सुरुङमार्गमा विदेशमा बस्ने नेपालीको साथ, सर्वसाधरणमा सेयर जारी गर्न बिक्री प्रवन्धकसँग छलफल

बिजमाण्डू
२०७० असार २७ गते ००:०० | Jul 11, 2013
काठमाडौं । निजी क्षेत्रले बनाउन लागेको बहुप्रतिक्षित काठमाडौं– हेटौंडा सुरुङमार्ग निर्माणमा विदेशमा बसेका नेपालीले लगानीमा उत्साहजनक सहभागिता देखाउन थालेको छ । निजी क्षेत्रबाट ‘एसियन हाइवे’ स्तरको सुरुङमार्ग निर्माण हुन लागेको उत्साहित हुँदै लगानीको प्रतिवद्धता गर्ने क्रम बढेको हो । लगानी जुटाउने क्रममा नेपाल पूर्वाधार विकास कम्पनीको प्रतिनिधिमण्डलले युरोप र अमेरिकामा गरेको हालैको भ्रमणमा त्यहाँ रहेका नेपालीले मुलुक विकासमा नयाँ अध्याय थप्ने भन्दै उत्साहित भएका हुन् ।

Tata
GBIME
Nepal Life

‘युरोप र अमेरिका भ्रमण गर्दा त्यहाँ रहेका नेपालीले हामीलाई हौसला प्रदान गरेका छन् । उनीहरुले नेपालमा पनि यस्तो परियोजना बन्दैछ भनेर उत्साहित समेत भएका छन्,’ कम्पनीका अध्यक्ष कुशकुमार जोशीले भने, लगानीमा ठूलो समस्या देखिदैन ।’  जर्मनी, स्विज्रल्यान्ड, बेलायत तथा वेल्जियममा रहेका नेपालीहरुले ९६ करोड रुपैयाँ लगानीको प्रतिवद्धता जनाइसकेका छन् ।
लगानीका लागि अमेरिकामा बसोवास गर्ने नेपालीहरुको संगठन अमेरिकन नेप्लिज एसोसिएसन र पूर्वाधार विकास कम्पनीवीच परियोजनामा लगानी जुटाउने सम्झौंतामा हस्ताक्षर समेत भइसकेको छ । कम्पनीका अध्यक्ष जोशी र एसोसिएसनका अध्यक्ष छेवाङ शेर्पा लामाले सम्झौंतामा हस्ताक्षर गरेका हुन् । एसोसिएसन ३० वर्ष भन्दा बढी समयदेखि त्यहाँ कार्यरत छ । एसोसिएसनको अमेरिकाभरीनै सञ्जाल छ ।  कम्पनीका अनुसार यो वाहेक अरु लगानी आउने क्रम समेत बढेको छ । झन्डै ३५ अर्ब रुपैयाँ लगानीमा निर्माणसक्ने लक्ष्यसहित परियोजना अघि बढाइएको छ । सार्वजनिक– निजी– जनता साझेदारीमा निर्माण गर्न लागिएको यो परियोजनामा स्वदेशका नेपाल निर्माण व्यवसायी महासंघ, होटल संघ नेपाल, नेपाल उद्योग वाणिज्य महासंघ, मकवानपुर जिल्ला विकास समिति, प्रभु ग्रुपले लगानी गर्ने प्रतिवद्धता जनाइसकेका छन् । कम्पनीले एक वर्षभित्र लगानीको वित्तिय स्रोतको टुंगो लगाउनुपर्छ । एक वर्षभित्रै वित्तिय स्रोत टुंगो लगाउन कुनै समस्या नभएको कम्पनीले जनाएको छ ।

 कम्पनीले ५० प्रतिशत संस्थागत र सर्वसाधरणबाट लगानी गर्ने र ५० प्रतिशत बैंक तथा वित्तिय संस्थाको ऋणबाट परियोजना अघि बढाउने जनाएको छ । कम्पनीका अनुसार सर्वसाधरणमा सेयर जारीको प्रक्रियाको बारेमा पनि छलफल सुरु भइरहेको छ ।‘कुन आधारमा सर्वसाधरणमा सेयर जारी गर्न सकिन्छ भनेर छलफल गरिरहेका छौ,’ कम्पनीका अध्यक्ष जोशीले भने, ‘नागरिक लगानी कोषसँग सेयर जारी गर्ने प्रक्रियाको बारेमा छलफल गरिरहेका छौ ।’ यो वाहेक कम्पनीले शिलन्यासको तयारी पनि सँगै लगेको छ । कम्पनीले शिलन्यास गरेपछि कामलाई निरन्तरता दिने जनाएको छ । मनसुन सकिएपछि शिलन्यास गर्न उपयुक्त हुने कम्पनीको निष्र्कष छ । शिलन्यास हुनेवितिकै सुरुङमार्ग निर्माणलाई पहिलो प्राथमिकता दिइने कम्पनीले जनाएको छ । सुरुङमार्ग खन्नको लागि आवश्यक पर्ने मेसिनरी जर्मनीबाट ल्याउने तयारी कम्पनीले गरेको छ । जर्मनीबाट दुइवटा मेसिन ल्याउने प्रक्रिया सबै पूरा भइसकेको छ ।