
काठमाडौं। टीभीएसले ९ महिनामा ५९ हजार युनिटभन्दा धेरै ‘आईक्युब’ मोडलको इलेक्ट्रिक स्कुटर बिक्री गरेको छ।
टीभीएसले यो इलेक्ट्रिक स्कुटरको अपडेट भर्सन आईक्युबलाई २०२२ को मे महिनामा सार्वजनिक गरेको थियो। त्यसपछि हालसम्म कम्पनीले ५९ हजार युनिट आईक्युब मोडल बिक्री भएको जनाएको छ।
योसँगै टीभीएस आईक्युब इलेक्ट्रिक स्कुटरले भारतमा विद्युतीय दुई पांग्रे सवारी बिक्रीमा उल्लेखनीय वृद्धि देखाएको छ। यसरी विद्युतीय स्कुटरको बजार बढ्नुमा सरकारले विद्युतीय सवारीलाई प्रथामिकता दिएको र उपभोक्ताहरुलाई यस बारे सचेतना जगाउन मद्दत गरेकाले यस्तो भएको कम्पनीले जनाएको छ।
भारतीय विद्युतीय टु-ह्वीलरको बजार सकारात्मक रुपमा अगाडि बढिरहेको कम्पनीको भनाइ छ। विज्ञहरूले आगामी वर्षहरूमा पनि यसरी नै निरन्तर वृद्धि हुँदै जाने भविष्यवाणी गरेका छन्।
टीभीएसको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले पनि यो स्कुटर नेपाल ल्याएर परीक्षण गरिरहेको छ। कम्पनीले परीक्षणको काम सम्पन्न भएपछि लगतै यो स्कुटर नेपालमा ल्याउने तयारीमा रहेको जनाएको छ।