BIZMANDU
www.bizmandu.com

आइतवारबाट एनआइसी एसियाको ५० करोड रुपैयाँको सात बर्षे अवधिको ऋणपत्र निष्कासन, ७.२५ प्रतिशत व्याज

२०७१ बैशाख १०

काठमाडौं। आइतवारबाट एनआइसी एसियाको ५० करोड रुपैयाँको ऋणपत्र ‘एनआइसी एसिया बण्ड २०७७’ निष्कासन हुँदै छ । कुल रकम मध्ये ४० करोड रुपैयाँको ऋणपत्र बैंकले व्यक्तिगत तवरले र १० करोड रुपैया सर्वसाधारणमा बिक्री गर्न लागेको हो । प्रति इकाइ एक हजार रुपैयाँ मूल्य रहेको यो ऋणपत्रको बिक्री बन्द चाँडोमा बैसाख २४ गते र ढिलोमा जेठ चार गते हुने छ । 
सात बर्षे अवधिको यो ऋणपत्रको व्याजदर बार्षिक ७.२५ प्रतिशत रहेको छ भने ऋणपत्रको व्याज भुक्तानी प्रत्येक छ/छ महिनामा हुने छ । पौष मसन्ता र असार मसान्तमा व्याज भुक्तानी गर्ने तलिका रहेको छ । बैंकको ऋणपत्रमा एनआइसी एसियाको शाखा कार्यालयहरु र बिक्री प्रबन्धक नबिल क्यापिटलको कार्यालयबाट आवेदन दिन सकिने छ । बैकको ऋण पत्रमा न्युन्तम २५ इकाइको लागि आवेदन दिन सकिने छ  । 
बैंकले सर्वसाधारणमा जारी गर्न लागेको १० करोड ऋणपत्र मध्ये दुई करोड ५० लाख (२५ हजार) इकाइ सामुहिक लगानी कोषको लागि छुट्याएको छ । बैंकले ऋण पत्र भुक्तानीको लागि हरेक बर्ष नाफा नोक्सान बाँडफाट हिसाब खाताबाट सात करोड १४ लाख २८ हजार रुपैयाँको दरमा ऋणपत्र जगेडा कोषमा रकम राख्ने भएको छ । 
बैंकले पुरक कोष बढाउन तथा वित्तीय कारोबारको दायरा बढाउन ऋणपत्र उठाउन लागेको उल्लेख गरेको छ । यस ऋणपत्रको निष्कासन तयारी नेपाल इण्डष्ट्रियल एण्ड कमर्स बैंक र बैंक अफ एसिया बीच मर्जर अगावै भएको थियो । मर्जर लगायतको कारण निष्कासनको समय केही पछि धकेलिएको ऋणपत्रले क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालबाट एल ए माइनस (एलए -) रेटिङ पाएको थियो । इक्रा नेपालका प्रमूख कार्यकारी अधिकृत दिपकराज काफ्लेका अनुसार ऋणपत्रको रेटिङ पुर्नमूल्यांकन भइसकेको र सोही रेटिङ नै कायम रहेको छ । एलए माइनस रेटिङले समयमै भुक्तानी हुने र न्युन जोखिम युक्त रहेको जनाउँछ ।  
 

Tata
GBIME
Nepal Life