चिलिमेले थप २३५ मेगावाट बिजुली उत्पादनकालागि सर्वेक्षण अनुमति माग्यो, यस्तो छ तयारी

बिजमाण्डू
२०७५ बैशाख ४ गते १५:०४ | Apr 17, 2018

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे हाइड्रोपावर कम्पनीले २३५ मेगावाट क्षमताका दुई जलविद्युत आयोजना निर्माणको लागि सर्वेक्षण अनुमति मागेको छ।

Tata
GBIME
Nepal Life

गोरखाको गुम्दा र केरौजा आयोजनास्थल रहने 'बुढीगण्डकी क' नाम दिइएका दुई जलविद्युत आयोजनाको सर्वेक्षणका लागि चिलिमे र उसको सहायक कम्पनी साञ्जेन जलविद्युत कम्पनीले विद्युत विकास विभागमा निवेदन दिएका छन्।

चिलिमेले १३० मेगावाट र चिलिमेको सहायक कम्पनी साञ्जेनले १०५ मेगावाट गरी २३५ मेगावाट जलविद्युत उत्पादनको सर्वेक्षण अनुमति मागेका छन्।

यसअघि चिलिमेले गोरखामै २७० मेगावाट क्षमताको बुढीगण्डकी स्यार, ४२० मेगावाट क्षमताको बुढीगण्डकी प्रोक, अछाम र बझाङमा पर्ने १६५ मेगावाट क्षमताको सेतीनदी-३ र दुधकोशीमा ९४ मेगावाटका दुई जलविद्युत आयोजनाको सर्वेक्षण अनुमतिकालागि पनि निवेदन दिएको थियो।

९४ मेगावाट क्षमताका दुधकोशीका दुई आयोजनाको सर्वेक्षण सरकार आफैँले गरिरहेको छ भने २७० मेगावाटको बुढीगण्डकी स्यारको सर्वेक्षण अनुमति निजी कम्पनीलाई दिइएको छ।

४२० मेगावाटको बुढीगण्डकी प्रोक र १६५ मेगावाटको सेतीनदी ३ को सर्वेक्षण अनुमति भने चिलिमेले यस अघिनै पाइसकेको छ। त्यसैगरी हालै चिलिमेले गोरखामै ६० मेगावाटको चुनचेट सयरखोला जलविद्ययुत आयोजनाको पनि सर्वेक्षण अनुमति पाएको छ। उसले सर्वेक्षण अनुमति पाएका जलविद्युत आयोजनाको क्षमता ५४५ मेगावाट पुगेको छ।

चिलिमे हाइड्रोपावरले यसका सहायक कम्पनी रसुवागढी जलविद्युत कम्पनीबाट १११ मेगावाट, मध्यभोटेकोशी जलविद्युत कम्पनीबाट १०२ मेगावाट र साञ्जेन जलविद्युत कम्पनीबाट ५७ मेगावाट गरी करिब २७० मेगावाट बराबरका जलविद्युत आयोजना निर्माण गरिरहेको छ। ती आयोजनाको निर्माण कार्य ६० प्रतिशतभन्दा बढी सकिएको छ। रसुवागढी र साञ्जेनले भरखरै मात्र साधारण शेयर जारी गरेका थिए।

निर्माण सम्पन्न भएको २२ मेगावाट, निर्माणाधिन २७० मेगावाट, सर्वेक्षण अनुमति पाएका ५४५ मेगावाट र सर्वेक्षण अनुमतिका लागि निवेदन दिएका २३५ मेगावाटका जलविद्युत आयोजना समेत गरि चिलिमेले एक हजार ७० मेगावाट बराबरका जलविद्युत आयोजनामा हात हालेको छ।

आगामी दुई वर्षभित्र २७० मेगावाट बराबरका निर्माणाधिन आयोजना पूरा भएपछि चिलिमेको वार्षिक आम्दानी १० अर्ब रुपैयाँ पुग्नेछ। उक्त आम्दानीलाई चिलिमेले अरु आयोजनामा लगानी गर्नकालागि पनि उसलाई तत्काल सहज मानिएका आयोजनाको खाँचो छ।

यस अघि अनुमति पाएका आयोजना सडक सञ्जालबाट धेरै टाढा रहेकाले सर्वेक्षण सक्ने बित्तीकै निर्माणमा जान सक्ने अवस्था नरहेकोले चिलिमे नयाँ आयोजनाको खोजीमा लागेको हो।

२३ वर्ष अघि रसुवामा २२ मेगावाटको चिलिमे जलविद्युत आयोजनाको निर्माण सुरु गरेको चिलिमे जलविद्युत कम्पनी, स्वदेशी लगानीको सफल मोडेलका रुपमा चिनिँदै आएको छ।