काठमाडौं। आइतवारबाट एनआइसी एसियाको ५० करोड रुपैयाँको ऋणपत्र ‘एनआइसी एसिया बण्ड २०७७’ निष्कासन हुँदै छ । कुल रकम मध्ये ४० करोड रुपैयाँको ऋणपत्र बैंकले व्यक्तिगत तवरले र १० करोड रुपैया सर्वसाधारणमा बिक्री गर्न लागेको हो । प्रति इकाइ एक हजार रुपैयाँ मूल्य रहेको यो ऋणपत्रको बिक्री बन्द चाँडोमा बैसाख २४ गते र ढिलोमा जेठ चार गते हुने छ ।
सात बर्षे अवधिको यो ऋणपत्रको व्याजदर बार्षिक ७.२५ प्रतिशत रहेको छ भने ऋणपत्रको व्याज भुक्तानी प्रत्येक छ/छ महिनामा हुने छ । पौष मसन्ता र असार मसान्तमा व्याज भुक्तानी गर्ने तलिका रहेको छ । बैंकको ऋणपत्रमा एनआइसी एसियाको शाखा कार्यालयहरु र बिक्री प्रबन्धक नबिल क्यापिटलको कार्यालयबाट आवेदन दिन सकिने छ । बैकको ऋण पत्रमा न्युन्तम २५ इकाइको लागि आवेदन दिन सकिने छ ।
बैंकले सर्वसाधारणमा जारी गर्न लागेको १० करोड ऋणपत्र मध्ये दुई करोड ५० लाख (२५ हजार) इकाइ सामुहिक लगानी कोषको लागि छुट्याएको छ । बैंकले ऋण पत्र भुक्तानीको लागि हरेक बर्ष नाफा नोक्सान बाँडफाट हिसाब खाताबाट सात करोड १४ लाख २८ हजार रुपैयाँको दरमा ऋणपत्र जगेडा कोषमा रकम राख्ने भएको छ ।
बैंकले पुरक कोष बढाउन तथा वित्तीय कारोबारको दायरा बढाउन ऋणपत्र उठाउन लागेको उल्लेख गरेको छ । यस ऋणपत्रको निष्कासन तयारी नेपाल इण्डष्ट्रियल एण्ड कमर्स बैंक र बैंक अफ एसिया बीच मर्जर अगावै भएको थियो । मर्जर लगायतको कारण निष्कासनको समय केही पछि धकेलिएको ऋणपत्रले क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालबाट एल ए माइनस (एलए -) रेटिङ पाएको थियो । इक्रा नेपालका प्रमूख कार्यकारी अधिकृत दिपकराज काफ्लेका अनुसार ऋणपत्रको रेटिङ पुर्नमूल्यांकन भइसकेको र सोही रेटिङ नै कायम रहेको छ । एलए माइनस रेटिङले समयमै भुक्तानी हुने र न्युन जोखिम युक्त रहेको जनाउँछ ।











