
काठमाडौं । खुकुरी रम उत्पादन गर्दै आएको दि नेपाल डिस्टीलरिजले खेल प्रवर्द्धनमा सहयोग गरेको छ। खेलहरुको प्रवर्द्धन र खेलाडीहरुको मनोबल बढाउन कम्पनीले विभिन्न लिग तथा इभेन्टहरुमा सहकार्यको अभ्यास सुरु गरेको जनाएको छ।
खुकुरी रमले हालै प्रदेश १ को धरानमा आयोजित गल्फ प्रतियोगितामा सहकार्य गरेको हो।
गल्फ खेलको प्रवर्द्धन र खेलाडीहरुको मनोबल वृद्धिका लागि आफूहरुले धरान गल्फ क्लबसँग सहकार्य गरेको दि नेपाल डिस्टीलरिजकी इभेन्ट म्यानेजर सुदिक्षा अधिकारीले जानकारी दिइन्।
खुकुरी रमले खेलहरुको प्रवर्द्धनका लागि यस्ता इभेन्टहरुमा सहयोग गर्दै आएको छ।
यसअघि फुटबलको नेपाल सुपर लिग र क्रिकेटको एभरेष्ट प्रिमियर लिगमा समेत आफूहरुले सहकार्य गरेको अधिकारीले बताइन्।
सहकार्यले नेपालको खेल क्षेत्रको प्रवर्द्धनमा थोरै भए पनि सहयोग पुग्ने र खेलाडीहरुको मनोबल समेत वृद्धि हुने उनको अपेक्षा छ। खुकुरी रमले आगामी दिनमा समेत सहकार्यको यो श्रृंखलालाई जारी राख्ने उनले बताइन्।
खुकुरी रमले हिमाल सरसफाई, दुर्गमका अति विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्रीमा सहयोगजस्ता अन्य बिभिन्न सामाजिक सेवामा समेत सक्रियता देखाउँदै आएको कम्पनीले जनाएको छ ।