टी- २० लिगमा फिक्सिङ : सेभेनथ्री स्पोर्टस नै बेटिङमा लागेको अनुसन्धानमा खुल्यो

बिजमाण्डू
२०७९ पुष २४ गते १५:५१ | Jan 8, 2023
टी- २० लिगमा फिक्सिङ : सेभेनथ्री स्पोर्टस नै बेटिङमा लागेको अनुसन्धानमा खुल्यो


काठमाडौं। नेपाल प्रहरीको प्रारम्भिक अनुसन्धानमा नेपाल टि २० लिगमा ‘फिक्सिङ’ भएको प्रमाणित भएको छ। फिक्सिङको आरोपबिच अहिले पनि सो लिग जारी छ। आजबाट लिगको क्वालिफायर खेल सुरु हुँदैछन्।

Tata
GBIME
NLIC

क्रिकेट एशोसिएसन अफ नेपाल (क्यान)को मुख्य साझेदार सेभेनथ्री स्पोर्ट्स भागेको देखि खेलाडीले पैसा नपाएको, बेटिङ भएको देखि खेलाडीको श्रम स्वीकृतिको विषयले यो लिग सुरुदेखि नै विवादित बनेको थियो। काठमाडौं नाइट्स लगायतका टोलीको खेलाडीलाई ‘फिक्सिङ’का लागि अफर गरेको खबर बाहिरिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा लिगमा ‘बेटिङ’ हुने गरेको देखिएको हो। भारत भागेको क्यानको मुख्य साझेदार सेभेनथ्री स्पोर्ट्स नै ‘बेटिङ’मा लागेको प्रहरी अनुसन्धानमा खुलेको छ। सो कम्पनीले एक खेलाडीलाई एक लाखदेखि तीन लाखसम्म ‘अफर’ गरेको समेत खुलेको छ।

सेभेनथ्री स्पोर्ट्सका मालिक भारत गएपछि पनि उनले क्यानलाई एक करोड रुपैयाँ पठाएको समेत देखिएको छ।

प्रहरीको अनुसन्धानमा फिक्सिङमा ३ देखि ४ जना नेपाली र ५ जनाभन्दा बढी विदेशी नागरिकको भूमिका देखिएको खुलेको छ।

लिगमा अनिमियतता भएको खबर बाहिरिएपछि आइसीसीको दुई सदस्यीय टोलीसमेत नेपाल आएको थियो। सो टोलीले पनि प्रहरीलाई अनुसन्धान अघि बढाउन सुझाव दिएको थियो।