
काठमाडौं। आयोजना कार्यान्वयन निर्देशनालय (पीआइडी) ले ९ अर्ब ६२ करोड बराबरको थोक वितरण प्रणाली, संरचना र पानी ट्यांकीको स्वामित्व काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरेको छ।
निर्देशनालयले मंगलबार बोर्डलाई स्वामित्व हस्तान्तरण गरेको हो। पीआइडी, बोर्ड र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) बीच थोक वितरण प्रणाली, संरचना र पानी ट्यांकीहरूको स्वामित्व हस्तान्तरण गर्न सम्झौता भएको छ।
काठमाडौंको सुन्दरीजलस्थित खानेपानी प्रशोधन केन्दमा प्रशोधित मेलम्चीको खानेपानी काठमाडौंका विभिन्न ९ स्थानमा वितरण भइरहेका छन्। यसका लागि १० वटा खानेपानी ट्यांकीहरूमा पानी आपूर्तिका लागि बिछ्याइएका पाइपलाइन र निर्माण गरिएका संरचना तथा ट्यांकीहरूको स्वामित्व हस्तान्तरण गरिएको बोर्डले जनाएको छ।
खानेपानी मन्त्रालयका सहसचिव त्रिरेशप्रसाद खत्रीको उपस्थितिमा उक्त सम्झौतापत्र (मेमोरेन्डम अफ अग्रिमेन्ट) मा आयोजना निर्देशक राजेन्द्र सापकोटा, बोर्डका कार्यकारी निर्देशक सञ्जीव विक्रम राणा र केयुकेएलका उपप्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरेका छन्।
आयोजनाका निर्देशक सापकोटाले थोक वितरण प्रणालीका संचालन निर्देशिका (अपरेसन म्यान्युअल), जगेडा पाइप तथा फिटिंस्, दुईवटा सवारीसाधन, थोक वितरण प्रणालीको नक्सा, जीआइएस नक्सा र परीक्षण प्रमाणपत्र (टेष्ट सर्टिफिकेट) बोर्डलाई हस्तान्तरण गरेका हुन्।
निर्देशनालयबाट स्वामित्व लिएपछि बोर्डले तत्कालै सुरु हुने गरी थोक वितरण प्रणालीको संचालन, मर्मतसम्भार र खानेपानीको गुणस्तर कायम गर्ने कामको जिम्मा केयुकेएललाई दिने व्यवस्था छ।