नेपाल बैंकको मकवानपुर पालुङ्गमा शाखा पुर्नस्थापित, आधुनिक बैकिङ्ग सेवा उपलब्ध हुने

बिजमाण्डू
२०६९ असोज ७ गते ००:०० | Sep 23, 2012
नेपाल बैंकको मकवानपुर पालुङ्गमा शाखा पुर्नस्थापित, आधुनिक बैकिङ्ग सेवा उपलब्ध हुने


काठमाडौं । नेपाल बैँक लिमिटेडले मकवानपुर पालुङ्ग बजारमा शुक्रबारदेखि आफ्नो शाखा पुन सञ्चालनमा ल्याएको छ । पुनस्थापित शाखाको बैंक व्यबस्थापन समितिका संयोजक प्रा. डा. देवराज अधिकारीले शुक्रबार उद्घाटन गर्दै पालुङ्ग क्षेत्रका किसानहरुको उधमशिलताले गर्दा बैंकको शाखा पुनस्थापना भएको बताए । उनले यस क्षेत्रका उधमी व्यवसायीले बैकिङ्ग सेवाको फाइदा लिई आर्थिक सम्बृद्धिको अभियानमा अगाडि बढाउनु पर्ने पनि बताए ।
कार्यक्रममा बैक व्यबस्थापन समुहका संयोजक, महेश्वरलाल श्रेष्ठले पुनस्थापित बैंक शाखाबाट आधुनिक बैंकिङ्गको सम्पूर्ण सुविधाहरु उपलब्ध हुने जानकारी दिए । उनले कृषिजन्य उत्पादनको लागि आवश्यक विभिन्न व्यवसायीक योजनामा व्यवसायी किसान एवं उधमीसंग साझेदारी गर्दै अगाडि बढ्ने योजनाका साथ बैंक स्थापना भएको बताए ।
संयोजक श्रेष्ठले बैंक विगत दश बर्षदेखि लगातार नाफामा रहेको, बैंकमा ५६ अर्व रुपैयाँ निक्षेप रहेको र ३० अर्व रुपैयाँ कर्जा प्रवाह भएको जानकारी दिए । उनले बैंकको खरावकर्जा अनुपात ५.२९ प्रतिशतमा झरेको बताउँदै बैंकले साना देखि ठूलासम्म सबै ग्राहकको सुविधाको लागि १२ प्रतिशत व्याज दरमा कृषिकर्जा योजना कार्यान्वयनमा ल्याएको जानकारी दिए ।
स्थानिय ज्येष्ठ नागरिक गंगा विष्णु ढकालको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा स्थानीय व्यवसायी विमलकुमार ढकालले सामाजिक सुरक्षाभत्ता, पेन्सन तथा अन्य बैंकिङ्ग सेवा उपलब्ध गराई ग्रामीण क्षेत्रमा बैंकिङ्ग पहुँच पुयाउनमा नेपाल बैंकले गरेको योगदानको प्रसंशा गरे ।
पालुङ्ग सामुदायीक सेवा केन्द्रका अध्यक्ष सुरेन्द्रमान प्रधानले पालुङ्गको आर्थिक रुपान्तरणको लागि नेपाल बैंकको उपस्थिति सराहनीय हुने विश्वास व्यक्त गरे । पालुङ्ग जेशिसका अध्यक्ष धर्म प्रधानले बैंक पुनस्थापनाले यस क्षेत्रका कृषक तथा व्यासायीहरुमा उत्साह थपेको बताए ।
नेपाल बैंक लिमिटेडका मुख्य प्रबन्धक, पुष्पप्रसाद श्रेष्ठ, र पालुङ्ग शाखा प्रबन्धक तेजनारायण प्रसाद साहले गुणस्तरीय ग्राहक सेवाका साथ शाखाले बैंकिङ्ग सेवा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।  अब बैंकको शाखा सञ्जाल ११४ पुगेको छ ।

Tata
GBIME
NLIC