काठमाडौं। भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट 'टच डाउन' उडानका लागि नेपाल वायुसेवा निगमले गृहकार्य थालेको छ। यो विमानस्थलहुँदै मलेसिया र कतार उडान गर्न बीचमा पर्ने विभिन्न मुलुकसँग ओभर फ्लाइको स्वीकृति लिन प्रक्रिया सुरु गरेको निगमले जनाएको हो।
दुई गन्तव्य उडानका लागि भारत, बर्मा, बंगलादेश, बैंकक लगायतमा ओभर फ्लाइङ अनुमति लिने प्रक्रिया सुरु गरेको निगमकी प्रवक्ता अर्चना खड्काले बताइन्। निगमले अहिले भएकै उडान तालिकामा यी दुई गन्तव्यमा उडान गर्ने उनले जानकारी दिइन्।
'कुनै पनि अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने भएपछि सम्बन्धित गन्तव्यमा उडान गर्नका लागि विभिन्न मुलुकसँग ओभर फ्लाइ अनुमति लिनुपर्ने हुन्छ। अहिले हामी त्यो चरणमा छौं,' प्रवक्ता खड्काले बिजमाण्डूसँग भनिन्।
उनका अनुसार दुवै मुलुकमा निगमले सुरुमा काठमाडौंबाट उडान गर्नेछ भने फर्कँदा भैरहवा हुँदै काठमाडौं अवतरण हुनेछ।
निगमले सुरुमा मलेसिया साताको एउटा र कतार साताको दुईवटा उडान गर्ने योजना बनाएको छ। यो उडान गर्दा तत्काल आम्दानी वृद्धि नभए पनि निकट भविष्यमा माग वृद्धि भएको अवस्थामा उडान संख्या विस्तार गर्ने योजना रहेको उनले बताइन।
निगमले आउँदो पुस ४ गतेबाट भैरहवा टच डाउन गर्दै यी दुई गन्तव्यमा व्यवसायिक उडान गर्ने उद्देश्य लिएको छ।
भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ६ महिना अघिदेखि संचालनमा आएको हो। यो विमानस्थलमा हाल कुवेतको जजिरा एयरवेज र नेपालको निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले व्यवसायिक उडान गर्दै आएका छन्।
आउँदो डिसेम्बर १६ बाट अरु वायुसेवा कम्पनीलाई पनि यो विमानस्थलबाट नियमित उडान संचालन गर्नका लागि नागरिक उड्डयन प्राधिकरणले निर्देशन दिइसकेको जनाएको छ।