षदेखिको व्यवसायिक सम्बन्ध टुंगिएको छ।
यो समूहका अध्यक्ष डा. रुप ज्योति र हिरो मोटोर्कर्पका अध्यक्ष तथा सीइओ डा. प्रेमकान्त मुन्जाल परिवारबीच निकटको सम्बन्ध थियो। र, त्यही सम्बन्धका कारण पनि एनजीएमको आधिकारिक बिक्रेता नखोसिने अनुमान गरिएको थियो।
तर, पछिल्लो समयमा नेपालमा हिरोका मोटरसाइकल र स्कुटरको बिक्री दिनप्रतिदिन घट्न थालेपछि हिरोले विकल्प खोजेको हो। हिरोले एनजीएमसँग आधिकारिक बिक्रेता टर्मिनेट गरेकै कारण दुई महिनादेखि बाइक र स्कुटर डेलिभरी पनि गरेको छैन। ज्योति समूहका अध्यक्ष डा. ज्योतिले हिरोसँग केही समस्या भएपनि मिलाउने प्रयास भइरहेको स्वीकारे।
‘हिरोको म्यानेजर लेभलमा केही समस्या थिए। त्यसलाई सल्टाउने प्रयास भइरहेको छ,’ उनले बिजमाण्डूसँग भने, ‘हाम्रो लामो सम्बन्ध भएका कारण समस्या हल हुनेमा विश्वस्त छौं।’
हिरोले एनजीएमसँग टर्मिनेट गर्नुअघि नेपालमा अटोमोबाइलका केही लिडर कम्पनीलाई फोन गरेको थियो। कम्पनीका उच्च तहका कर्मचारीले टेलिफोन गर्दै हिरोको हेडक्वाटर बोलाएका थिए। कर्पोरेट गभर्नेन्स भएका र राम्रो नेटवर्क भएका कम्पनीका सीइओलाई बोलाएर व्यवसाय गर्न प्रस्ताव गरेका थिए।
त्यो बेलामा एनजीएमले ब्राण्ड विस्तारमा ध्यान नदिएको र त्यसले व्यापार खस्किँदै गएका कारण विकल्प खोज्नुपरेको बताएका थिए। ‘उहाँहरुले हिरोको ब्राण्ड मार्केटिङ र ब्राण्डिङमा ध्यान दिनुभएन। जसका कारण हाम्रो ब्राण्ड नै समस्यामा पर्ने देखिएकाले विकल्प खोजेका हौं,’ हिरोका उच्च तहका कर्मचारीले भनेका थिए।
हिरोले एनजीएमलाई टर्मिनेट गर्नु अघि नेपालका ठूला अटोमोबाइल कम्पनीमा उच्च तहका कर्मचारीलाई भिजिटका लागि समेत पठाएको थियो। उनीहरुले आएर ती कम्पनीको नेटवर्क, व्यवसायिक स्ट्रेन्थ, बिक्रीपछिको सेवा लगायतका प्राविधिक पक्ष समेत बुझेका थिए।
हिरोको आधिकारिक बिक्रेता लिन प्रतिस्पर्धा
नेपालका ठूला व्यवसायिक घरानाले हिरोको आधिकारिक बिक्रेता लिन प्रतिस्पर्धामा छन्।
स्रोतका अनुसार हुण्डाई गाडीको नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल, मारुती सुजुकी बेच्दै आएको सीजी होल्डिङ, टाटा गाडीको बिक्रेता सिप्रदी ट्रेडिङ र फोर्ड गाडी बिक्री गर्दै आएको गोफोर्डले बिक्रेता बन्न आवेदन दिएको छ।
दुई महिना अघि नै यी कम्पनीले हिरोमा आवेदन दिएका हुन्। हिरोले अहिलेसम्म कुनै निर्णय भने गरेको छैन। स्रोतका अनुसार सबै कम्पनीले आफ्नो स्ट्रेन्थ र व्यवसायिक योजना पेस गरेका छन्। स्रोतका अनुसार कम्पनीले आन्तरिक मूल्यांकन गरिरहेको छ। त्यही योजनाका आधारमा कम्पनीले नेपालमा आधिकारिक बिक्रेता तोक्नेछ।
एनजीएमले कति बेचिरहेको थियो बाइक-स्कुटर ?
एनजीएम हिरोले केही वर्षअघि वार्षिक २५ हजारदेखि ३० हजार युनिट हिरोका स्कुटर तथा बाइक बिक्री गर्दै आएको थियो। तर, गत वर्षदेखि यो संख्या घटेर १० हजार युनिटभन्दा कम बिक्री भएको छ।
‘कम्पनीले एसेम्बली प्लान्ट समेत निर्माण गरिसकेको थियो। तर कम्पनीको यस्तो खालको पर्फमेन्सले एसेम्बली प्लान्ट समेत संचालन गर्न नसक्ने भन्दै टार्गेट पुरा गरेर देखाउन भनेको थियो,’ स्रोतले भन्यो, ‘ प्लान्ट राख्नका लागि पनि वार्षिक रुपमा १० हजार युनिटले नपुग्ने हिरो मोटोकर्पले एनजीएमलाई बताउँदै आएको थियो।’
स्रोतका अनुसार एनजीएमले लगाएको एसेम्ब्ली प्लान्ट पनि ठूलो लगानीको भने छैन।
१० वर्षअघि नै विकल्प खोजेको थियो
ज्योति समूहको स्याकार कम्पनी लिमिटेडले सन् १९८६ देखि हिरोहोण्डा ब्राण्डको मोटरसाइकलको आधिकारिक वितरकका रूपमा काम गर्दै आएको थियो। सन् २०१० मा जब हिरो र होण्डा छुट्टिएपछि ज्योति समूहमा पनि समस्या सुरु भयो।
ज्योति भवनमा दायाँ होण्डा र बायाँ हिरोको शोरुम खडा भयो। कर्मचारी छुट्याइए, मेकानिक छुट्याइए, वेयरहाउस छुट्टियो, प्रोक्योरमेन्ट छुट्टाछुट्टै हुन थाल्यो। स्याकार कम्पनीले होण्डाको वितरण गर्ने, अनि नेपाल जनरल मार्केटिङ प्रालि (एनजीएम) ले हिरो ब्राण्डको बिक्रीवितरण गर्ने निर्णय भयो। यसरी एकै परिवार भित्रको व्यापार दुई भागमा बाँडियो।
कुनै बेला एउटै ब्राण्डका लागि काम गरिरहेका दाजुभाई अब प्रतिस्पर्धीका रूपमा दुई छुट्टाछुट्टै ब्राण्डको बजार विस्तारमा लागे। त्यही बेलामा पनि हिरो मोटोकर्पले विकल्प खोजेको थियो।
र, केही व्यापारिक घरानाले हिरोको बिक्रेता लिन खोजेका थिए। तर, अटोमोबाइल क्षेत्रका ठूला व्यवसायिक घरानाको साथकै कारण हिरोले एनजीएमलाई नै निरन्तरता दियो।