सुरुङ मार्गमा प्रभु समूहले एक अर्ब लगानी जुटाउने, रेमिट्यान्स र फाइनान्सलाई उपयोग गर्ने

बिजमाण्डू
२०७० असार १७ गते ००:०० | Jul 1, 2013
सुरुङ मार्गमा प्रभु समूहले एक अर्ब लगानी जुटाउने, रेमिट्यान्स र फाइनान्सलाई उपयोग गर्ने


काठमाडौं । पूर्वाधार क्षेत्रमा निजी क्षेत्रले बनाउन लागेको पहिलो वहुप्रतिक्षित काठमाडौं हेटौडा सुरुङ मार्गमा प्रभु समूहले एक अर्ब लगानी जुटाउने भएको छ । विदेशमा रहेका नेपालीले प्रभु रेमिट्यान्समार्फत सुरुङमार्गमा लगानी का लागि रकम पठाउन सक्ने व्यवस्था गरिएको छ ।  सुरुङमार्गमा लगानी जुटाउन नेपाल पूर्वाधार विकास कम्पनी र प्रभु समूहवीच सोमवार समझदारी भएको छ ।

समझदारीपत्रमा पूर्वाधार विकास कम्पनीका अध्यक्ष कुशकुमार जोशी र प्रभु समूहका तर्फबाट अध्यक्ष देवीप्रकाश भट्टचनले हस्ताक्षर गरे । कार्यक्रममा अध्यक्ष भट्टचनले रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने उदेश्यले सुरुङमार्ग छानेको बताए । उनले सबै क्षेत्रबाट रेमिट्यान्सको रकम अनुत्पादक क्षेत्रमा लगानी भएको गुनासो आएको बताउँदै यसलाई तोड्न पूर्वाधार क्षेत्रमा लगानीको प्रयास थालिएको बताए । कम्पनीले विदेशमा रहेका नेपालीलाई सुरुङमार्ग निर्माणमा प्रोत्साहित गर्ने समेत उनले जानकारी दिए ।
कम्पनीले रेमिट्यान्स रकम पठाउने नेपालीलाई लगानीका लागि आग्रह गर्नेछ । प्रभु समूहको मलेसिया, खाडी मुलुक लगायत विकसित मुलुकमा समेत सञ्जाल रहेको छ । विदेशमा रहेका नेपालीले दस हजार रुपैयाँभन्दा बढी बराबरको रकम यो परियोजनामा लगाउनसक्ने छन् । अध्यक्ष भट्टचनले विदेशमा न्यून आय भएका व्यक्तिको लगानी हुने भएकोले ब्याज र लगानीको प्रतिफल सुनिश्चित गर्न आग्रह गरे ।
देशको दोस्रो ठूलो रेमिट्यान्स कम्पनी र शाखा सञ्जालका हिसावले देशको सबैभन्दा ठूलो प्रभु फाइनान्सलाई एक अर्ब रुपैयाँ स्रोत जुटाउन समस्या नहुने फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए । उनले हरेक महिना डेढ लाखले प्रभुबाट रेमिट्यान्स पठाउने गरेको जानकारी दिए । उनीहरुलाई ‘मोटिभेट’ गर्न सके सुरुङमार्ग निर्माणका लागि एक अर्ब जुटाउन कुनै समस्या नहुने उनले बताए । अध्यक्ष भट्टचनले सुरुङ्गमार्गमा प्रभु समूहले मात्रै एक करोड रुपैयाँ लगानी गर्ने जानकारी दिए ।
प्रभु फाइनान्सका प्रमुख कार्यकारी अधिकृत शेरचनले फाइनान्सका शाखामार्फत पनि सुरुङमार्गमा लगानी गर्ने रकम पठाउन सकिने बताए । फाइनान्ससँग एक लाख ७० हजार ग्राहक छन्, उनीहरुलाई पनि सुरुङमार्गमा लगानीका लागि प्रोत्साहित गरिनेछ, उनले भने । उनले निश्चित स्रोत भएका व्याक्तिलाई फाइनान्सले ऋण प्रवाह गर्ने समेत जानकारी दिए । थोरै आम्दानी भएका व्याक्तिले फाइनान्ससँग ऋण लिएर सुरुङ्ग मार्गमा लगानी गर्न सक्छन्, त्यसलाई किस्तामा भुक्तानी गर्ने व्यवस्था हुन्छ, उनले भने ।
प्रभु मनी ट्रान्सफरकी उपाध्यक्ष कुसुम लामाले प्रभुले मलेसिया र खाडी मुलुकका नेपालीलाई सुरुङ्गमार्गमा लगानीका लागि प्रोत्साहन गरिने बताइन्, मलेसियामा चिनियाँ नयाँ वर्षका उपलक्ष्यमा नेपालीवीच ठूलो जमघट हुँदैछ, त्यहाँ सुरुङ्ग मार्गमा लगानीका लागि प्रवद्र्धन हुनेछ, उनले भनिन् ।
कार्यक्रममा पूर्वाधार विकास कम्पनीका अध्यक्ष जोशीले उत्पादनमूलक क्षेत्रमा लगानीको प्रयास थालेकोमा प्रभु समूहको प्रशंशा गरे । उनले सुरुङमार्गको निर्माण मौसम अनुकुल रहे असार मसान्तसम्म थालिने जानकारी दिए । निजी क्षेत्रको प्रयासमा सुरु भएको यो परियोजनामा गैरआवासिय नेपालीले ९६ करोड रुपैयाँ लगानीको प्रतिवद्धता जनाएको उनले जानकारी दिए । युरोपबाट ९६ करोड रुपैयाँ लगानीको प्रतिवद्धता आएको छ, अघिल्लो साता युरोपमा सुरुङ्गमार्ग प्रवद्र्धन गरेर नेपाल फर्किएका जोशीले जानकारी दिए । उनले सुरुङ्ग मार्गमा लगानीका लागि अब अमेरिकामा समेत प्रवद्र्धन गरिने बताए ।

Tata
GBIME
Nepal Life